गोरखा(जस)–भिमसेन थापा गाउँपालिका गोरखामा गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको औपचारिक कार्यक्रमका साथ उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि रहेका गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले दिप प्रज्वलन गरी व्यानर खोलेर उद्घाटन गरेका हुन । विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि खेलका माध्यमद्धारा स्वस्थ, प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने र प्रतिभाहरुको पहिचान गरी खेल जगतमा उदयमान नवप्रतिभामूलक खेलाडीहरुको छनौट र विकास गर्ने उद्देश्यका साथ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गरिएको हो । पाटनदेवी माध्यमिक विद्यालय क्यामुनटारको खेल मैदानमा सञ्चालन गरिएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा गाउँपालिका भित्र रहेका १२ माध्यमिक विद्यालयका ४ सय विद्यार्थीहरु सहभागी भएका छन् । कार्यक्रममा भिमसेन थापा गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक नारायण भट्टराई र वडा नं. ७ का वडा अध्यक्ष नारायण श्रेष्ठले सुभकामना मन्तव्य राखेका थिए । पाटनदेवी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जित बहादुर कुमालको अध्यक्षता रहेको उद्घाटन सत्रमा गाउँ पालिकाका अध्यक्ष ईश्वर पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
गाउँ पालिकाकी उपाध्यक्ष विनु वाग्ले गाउँ शिक्षा शाखाका प्रमुख यान बहादुर नेपाली, प्रशासकीय अधिकृत कृष्णजङ्ग थापा लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रममा गाउँ पालिका कार्यसमितिका सदस्यहरु, संघ संस्थाका प्रतिनिधिहरु, सहभागी विद्यालयका शिक्षकहरु, विद्यार्थी खेलाडीहरु र अभिभावकहरुको उपस्थिति रहेको थियो । भिमसेन थापा गाउँ पालिकाको आयोजना तथा पाटनदेवी माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगितामा सोमबार भलिबल, कबड्डी लगायतका खेलहरु भएको थियो ।