शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

महिला बेचबिखनमा संलग्न एक युवतीसहित दुई युवक पक्राउ

मंगलबार, जेष्ठ १४ २०७६

हेटौँडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले मानव बेचबिखन तथा ओसार–पसारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलबाट प्रहरी टोली, माइती नेपाल र साना हातहरु नेपालको सहयोगमा एक युवतीसहित दुई युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा नुवाकोट कल्याणपुर गाउँपालिका–९ घर भई हाल भारतको कलकत्ता बस्ने २४ वर्षीया कविता भन्ने मनिका तामाङ, भारतको झारखण्ड राज्यको राँची बस्ने २६ वर्षीय अंशु साहु र सोही ठाउँ बस्ने २३ वर्षीय राजाराम महतो रहेका छन् । उनीहरुले दुई युवतीलाई प्रलोभन देखाउँदै काठमाडौँबाट वीरगञ्ज हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मानव बेचबिखन र ओसारपसारमा संलग्न भएको आरोपमा तीन जनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार