काठमाडौं । भोजपुरको ट्याम्के मैयुम गाउँपालिका–१ स्थित मैयुमडाँडास्थित जङ्गलमा प्रहरी र नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विप्लव समुहका कार्यकर्ता भोजपुरकै ३२ वर्षीय तिर्थराज घिमिरे रहेका छन् ।
प्रहरीका अनुसार मंगलबार राती जङ्गलमा पुगेको प्रहरी टोलीमाथि गोली प्रहार भएपछि प्रहरीले जवाफी फायर गरेको थियो । फायरका क्रममा घिमिरे घाइते भएका थिए ।
जिल्ला प्रहरीको अनुसार घाइते बनेका घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पतालमा उपचार गराउने क्रममा आज बिहान ६ बजे मृत्यु भएको हो ।
जङ्गलमा हतियारधारी समूह लुकेको भन्ने सूचनाका आधारमा प्रहरीले सो क्षेत्रमा अप्रेशन चलाएको थियो ।