मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

ग्रीजम्यानले गरे एथलेटिको म्याड्रिड छोड्ने घोषणा

बुधबार, जेष्ठ १ २०७६

काठमाडौं(एजेन्सी)–फ्रान्सका स्टार फुटबलर एन्टोनी ग्रीजम्यानले यस सिजनपछि एथलेटिको म्याड्रिड छोड्ने घोषणा गरेका छन् । ग्रीजम्यानले एक भिडियो संदेश जारी गर्दै आगामी शनिबार हुने एथलेटिकोको लेभान्तेविरुद्धको खेल एथलेटिकोबाट आफ्नो अन्तिम खेल हुने घोषणा गरेका छन् । गत सिजनमा क्लबमा ५ बर्षका लागि आफ्नो सम्झौता नवीकरण गरेका २८ बर्षिय ग्रीजम्यानले क्लब छोड्ने घोषणा गरेका हुन् । ग्रीजम्यानको एथलेटिको म्याड्रिड छोड्ने घोषणा सँगै उनको बार्सिलोना जाने चर्चा शुरु भएको छ । अघिल्लो सिजनमा पनि ग्रीजम्यानको बार्सिलोना जाने तयारी असफल भएको थियो ।
मिडिया रिपोर्टका अनुसार आगामी जुनको पहिलो सातामा नै ग्रीजम्यानलाई बार्सिलोनाले भित्राउने तयारी गरेको उल्लेख छ । बार्सिलोनाले ग्रीजम्यानलाई १४६ मिलियन डलर तिरेर भित्राउन लागेको बताइएको छ । यद्यपि यस रिपोर्टको बार्सिलोना र ग्रीजम्यान दुवैले पुष्टि भने गरेका छैनन् । ग्रीजम्यानले आफुले नयाँ चुनौतीका लागि नयाँ ठाउमा जान लागेको बताउदै क्लबमा रहेका ५ बर्ष अविस्मरणीय रहेको बताएका छन् ।
सन् २०१४ मा ला लिगा कल्ब रियल सोसीयडाडबाट एथलेटिको आएका ग्रीजम्यानले एथलेटिकोमा ५ सिजन खेलेका छन् । ५ सिजनमा एथ्लेटिकोका लागि कुल २५६ खेल खेल्दै १३३ गोल गरेका छन् । एथलेटिकोका लागि ग्रीजम्यानले २०१७–१८ को युरोपा लिग जितेका थिए भने २०१८ मा युइएफए सुपर कप र २०१४ मा स्पेनिस सुपर कोपा जितेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार