काठमाडौं(जस)–आजकल प्रायः गायक तथा गायिकाहरु आफ्ना म्युजिक भिडियोमा सकभर आफै अभिनय गर्ने लहर चलेको छ । स्वरले मात्र होइन्, नृत्य र अभिनयमा समेत त्यस्तै पोख्त नयाँ पुस्ताकी गायिका हुन्, सुनिता अधिकारी । लोक तथा दोहोरी गायिका सुनिताले आफ्नो नयाँ दोहोरी गीत ‘लुरुरु हुरुरु’ बाट नृत्य र अभिनयमा पनि उत्तिकै पोख्त रहेको प्रमाणित गरेकी छिन् । निकै आकर्षक नृत्य तथा अभिनयका कारण पनि उनले दर्शकबाट प्रशंसा बटुलेकी हुन् ।
हुन त यसअघि आफ्नै गीत ‘पानको मिसी’ गायक तथा मोडल रामजी खाँडसँगै नाचेकी उनी यसपालि नयाँ गीत ‘लुरुरु हुरुरु’मा प्रकाश सपुतसँगै पर्दामा उत्रेकी हुन् । ‘लुरुरु हुरुरु’मा उनले नृत्य र अभिनयको जादु देखाएकी छन् । पश्चिम नेपालमा बोलिने ठेट शब्दहरु समेटेर गायक प्रकाश सुपतले यो गीतको शब्द तथा लय बनाएका हुन् । गीतमा सुनिता र प्रकाश स्वयमले स्वर दिएका छन् ।
दुई हप्ताको अवधिमै यो गीत ७ लाख ५० हजार भन्दा बढीले युट्युवमा हेरिसकेका छन् भने हजारौँ टिकटक भिडियो बनिसकेको छ । साइन मिडिया प्रालि र भाका नेपालको संयुक्त प्रस्तुति रहेको गीतको भिडियो निर्देशन प्रकाश भट्ट, सम्पादन विष्णु शर्मा, छायाँकन राजेश घिमिरे र संगीत संयोजन आशिष अविरलले गरेका हुन् ।