काठमाडौं / धरौटी रकमको ब्याज फिर्ता लगायतको माग गर्दै चरणबद्ध आन्दोलनमा रहेको वैदेशिक रोजगार व्यवसायी संघले तीन महिनाभित्र आफूहरूको सम्पूर्ण माग सम्बोधन नभए सरकारविरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएको छ। जेठ १७ गतेबाट एक हप्ता वैदेशिक रोजगारीमा नेपालीहरूको टिकट काट्न बन्द गरेकोमा संघका अध्यक्ष रोहण गुरुङले सरकार विरुद्धको आन्दोलन चर्काउने चेतावनी दिएका हुन्।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका संघका अध्यक्ष गुरुङले ‘फ्री भिसा, फ्री टिकट’ लगायतका निर्णयमा पुनर्विचार नगरे आफ्नो पेसा, व्यवसाय नै छाडेर सरकारविरुद्ध कडा आन्दोलनमा जानुपर्ने अवस्था आएको बताए। उनले मलेसियामा जान लगाइएको प्रतिबन्ध फुकुवा नगरेको तथा वैदेशिक रोजगार कम्पनीहरू मर्ज गर्दा सुविधा दिनुपर्ने आफूहरूको माग बेवास्ता गरेपछि सरकारविरुद्ध आन्दोलनमा उत्रनुपरेको बताए। अध्यक्ष गुरुङले वार्षिक पाँच लाखभन्दा बढी नेपाली युवाहरूलाई वैदेशिक रोजगारको व्यवस्था गरे पनि सरकारले व्यवसायीको कामको सम्मान नगरेको गुनासो गरे।
यता, नेपाल राष्ट्र बैंकले भने वैदेशिक रोजगारमा जान रोकावट गर्ने नेपाल वैदेशिक रोजगार संघको निर्णयले नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको जनाएको छ। सरकारको आर्थिक सल्लाहाकारका रूपमा चिनिने नेपाल राष्ट्र बैंकले व्यवसायीको आन्दोलनले राष्ट्रिय अर्थतन्त्रमा प्रभाव पार्न सक्ने भन्दै सचेत गराएको छ। नेपाल राष्ट्र बैंक कार्यकारी निर्देशक नरबहादुर थापाले वार्षिक सात खर्ब ३३ अर्ब विप्रेषणको आप्रवाहलाई समेत संघको यो बन्दले प्रतिकूल असर पुर्याउने बताए।