तम्घास(जस)–नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिमा थुप्रै कमीकमजोरी भए पनि त्यसलाई औँल्याउने काम पत्रकारको भएको बताएका छन् । पत्रकारले कमीकमजोरी नऔँल्याए राजनीति र समाज सुध्रिन नसक्ने बताए । काङ्ग्रेसले शुरु गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घ गुल्मीले संयुक्त रुपमा सोमबार सदरमुकाम तम्घासमा आयोजना गरेको आमसभामा प्रवक्ता शर्माले आफ्नो पार्टी सरकारले ल्याएको सञ्चारसम्बन्धी विधेयकको विपक्षमा भएको बताए । उनले मुलुकमा लोकतन्त्र ल्याउन पत्रकारको अहम् भूमिका निर्वाह गरेको स्मरण गरे । “काङ्ग्रेस सधैँ प्रेस स्वतन्त्रताको पक्षमा उभिन्छ”, शर्माले भन । कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङग बस्नेत, पार्टी सभापति भुवनप्रसाद श्रेष्ठलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
‘बजेट वितरणमुखी’
नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले हालै सार्वजनिक गरेको बजेट विकासमुखी नभइ वितरणमुखी भएको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन पाल्पा शाखाले सोमबार यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले ७० प्रतिशत बजेट चालु खर्चमा, ३० प्रतिशत बजेट मात्र विकास खर्चमा सरकारले विनियोजन गरेको बताए । “यस्तो बजेटले देशको विकास हुँदैन”, पार्टी प्रवक्ता शर्माले भने ।
प्रतिपक्षको भूमिका कमजोर भएकोप्रति लक्षित गर्दै प्रवक्ता शर्माले सडकमा टायर बालेर, नेपाल बन्द हडताल गरेर चक्काजाम गरेर आमनेसामने सत्तापक्ष प्रतिपक्ष भिडन्त नगरी शान्त स्वभावमा लोकतान्त्रिक शैलीमा सरकारको कामका बारेमा जागरण कार्यक्रममार्फत जानकारी गराउँदै आएको बताए । ‘विप्लव’ समूहले हत्या हिंसाको बाटो छोडेर शान्तिको राजनीतिमा आउनुपर्ने र सरकारले पनि विप्लवलाई निषेधको राजनीति गर्न नहुनेमा उनको जोड रहेको थियो ।
‘संविधानअनुसार पार्टीको संरचना नबन्दा कार्यकर्तामा निराशा’
काठमाडौ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले संविधानको मर्म र भावनाअनुसार पार्टीको संरचना नबन्दा कार्यकर्तामा निराशा छाएको बताएका छन् । काङ्ग्रेसका जिल्ला समन्वय समितिका सभापति तथा पदाधिकारीसँग सोमबार आयोजित छलफलमा उनले संविधानअनुसार पार्टीको संरचना नबन्दा धेरै कार्यकर्ता जिम्मेवारविहीन भएको बताए ।
“सङ्घीयतानुसार पार्टीको संरचना नबन्दा पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान प्रभावकारी बन्न सकेन”, उनले भने । काङ्््रेसको नेतृत्वमा जारी भएको संविधान प्रभावकारी रुपमा लागू गराउनुपर्ने अवस्थामा काङ्ग्रेस आफैभित्र अल्मलिएको उनको भनाइ थियो । पार्टीका पूर्वमहामन्त्री सिंहले पार्टीलाई विचार र सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थमा चलाउन खोजिएकाले कार्यकर्तामा निराशा छाएको बताए । मलुक जटिलतातर्फ अघि बढिरहेकाले काङ्ग्रेसको भूमिका समन्वयकारी हुनुपर्ने उनको भनाइ थियो ।