काठमाडौँ(जस)–सरकारले रोजगारीका क्षेत्र र सम्भावना पहिल्याउन ‘श्रम तथा रोजगार सम्मेलन’ आयोजना गर्ने भएको छ । आगामी असार १५ र १६ गते राजधानीमा आयोजना हुने सो सम्मेलनमा रोजगारीको सम्भावना, रोजगारसँग सम्बन्धित सूचनाको प्रदर्शनी गरिनेछ ।सम्मेलनकै क्रममा श्रम तथा रोजगारसँग सम्बन्धित क्षेत्रका विज्ञको सहभागितामा विभिन्न छलफल गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा रोजगारीको सम्भावना तथा सिर्जना, रोजगारीको सम्भावना रहेका नमूना परियोजनाका बारेमा समेत बृहत् छलफल गरिने बताइएको छ ।
सम्मेलनकै क्रममा सरोकारवालाको सहभागितामा विभिन्न विषयगत समूहमा आधारित रहेर कार्यपत्र प्रस्तुत हुने मन्त्रालयका अधिकारीले जनाएका छन् । सम्मेलनमा सम्बन्धित क्षेत्रका जानकारले ‘युवा उद्यमशीलता’, ‘कामको भविष्य’, विद्यमान रोजगार नीतिमा गरिनुपर्ने सुधारका बारेमा छलफल गर्नेछन् । सम्मलेलनमा श्रम तथा रोजगार क्षेत्रमा देखिएका विश्वव्यापी परिवर्तन, प्रविधिको विकाससँगै परम्परागत श्रम क्षेत्रमा देखापरेको चुनौतीलगायत विषयमा समेत छलफल हुनेछ । सम्मेलनमा श्रम तथा रोजगार क्षेत्रका जानकार, ट्रेड युनियनका प्रतिनिधि, उद्योगी व्यवसायी, सरकारी अधिकारी, नीति निर्माणमा सक्रिय अधिकारीको सहभागिता हुने बताइएको छ ।