शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

कतारमा आज ‘नेपाल आइडल बुगीबुगी इद फेस्टिवल’ हुँदैं, नेपाली कलाकारहरुको बेजोड प्रस्तुति हुने

बुधबार, जेष्ठ २२ २०७६

दोहा(जस)– नेपालीहरुको प्रमुख र आकर्षक गन्तब्य मुलुक कतारमा आज ‘नेपाल आइडल बुगीबुगी इद फेस्टिवल’ आयोजना हुँदैंछ । कार्यक्रम कतारको दोहामा रहेको सनैयास्थित ग्रान्ड मलको एसियन टाउन. एम्पिथियटरमा आज साँझ ५ बजे शुरु हुने छ । फेस्टिवलमा सहभागी हुन नेपालबाट कलाकारहरुको टोली दोहा आइपुगिसकेको छ । टोलीमा नेपालको चर्चित रियालटी शो नेपाल आइडलको दोस्रो संस्करण तथा बुगिबुगी पहिलो संस्करणका उत्कृष्ट चार प्रतिस्पर्धीसहित लोक तथा आधुनिक गीतसंगीतका ख्यातीप्राप्त कलाकार, मनोरञ्जन तथा हास्यब्यंग्य क्षेत्रका चर्चित कलाकार सहभागी छन् ।

यो कार्यक्रम कतारमा रहेका नेपालीहरुलाई मनोरञ्जनका लागि मात्रै नभई चितवनमा निर्माण हुन लागेको नेपालकै गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि सहयोगको पवित्र उद्देश्यसहित आयोजना गरिएको हो । यो कार्यक्रमबाट नाफा वा घाटा जे भए पनि धुर्मुस सुन्तलीले बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १० लाख रुपैयाँ सहयोग गर्ने कार्यक्रमका आयोजक तथा एनआरएनए मध्यपूर्व उपसंयोजक प्रवीन गुरुङले घोषणा गरिसकेका छन् ।


कार्यक्रम मुस्लिम समुदायको सबैभन्दा पवित्र पर्व इद यसपटक पाँच तारिखमा पर्ने अनुमानसहित दोस्रो दिन अर्थात ६ तारिखमा आयोजना गरिए पनि इद ४ तारिखमै परेको छ । तर, कार्यक्रम भने पूर्वनर्धारित मिति ६ तारिखमै आयोजना गरिएको एनआरएनए मध्यपूर्व उपसंयोजक गुरुङले बताए । यसअर्थमा अब कार्यक्रम इदको तेस्रो दिन पर्ने भएको छ । चर्चित कलाकार तथा होस्ट शोभा त्रिपाठी र विवेक खतिवडाले सञ्चालन गर्ने उक्त कार्यक्रममा नेपाल आइडल २ का विजेता रवि ओड, फ्रस्ट रनरअप गण्डकी प्रदेश कास्कीका विक्रम बराल, सेकेन्ड रनरअप प्रदेश नम्बर १ झापाका सुमित पाठक, थर्ड रनरअप प्रदेश १ झापाकै अस्मिता अधिकारीले धमाकेदार प्रस्तुति दिनेछन् ।


यसैगरी, नेपालको पहिलो अन्तर्रा्िष्ट्रय फ्रेन्चाइज रियालिटी शो बुगीबुगी सिजन १ का (टप फोर) कलाकारहरू विजेता कविता नेपाली, फस्र्ट रनरअप तनहुँकी प्रतिभा पुन, सेकेन्ड रनरअप सरोज मोक्तान र थर्ड रनरअप रबिन भुजेलले पनि फेस्टिबल घन्काउँदैछन् । यस्तै, चर्चित र्यापर भिटेन, सालको पात टपरी हुनी बोलको चर्चित लोकगीतका गायक कुलेन्द्र बिक, हाँस्यकलाकार एवं विभिन्न चरा चुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल कागेलगायत अन्य चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ । कार्यक्रमलाई कतार तथा नेपालका प्रतिष्ठित कम्पनी तथा समूहको प्रायोजन र सहयोग रहेको छ । उक्त कार्यक्रमबाट भिजिट नेपालको अभियानमासमेत सहयोग पुग्ने आयोजक गुरुङले बताए ।

कतार नेपालीहरूको प्रमुख कर्मभूमिका रुपमा परिचित मध्यपूर्वको देश हो । यहाँ करिव पाँच लाख नेपालीहरु कार्यरत छन् । कतारको राष्ट्रिय चाड ईदको अवसरमा कतारी सरकारले सार्वजानिक विदा दिएको छ । त्यसैले इस्लाम धर्मावलम्बीहरूको महान चाड (रमादान इद–अल फितरको) अवसरमा आआफ्ना कामबाट विदा मिल्ने भएकाले उल्लेख्य संख्यामा नेपालीहरु कार्यक्रममा सहभागी हुने विश्वास आयोजकहरुले लिएका छन् । आयोजकमध्येका एक गुरुङले नेपाल आइडल, भ्वाइस अफ नेपाल जस्ता चर्चित कार्यक्रमको कतारको दोहामा सफलतापूर्वक ग्रान्ड फिनाले सम्पन्न गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार