जिल्लाको बडिकेदार गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती सेवा शिविरबाट ८९५ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । बडिकेदार गाउँपालिका र जिल्ला प्रशासन कार्यालय डोटीको सहकार्यमा बुधबारदेखि शुक्रबारसम्म सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा नागरिकताको प्रमाणपत्र वितरण गरिएको बडिकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक पाण्डेयले बताउनुभयो ।
उहाँले भन्नुभयो, “जिल्ला सदरमुकाम पुगेर नागरिकता बनाउन नसकेकालाई शिविरले घरैमा नागरिकता दिएको छ, सबैले राम्रै सेवा पाए ।” उक्त शिविरमा ५०९ जना महिला, ३८६ जना पुरुष गरी कूल ८९५ जनाले नागरिकता लिएका छन् ।
सात सय ८५ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् भने स्वास्थ्य उपचार तथा परीक्षण, पशुसेवा, कृषि सेवासम्बन्धी परामर्श लिएको बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो ।
जनताको घर दैलोमा सरकारको उपस्थिति गराई जनतालाई सर्वसुलभ र सहजरूपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त शिविरमा ठूलो परिणाममा सेवाग्राहीले सेवा लिएको जिल्ला प्रशासन कार्यालय डोटीका सहायक प्रमुख जिल्ला अधिकारी एवं शिविर संयोजक टेकनारायण पौड्यालले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो समयमा ग्रामीण भेगमा सञ्चालन गरिएका पाँचवटा शिविरमध्ये सबैभन्दा बढी नागरिकता वितरण भएको बडिकेदारमा सञ्चालन गरिएको शिविरमा हो । जिल्लाको बोगटानफुड्सिल गाउँपालिकाबाट शुरु गरिएको शिविर सायल गाउँपालिका, जोरायल गाउँपालिका, आदर्श गाउँपालिकापछिको बडिकेदार गाउँपालिकामा सञ्चालन भएको थियो । अन्य स्थानीय तहसँगको समन्वयमा पनि जिल्लाका अन्य गाउँपालिकामा पनि शिविर सञ्चालन गर्न सकिने प्रमुख अधिकारी पौडेलले बताउनुभयो ।