काठमाडौं(जस)–भारतीय टेलिभिजन जी टिभीको बालगायन रियालिटी शो सारेगमपा लिटल च्याम्प्स संस्करणमा आयुष केसी. र प्रितम आचार्य फाइनल (टप ६)मा पर्न सफल भएका छन् । २० हजारभन्दा बढि बाल प्रतिभाहरूलाई उछिन्दै आयुष र प्रितम फाइनलमा पुग्न सफल भएका छन् । सेमीफाइनलमा आयुषले ‘क्रिमिनल’ फÞिल्म को कुमार सानुको स्वर रहेको ‘तुम मिले दील खिले’ बोलको गीत गाएका थिए । भने प्रितमले ‘हम दिल दे चुके सनम’को ‘तड़प तड़प इस दिलमे’ गाएका थिए ।
उनीहरु दुवैले चर्टबस्टर्ड परफर्मेन्स दिएका थिए । आयुष र प्रितमको गायनले जुरी टिम र जजहरुलाई स्टेजसम्म तानेको थियो । निकै राम्रो प्रशंसा बटुलेका आयुष र प्रितमको अन्तत फाइनल यात्रा सुरु भएको छ । नेपालमै २ बर्ष अगाडि भएको पहिलो राष्ट्रव्यापी बालगायन रियालिटी शो सुरशाला जुनियर आइडल पहिलो संस्करणका जुनियर आइडल आयुष केसी भक्तपुरको मोर्डन बोर्डिङ्ग स्कुलमा कक्षा ७ मा अध्ययनरत छन् ।
आयुषले ५ वर्ष देखि सुरशाला म्यूजिक एकेडेमीमा गायक तथा संगीतकार अमृत क्षेत्रीसँग संगीत सिक्दै आएका थिए । इटहरीका प्रितम आचार्य पनि पहिलो सुरशाला जुनियर आइडलको पहिलो संस्करणका फाइनलिस्ट मध्यका एक हुन् । प्रितम इटहरीकै विश्व आदर्श स्कूलमा अध्ययनरत छन् । सारेगमपाले पहिलो चरणमा सुरशाला म्यूजिक एकेडेमी मार्फत भिडियोबाट अडिसन लिएको थियो। दिल्लीमा अडिसन दिन आयुष र प्रितम सँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए ।