बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विप्लवका नेता नेकपामा प्रवेश, विप्लव समूहलाई मूल प्रवाहमा आउन प्रचण्डको आग्रह

सोमबार, जेष्ठ २० २०७६

काठमाडौँ(जस)–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न समूहका रहेका कम्युनिष्टलाई आफ्नो पार्टीमा समावेश भएर मूल प्रवाहमा सामेल हुन आग्रह गरेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको समूहका पोलिटब्युरो सदस्य पदम राईलाई आइतबार पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले कुनै दिन मुलुकको समृद्धि र समाजवादका लागि विप्लव पनि यही पार्टीमा आएर जोडिनुपर्ने बताए । उनले विप्लव समूहले लिएको बाटो गन्तव्यमा नपुगिने भएकाले यही पार्टीमा आएर मूलप्रवाहीकरण हुनुपर्ने बताएका हुन् । सरकारले विप्लव समूहका हिंसात्मक गतिविधिलाई प्रतिबन्ध लगाएको छ । “म अन्य साथीहरुलाई कुनै आग्रहबिना मूल राजनीतिक पार्टीमा समाहित हुन आग्रह गर्छु । आउनुस् बसेर छलफल र संवाद गरौँ । इतिहास, वर्तमान, राष्ट्र र अन्तर्राष्ट्रिय स्थितिको समीक्षा गरौँ । देश र जनताका आकाङ्क्षा पूरा गरौँ । विश्वलाई समाजवादी आन्दोलनको नयाँ ढाँचा र सन्देश दिउँ । यो ऐतिहासिक आवश्यकता हो” अध्यक्ष प्रचण्डको आग्रह थियो ।
उनले भने, “लामो बलिदान र सङ्घर्षबाट नेपालमा कम्युनिष्ट आन्दोलन लोकप्रिय भई अहिले सत्ताको नेतृत्वमा छ । जनताले ठूलो भरोसा गरेको छ । हामीले सुशासन र समृद्धिको यात्रालाई सफल बनाउनुपर्छ । सामाजिक न्यायसहितको नयाँ ढाँचामा हामी जान खोजेका छौँ । यसलाई असफल बनाउने तमाम प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नुुपर्छ । सबै कम्युनिष्ट पार्टीलाई एकीकृत गर्नुपर्छ । पार्टी प्रवेशको शृङ्खला रोकिने छैन ।”उनले सरकारले समाजवादको उद्देश्यमा जोड दिएर नीति कार्यक्रम र बजेट ल्याएको उल्लेख गर्र्दै सापेक्षितरुपमा तल्लो वर्ग र उत्पीडित वर्गलाई प्राथमिकता दिएर समाजवादको आधार तयार गरिरहेकाले अन्य समूहका कोही कम्युनिष्टका नाममा छरिएर रहन नपर्नेमा जोड दिए ।
अध्यक्ष प्रचण्डले वैधानिक, शान्तिपूर्ण बाटोसहित बलियो कम्युनिष्ट पार्टीमा आई अब हिंसाबाट राष्ट्र र जनताको परिवर्तन गर्न सकिँदैन भनेर राई पुनः मूलप्रवाहमा फर्कनु सही समयको सही निर्र्णय भएको उल्लेख गर्दै राईले विगतमा गरेको त्याग, बलिदानका आधारमा आवश्यक भूमिका दिइने वचन दिए । आफँैले हुर्काएका छोराछोरी रिसाएर घरबाट बाहिर गएमा अभिभावकलाई चिन्ता परे झैँ पदम राईहरु बाहिर रहँदा आफूलाई चिन्ता लाग्ने गरेकामा आइतबार उन पार्टीमा फर्केकामा खुशी लागेको अनुभव सुनाए । पूर्वभौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीसमेत रहनुभएका राई पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । अध्यक्ष प्रचण्डसहित पार्टीका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा, महासचिव विष्णु पौडेललगायतले राईलाई स्वागत गरेका थिए ।
नेता राईले देशमा केही परिवर्तन हुन्छ कि भनेर विप्लव समूहमा लागेको र पछिल्ला समयमा कतिपय घटना र अवस्थाका कारण हिंसात्मक लडाईं गर्दा कुनै शक्तिले केही नपाउने तर देश र जनताले फेरि दुःख पाउने भएकाले सो समूह परित्याग गरेको बताए । उनले आफू सो समूहमा रहेर सरकारसँगको वार्तामा अग्रसरता लिएको तर त्यो सफल नभएकाले हिंसाबाट एकले अर्काेलाई बदला लिनुभन्दा शान्तिपूर्ण बाटोबाट समाज रुपान्तरणमा लाग्नुपर्ने आफ्नो निचोड रहेको सुनाए । उनले समृद्धिको सपना पूरा गर्ने दिशामा आफूले एक इँटाको काम गर्ने गरी आगामी राजनीतिक यात्रा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार