बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अमनलालकाे बचाउ गर्दै महेश बस्नेतले गरे कुलमानमाथि यस्तो आशंका

मंगलबार, जेष्ठ २१ २०७६

काठमाडौं, २१ जेठ । सत्तारुढ नेकपाका सांसद महेश बस्नेतले नेपाल विद्युत् प्राधिकरणमा भएको आर्थिक अनियमितताबारे छानबिन गर्न माग गरेका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमानका राम्रा कामको सधै समर्थन गरेका र गलत गरेको भए अख्तियारले छानबिन गर्नुपर्ने बताएका हुन् ।

प्रतिनिधि सभाको मंगलवार बसेको बैठकको शून्य समयमा सांसद बस्नेतले संसदको लेखा समितिको बैठकमा केही विषयमा प्रश्न उठाउँदैमा सांसद अमनलाल मोदीविरुद्ध तल्लो स्तरमा गालीगलौज गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘सार्वजनिक लेखा समितिको बैठकमा माननीय अमनलाल मोदीले विद्युत् प्राधिकरणको ९ अर्ब बक्यौताको बारे प्रश्न उठाउनुभयो । त्यसैगरी भारतबाट खरिद गरिएको पथलैया ट्रान्समिसन लाइनबाट आएको २२५ मेगावाट विजुली प्रयोग गरेपनि नगरेपनि ६ दशमलव ६८ पैसा आईसी तिर्नुपरेकोबारे प्रश्न उठाउनुभयो । यो प्रश्न उठाएपछि केही मिडिया र सामाजिक सञ्जालमा तल्लो स्तरमा गाली गरियो । स्वयं कुलमानले मलाई घेराबन्दी गरियो र अनेक आरोप लगाइयो भनेको पनि सुनियो । कुलमानजीले गरेका राम्रा काममा हामी सबैको साथ, सहयोग र समर्थन छ । माननीय अमनलाल मोदीजीले उठाउनुभएको विषय गम्भीर छ । यसमा सम्बन्धित निकाय अख्तियार दुरुपयोग आयोग र सार्वजनिक लेखा समितिले उचित छानबिन गरोस् र दोषीहरूलाई कारवाही गरोस् भन्न चाहन्छु,’ उनले भने ।

केही दिन पहिले लेखा समितिको बैठकमा कुलमान र सांसद मोदीबीच भनाभन भएको थियो । मोदीले डेडिकेटेड फिडर तथा टंक लाईन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार