काठमाडौं (जस)–गैर आवासीय नेपाली संघ(एनआरएनए) राष्ट्रिय समन्वय समिति अमेरिकाको आगमी निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी सुनिल शाह विवादमा परेका छन् । आफ्नै बिजनेस पार्टनरकी श्रीमतीको कम्पनीलाई एनआरएनएको वेबसाइट बनाउन दिएको पुष्टि भएसँगै शाहको उम्मेदवारी नै धरापमा परेको छ । वर्तमान वरिष्ठ उपाध्यक्षसमेत रहेका शाहको व्यवसाय साझेदार (बिजिनेस पार्टनर) शंकेस्वर सुबेदीको श्रीमती रोशी अमात्यको नाममा भएको पुष्टि भएसँगै यस्तो तथ्य बाहिरिएको हो । एआईजीईएएल, एलएलसी नामक ब्यबसायमा सुनिल शाह निर्देशक हुन् भने शंकेस्वर सुबेदी पनि निर्देशक रहेको कागजातद्वारा पुष्टि भएको देखिन्छ । उनकै ब्यबसाय साझेदार सुबेदीका पत्नी रोशी अमात्यलाई एनआरएनए अमेरिकाको आधिकारिक संजाल (वेबसाइट ) बनाउने जिम्मा स्पार्कइन्टेल इङ्क लाई दिइएको खुला्स भएको छ ।
उक्त स्पार्कइन्टेल इङ्क कम्पनि प्रतिष्ठान फेब्रुअरी १५,२०१६ मा मात्र दर्ता भएको देखिन्छ । रोशी अमात्य स्पार्कइन्टेल इङ्क कम्पनि (प्रतिष्ठान)को निर्देशक रहेको प्रमाणले स्पष्ट भएको छ । एनआरएन अमेरिकाको सदस्य बन्ने क्रममा ४८ घण्टा सम्म सर्बर डाउन (जालवितरक बिग्रेको)को अहिलेसम्म कुनै रिपोर्ट (प्रतिबेदन) दिएका छैनन् भने यसको चौतर्फी माग अझै भै रहेको छ । जसको कारण धेरै व्यक्तिहरु सदस्य बन्नबाट बन्चित भएका थिए । शाह वेबसाइट बनाउने प्रमुख जिम्मेबार लिएका छन् भने आफ्नो चुनावी प्रचार तथा प्रसारमा संजाल (वेबसाइट )लाई अहिलेसम्मकै सर्वाधिक राम्रो भनिरहेका छन् ।
उनले पेन्टागनको वेबसाइट ह्याक (अनाधिकृत प्रवेश ) हुन् सक्छ तर हाम्रो एनआरएनए अमेरिकाको कहिले नहुने दावीसम्म गरेका थिए । तर अहिलेसम्म पनि अमेरिका जस्तो उच्च प्रविधिको विकासकको चरम सिमा नाघेको राष्ट्रमा सर्बर डाउनको रिपोर्ट दिन असमर्थ रहेका छन् । यसलाई अमेरिकाका गैर आवसीय नेपालीहरुले सुनियोजित रुपमा गरिएको आरोप लगाएका छन् । सामान्य रुपमा दिन सकिने रिपोर्ट नदिएको र सार्वजनिक नगरेको कारण थुप्रै शंका उपशंकाको घेरामा सुनील शाह अझ पनि रहेका छन् । आगामी मे १८ र १९ का दिन निर्वाचन हुँदै छ ।वेबसाइट बनाउने प्रतिष्ठानको प्रमुख पनि उनि, वेबसाइट बनाउने कम्पनी, व्यवसाय जिम्मा पनि आफ्नो ब्यबसाय साझेदारको श्रीमतीलाई दिने र सर्बर डाउनभएको प्रतिबेदन पनि नदिने आफै उम्मेदवार हुने भन्दै अहिले शाहको आलोचना भएको छ । अमेरिका जस्तो मूलुकमा हजारौ संजाल बनाउने कम्पनी भएपनि शाहले सन् २०१६ मा मात्र खुलेको संस्थालाई दिनुले अझ शंका उपशंका गर्ने थुप्रै ठाउँ देखिन्छ ।
गैर आवासीय नेपाली सङ्घ (एनआरएन) अमेरिकाका अध्यक्षका तीन जना प्रत्याशीहरू रहेका छन् । एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्षका तीन प्रत्याशीहरू सुनिल साह, सञ्जय थापा र सूर्य लम्साल एकै ठाउमा रहेका छन् । यस पटक दुई सय १२ जनाले विभिन्न पदका लागि उम्मेदवारी दिएका छन् । एनआरएन अमेरिकामा यस पटक ८ हजार ९ सय २३ जनाले सदस्यताको आवेदन दिएकामा ८ हजार ८ सय ६१ ले सदस्यता प्राप्त गरेका छन् । यसमा पुरानो ५ सय ९१ जना आजीवन सदस्यसमेत गरी ९ हजार ४ सय ५२ जना सदस्य भएका छन् । मे १८ र १९ तारिख निर्वाचन मिति तोकिएको छ भने मे २१ तारिख परिणाम घोषणा तथा जुलाई ६ तारिख निर्वाचित समितिलाई पद हस्तान्तरण र प्रमाणपत्र वितरणको कार्य तालिका सार्वजनिक गरिएको छ ।







