मस्कट / ओमनको एक स्थानीय संस्थाद्वारा आयोजित फैमिली कार्निभलमा नेपाली राष्ट्रियता झल्किने सामग्रीहरू प्रदर्शनी गरिएको छ । राजधानी मस्कटस्थित अल बहज सेन्टरमा भएको कार्यक्रममा नेपाली समुदायको तर्फबाट राष्ट्रिय झण्डा सहित उपस्थिति जनाईएको थियो ।
बुधबार ओमनको सामाजिक संस्था सोसल डेभलपमेन्ट कमिटीले आयोजना गरेको कार्यक्रममा, गैर आवासीय नेपाली सोसल क्लब ओमनको मातहतमा स्टल राखिएको थियो ।
बेलुकी ७ बजे देखि ११ बजे सम्म भएको फेम्ली कार्निभलमा राखिएको स्टलमा विभिन्न नेपाली सांस्कृतिक ,पर्यटन, खानाको परिकार, बाजागाजा लगायत राष्ट्रियता झल्किने खुकुरी , भगवान गौतम बुद्ध र सगरमाथाको तस्बिरसहित महत्त्वपूर्ण सामाग्री राखी प्रदर्शनी गरिएको थियो ।

पर्यटन वर्ष नजिकै गर्दा यस्ता प्रदर्शनीले ओमानी पर्यटकलाई नेपाल भित्र्याउन सहयोग मिल्ने अपेक्षा क्लबले राखेको छ। कार्यक्रममा ईजिप्ट, जोर्डन ,इराकसहित अन्य देशको पनि स्टलहरू राखिएको थियो उक्त कार्यक्रममा दर्जनौं नेपालीहरूको सहभागिता रहेको एनआरएन सोसल क्लब ओमनका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए ।