काठमाडौं (जस)–नेपालमा पर्यटन प्रवर्धनलाई लक्षित गरि हिमालयन बैंक, नेपाल पर्यटन बोर्ड र अमेरिकन एक्स्प्रेसको सहकार्यमा ‘एक्स्पेरियन्स नेपाल’ अभियान शुभारम्भ भएको छ । यस अभियानको मुख्य उद्देश्य अमेरिकन एक्स्प्रेस कार्ड प्रयोगकर्ता विदेशी पर्यटकहरुलाई नेपाल भ्रमण गर्न र यहाँको मौलिकता, विविधता र प्राकृतिक सौन्दर्यताको अनुभुति गर्न अभिप्रेरित गर्ने रहेको छ । यो अभियान अवधिमा नेपाल घुम्न आउने अमेरिकन एक्स्प्रेस कार्डधारी पर्यटकहरुले नेपालमा विभिन्न सुविधाका साथै हिमालयन बैंकको ८० भन्दा बढि मर्चेन्ट पार्टनरहरु जसमा होटल, रेष्टुराँ, साहासिक खेल पर्यटन, स्थानिय कलाकृति खरिदमा विशेष छुटहरु प्राप्त गर्न सक्नेछन् ।
यो ‘एक्स्पेरियन्स नेपाल’ अभियान सन् २०२० जुन महिना सम्म चल्ने छ । नेपाल पर्यटन बोर्ड र अमेरिकन एक्स्प्रेसद्वारा आ—आफ्नो तर्फबाट विभिन्न देशहरुमा यो अभियान बारे प्रचार, प्रसार र प्रवर्धन गरिने छ । साथै हिमालयन बैंकद्धारा पनि यस अभियान अवधिभर आफ्नो वेवसाईट, सोसियल मेडियाका माध्यमबाट प्रचार प्रसार गरिने छ । पत्रकार सम्मेलनमा अमेरिकन एक्स्प्रेसका दिव्या जैनले नेपाल पर्यटन बोर्ड र हिमालयन बैंक संगको सहकार्यमा एक्स्पेरियन्स नेपाल अभियान संचालन गर्न पाउँदा खुशी व्यक्त गरे । उहाँले यस अभियानले नेपालमा पर्यटन प्रवर्धनका साथै स्थानिय व्यवसायलाई प्रोत्साहन मिल्ने बताए । यो अभियानले अमेरिकन एक्स्प्रेस कार्ड प्रयोगकर्तालाई नेपाल घुम्न उत्प्रेरणा मिल्ने विश्वास पनि उहाँले व्यक्त गरे । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले अमेरिकन एक्स्प्रेस र हिमालयन बैंकसंग एक्स्पेरियन्स नेपाल अभियानमा नेपाल पर्यटन बोर्डको सहकार्यले पर्यटन प्रवद्र्धनका लागि उत्साह मिलेको बताए ।
एक्स्पेरियन्स नेपाल २०१९ अभियानले नेपालको भ्रमण बर्ष २०२० अन्तर्गतनै पर्यटकहरुलाई जीवनको अविस्मरणीय अनुभुति गराउने उद्देश्य लिएको बताए । उनले यस सहकार्यबाट अमेरिकन एक्स्प्रेसका प्रीमियम कार्ड प्रयोगकर्ताहरु माझ नेपालका पर्यटन व्यवसाय पुग्ने विश्वास व्यक्त गरे । सोहि अवसरमा हिमालयन बैंक तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले एक्स्पेरियन्स नेपाल अभियान नेपाल पर्यटन बोर्ड र अमेरिकन एक्स्प्रेससंगको सहकार्यमा संचालन गर्नु विशेष रहेको बताए । उनले यस सहकार्यबाट नेपाल विदेशी पर्यटक माझ प्रवर्धन हुने र नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । सोहि अवसारमा अमेरिकन एक्स्प्रेसका तर्फबाट कुरुष दस्तुरले यो अभियान अमेरिकन एक्स्प्रेसका तर्फबाट हिमालयन बैंक र नेपाल पर्यटन बोर्डसंग सहकार्यको प्रतिवद्धता अन्तर्गत भएको र यस अभियानले नेपालको पर्यटन व्यवसाय प्रवर्धनमा विशेष सहयोग पुग्ने विश्वास व्यक्त गरे ।