शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

ओशियाना सम्मेलनले नेपालको समृद्धिको सपना साकार पार्न सघाउनेछ

शनिबार, बैशाख २८ २०७६

शिवकुमार बरुवाल
गैर आवासीय नेपाली संघ(एनारएनए)
युरोप संयोजक

शिवकुमार बरुवाल, गैर आवासीय नेपाली संघ(एनारएनए) को युरोप संयोजक हुन् । नेपालको म्याग्दी जिल्लाका बरुवाल विगत १९ वर्षदेखि बेल्जियममा बस्दै आइरहेका छन् । बरुवालले एनआरएनए बेल्जियमको सन २००५ मा स्थापनाकालको संस्थापक सचिवालय सदस्य, महासचिव, आइसीसी सदस्य हुँदै युरोप संयोजकको रूपमा काम गरिरहेका छन् । एनआरएनए अभियानमा निरन्तर सक्रिय बरुवाल नेपाल टुरिजम बोर्डको बेल्जियमका टुरिजम प्रतिनिधि पनि हुन् । यही शनिबारदेखि अष्टे«लियामा हुन गइरहेको ओशियाना क्षेत्रीय भेलाको सन्दर्भ तथा समग्र एनआरएनए अभियानबारे बरुवालसँग जनसवाल दैनिकले गरेको कुराकानीको सारसंक्षेप ः

अहिले अष्टे«लियामा ओशियाना क्षेत्रीय भेला हुँदैछ । यसको कस्तो महत्व छ ?
यही मे ११ र १२ मा अष्टे«लियामा ओशियाना क्षेत्रीय भेला हुँदैछ । भेलाको लागि ओशियानाका एनआरएनका साथीहरुले अत्यन्तै लगनकासाथ भव्यता पूवर्क तयारी गरिरहेका छन । हरेक क्षेत्रमा क्षेत्रीय भेला भईरहनु एनआरएनको नियमित कार्यक्रम नै हो । कहिल मध्यपूर्वमा हुन्छ, कहिले यूरोपमा हुन्छ, कहिले ओशियानामा हुन्छ । तर, सबैभन्दा महत्वपूर्ण पक्ष भनेको के हो भने हरेक भेला र छलफलको प्रमुख उद्देश्य भनेकै विदेशमा गएका नेपालीहरुलाई एकताको सुत्रमा ल्याएर कसरी आफ्नो स्वदेशको विकास र समृद्धिमा बढीभन्दा बढी योगदान गर्न सकिन्छ भन्ने बारे उपायहरुको खोजी गर्नु नै हो । यसै सन्दर्भमा, अस्टे«लियामा हुन लागेको ओशियाना क्षेत्रीय भेलाको पनि प्रमुख उद्देश्य भनेको नेपाललाई छिटो भन्दा छिटो विकासको पथमा गति दिलाउन गैरआवासीय नेपालीहरुले के कति योगदान गर्न सकिन्छ भन्नेबारे बृहत्त छलफल हुने नै हो । र मलाई थाहा छ ओशियाना सम्मेलनले नेपाल र नेपालीहरुको समृद्धिको सपना साकार बनाउन विशेष–विशेष योजनाहरुलाई अघि सार्ने छ । कार्यक्रमको सफलताको कामना समेत छ मेरो ।

 

एनआरएनएको अब आउने निर्वाचनबारे तपाईको धारणा के छ ? संयोजकमै रहनुहुन्छ कि माथि अर्को पदमा रहेर काम गर्ने चाहना छ ? कुन पद चाहानुहुन्छ ? कुन पदको जिम्मेवारी वहन गर्ने दख्खल राख्नुहुन्छ ?
म खासमा पद र कुनै स्वार्थकोलागि एनआरएन अभियानमा लागेको हैन । बरु, म रहुन्जेल र एनआरएन रहुन्जेल निरन्तररुपमा म मन बचन र कर्मले यस अभियानमा लागिरहन्छु । सामाजिक कार्यमा भिजिरहन्छु । निरन्तर लागिरहने प्रक्रियामा विभिन्न पदहरू समाल्नुपर्ने अवसरहरू आउन सक्छ त्यसकोलागि म सधैँ सक्रिय नै छु । मेरो निरन्तरको सक्रियता अनुसार पनि मैले माथि चढ्ने पथ बनाएको छु । अन्तराष्ट्रिय सल्जालीकरण, प्रशासनिक पद, सचिवालय प्रशासन वा जस्तो सचिव वा महासचिव जस्ता पदहरुमा मेरो राम्रो अनुभव, ज्ञान र शैक्षिक ब्याकग्राउण्ड समेत भएकोले त्यस्तो पदमा रहेर अझ सक्रियरुपमा जिम्मेवारीपूर्ण काम गर्ने मेरो मनोआकांक्षा छ ।

अगस्ट ३ र ४ मा हुने युरोप सम्मेलनबारे बताईदिनुस न ?
आउँदो अगस्ट ३ र ४ मा इटालीको रोममा युरोप सम्मेलन गर्न गईरहेका छौ । त्यसको तयारीसमेत हामीले विशेष ढंगले गरिरहेका छौ । यसबारे हामी सबै सरोकारवालाहरुलाई छिटै जानकारी गराउनेवालासमेत छौ । लगानी, पर्यटन, पुननिर्माण, देशको समृद्धि, देशमा प्रविधि भित्राउने, देशमा रोजगारी बढाउने आदि जस्ता महत्वपूर्ण पक्षहरुमा बृहत छलफल हुनेछ उक्त सम्मेलनमा ।

नेपालबाट युरोप के सिलसिलामा आउनु भयो ?
नेपालमा मास्टर पढ्दै थिए । नेपालमा त्यतिखेर प्रविधिको त्यति धेरै विकास भएको थिएन । त्यही क्रममा अन्तराष्ट्रिय प्रविधिसम्बन्धी तालिममा जर्मन आएको थिए । त्यति बेला नेपालमा पनि द्धन्द्ध थियो । द्धन्द्धको कारणले यतै बसियो । अहिले सपरिवार यतै छौँ ।

अहिले यूरोपमा के गर्दै हुनुहुुन्छ ?
हामी जहाँ बसेपनि हाम्रो जन्मथलो नेपाल हो । हामी नेपाली हौँ । त्यही सोचेर व्यापार व्यवसाय पनि नेपालसँगै सम्बन्धित भएर गरौँ भन्ने लागेर म अहिले युरोपमा नेपालको सम्पूर्ण सामग्रीहरू बिक्रिवितरण गर्छु । साथै, बेल्जियममा भएका नेपाली रेस्टुरेन्टहरूमा कच्चा खाद्यहरू वितरण गर्छु । र, परोपकारी काम सँगसँगै नेपालको समृद्धिको लागि एनआरएनमा आबद्ध भएर पर्यटन प्रवद्र्धनलगायत म्याग्दीमा हाइड्रो कम्पनी सञ्चालित गरेका छौ । नेपालमा आधुनिक कृषि कार्यहरू समेत गरिरहेका छौँ ।

 

नेपालको सामान्य मान्छे तपाईँ युरोप पुगेर सफल व्यवसायी बन्न कसरी सम्भव भयो ?
सबैभन्दा ठुलो कुरा मान्छेको इमान्दारीता र काम गर्ने इच्छाशक्ति हो । युरोपमा सानो कामबाट सुरु गयौँ । धेरै कुरा सिक्यौ । धेरै प्रविधिहरू सिक्यौ । सिक्दै गएपछि व्यापार नै अपार रहेछ भन्ने लागेर सामुहिकरुपमा डिपार्टमेन्ट स्टोर खोल्यौ । त्यसपछि व्यवसायमा जम्दै गइयो । व्यवसाय मात्र बढेर भएन । सामाजिक जिम्मेवारिता, समाजसेवा र देशप्रतिको आफ्नो कतव्र्यलाई पनि ध्यानमा राखेर नियमित सङ्घर्ष गरिरहे । सङ्घर्षले नै जीवनमा सुख, सन्तोष, सन्तुष्टि र खुसी ल्याउने रहेछ । सफलताभन्दा पनि सङ्घर्षलाई निरन्तरता दिनुपर्ने महत्वपूर्ण ठानेर निरन्तर सङ्घर्ष गरिरहे । यसले नै अहिलेको स्थानमा ल्याइपुर्यायो ।

युरोपमा नेपालीहरूको अवस्था कस्तो छ ?
युरोपमा नेपालीहरूको अवस्था राम्रै छ । यहाँ रहनुभएका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूले राम्रै गरिरहनु भएको छ । युरोपका हरेक देशहरूमा नेपाली पुगेका छन् । धेरैले जागिर खाईरहेका छन् । साथै, धेरैले व्यापार व्यावसायहरु समेत गरिरहेका छन् । युरोप विकास, प्रविधि र सभ्यताले भरिपूर्ण मुलुक भएकोले यहाँ पहिले आउनुभएकाहरुले राम्रै अवसरहरू पाएका छन् । नेपालीहरू यहाँ युरोपमा रमाउने मात्र हैन यसका साथसाथै कयौँ नेपालीहरूले युरोपको ज्ञान सीप प्रविधि सिकेर नेपालमा गएर राम्रो लगानी गरेर सिर्जनसिल एवं व्यावसायिक कार्यहरू समेत गरिरहेका छन् ।

सबैले युरोप–युरोप भन्छन् । युरोप छिर्न कै लागि लाखौँ खर्च गर्न पनि तयार छन् । कयौँको लाखौँ ठगिएको पनि छ ? त्यस्ता समस्याहरूबारे तपाईँ के भन्नुहुन्छ ?
मिडिल इस्टमा जस्तो अत्यधिक धेरै मानिसहरू यहाँ छैनन् । यहाँ रोजगारीकालागि भन्दा पनि विद्यार्थीको रूपमा, कार्यक्रममा सहभागी हुने सिलसिलामा वा द्धन्द्धकालमा इमिग्रान्टको रूपमा धेरै नेपालीहरू आए । यहाँ आएर अनेकन सङ्घर्षपश्चात् मात्र सामान्य सेटल भएका हुन्छन् । र, आउनेक्रममा विभिन्न झमेला वा ठगीमा समेत परेका कयौँ उदाहरणहरू छन्, यो सत्य हो । यहाँ युरोपमा पछिल्लो समय इमिग्रेसन कानुन एकदमै कडा बनाएकोले त्यति सजिलै यहाँ आउन नसकिने भएपश्चात यहाँ आउन चाहने कयौँ नेपालीहरू विभिन्न दलाल र ठगहरूको जन्जालमा फसेका छन् । त्यसर्थ, युरोपमा इमिग्रेसन समस्या देखा पर्न थालेकोले पनि अहिले युरोप आएपनि त्यति धेरै अवसर छैन । पहिलेजस्तो पीआर पाउन त झन् कठिन छ । अहिले पनि पोर्चुगल, इटाली, स्पेन लगायत देशहरूमा इमिग्रेस पीआर पाउने व्यवस्था भए पनि त्यो पनि त्यति सजिलो छैन । त्यहाँ पनि त्यति कार्यगत अवसरहरू छैनन् । त्यहाँ गएर कठिन सङ्घर्ष गर्नु पर्ने हुन्छ । त्यसर्थ, अहिलेको युरोप गएर लिगल्ली स्थायीरुपमा बस्ने सहज अवस्था छैन ।

पोर्चुगल, पोल्यान् लगायत देशहरूमा जाने भनेर अझै पनि नेपालका विभिन्न एजेन्टहरू, मेनपावरहरुले मान्छेहरूलाई झुलाइरहेका छन् । के छ ती देशहरूमा साँच्चै सम्भावना छ त ?
अहिले नेपालबाट खेतिपातीको लागि पोर्चुुगलमा लिगलरुपमा पनि लगिरहेको छ । पोल्यान्डमा पनि लगिरहेको छ । तर, त्यस्तो सङ्ख्या निकै न्यून छ । यदि कसैले अवैधानिक रूपमा विभिन्न अवैध बाटो मार्फत युरोप पुराइदिन्छु भनेर त्यस्तो कार्य गर्छन् भने त्यो पनि त्यति सहज छैन । र, यदि युरोप पुराइदिए पनि त्यहाँ गएर पीआर पाउने सम्भावना निकै न्यून हुन्छ । त्यसर्थ, अबैधानिकरुपमा युरोप गएर पीआर पाउने भन्ने सपना देख्नु उति जायज हुँदैन अब । त्यस्तो अभिलाषामा नफस्नु होला भन्छु सम्पूर्ण नेपालीहरूलाई ।

यत्रो वर्ष एनआरएन अभियानमा लाग्नुभयो । एनआरएन अभियानबाट के पाउनुभयो ? के गुमाउनुभयो ?
एनआरएनमा केही पाइन्छ भनेर लागेको थिइन म । विश्वभर छरिएका नेपालीहरूलाई एकताको सुत्रमा बाँधेर आफ्नो देशको निमित्त केही सामाजिक योगदान गरौँ भन्ने मनोभावले मात्र एनआरएनमा संलग्न भएको थिए । तर, अभियानकै सिलसिलामा विभिन्न नयाँ मित्रहरू चिनजान, विश्वव्यापी सहकार्य, समन्वय र भ्रमणहरूको अवसर भने पाए । र, एनआरएन अभियानमा हामीले आर्थिक एवं स्वयंसेवी समय समेत योगदान गर्नुपर्ने थियो त्यस लाइ गुमाएको भन्न मिल्दैन । त्यो विल्कुल ऐच्छिक कुरा हो । इच्छा अनुसार सामाजिक कार्यमा पुर्याउने योगदान गुमाउनु हैन । बरु, कर्तव्य हो, सामाजिक जिम्मेवारीता हो जस्तो लाग्छ मलाइ ।

एनआरएन अभियानबाट सुन्तुष्ट हुनुहुन्छ त तपाईँ ?
एनआरएन अभियानहरूबाट जति सुन्तुष्टि हुनु पर्ने त्यति हुन सकेको छुइन । किनभने, जुन उद्देश्य अनुसार हामी यस अभियानमा लाग्यौ, सो अनुसार राष्ट्रलाई त्यति योगदान पुर्याउन सकेको छैनांै । संस्थागत एकताको कमी र प्राविधिक कमीकमजोरीको कारणले गर्दा सोचेजस्तो नतिजा ल्याउन सकेको छैन एनआरएनले । साथै, देशको प्रशासनिक एवं राजनैतिक झमेलाका कारण पनि हामीले देशमा सोचे अनुसार योगदान पुर्याउन सकिरहेका छैनौँ ।

युरोपबाट के कति लगानी भित्रिएको छ नेपालमा ?
नेपालमा संयुक्त लगानी अभियान सञ्चालन धेरै पहिल्यै थालिएको हो । सोही अभियानको सिलसिलामा हामीले धेरै क्षेत्रहरूमा लगानी समेत गरीरहेका छौँ । जस्तै– हाइड्रो पावर, कृषि, पूर्वाधार विकास, पयर्टन, होटेल लगायत अन्य विभिन्न क्षेत्रहरूमा लगानी गरिरहेका छौँ । र अहिले हामीले संयुक्त लगानीको लागि कोषको समेत स्थापना गर्ने पहल गरेका छौँ । नेपालमा लगानी मात्र हैन प्रविधि पनि भित्राउन पर्छ भन्ने सोचेर हामीले विज्ञ सम्मेलन पनि गर्यौ । सोही अनुसार भविष्यमा विभिन्न विज्ञ प्राविधिकहरूसँगको सहकार्यमा नेपालमा व्यापक लगानी भित्राउने योजना भइरहेको छ ।

युरोपमा बस्ने नेपालीहरूले नेपालको सम्पत्ति पनि उतै लैजान्छन । उतै सेटल भएर बस्छन । भन्ने आरोप छ नि ?
होला, त्यस्तो पनि सुनिन्छ । केही नेपालीहरूले आफ्ना नेपालको सम्पत्ति युरोपमा ल्याउने गरेका छन् भन्ने पनि सुनिएको छ । केही नेपालीहरूले यहाँ विभिन्न व्यवसाय संचालानार्थ अर्थअभावको कारण आफ्नो देशको सम्पत्ति ल्याएका होलान् । तर, अन्ततोगत्वा पछि ती सबै नेपालै फर्किने सम्पत्ति हुन । अस्थायी व्यापार व्यवसायमा लगानीको लागि त्यसो भएको हो । पछि त्यो लगानी बढेर एकमुष्ट नेपालै फ्रकिन्छ ।

युरोपियन देशहरूबाट नेपाल राष्ट्रले के सिक्नुपर्छ ?
युरोप साँच्चै व्यापक विकसित ठाउँ हो । यहाँ प्रविधि छ । यहाँ सभ्यता छ । यहाँ उच्चकोटीको शिक्षा छ । यहाँ विशिष्ट सिस्टम छ । यहाँ कुनै पनि विभेद र भेदभाव छैन । यहाँ श्रमको उच्च कदर हुन्छ । यहाँ विविधता छ । विश्वका सबै मानिसहरूलाई सम्मान र कदर गर्छ । यहाँ खोज अनुसन्धान उच्च छ । यहाँ दीर्घकालीन सोच र भिजन छ । पर्पेmक्ट सामाजिक सुरक्षा छ । यहाँ दर्शन छ । यस्ता विभिन्न गुणात्मक पक्षहरू नेपालले सिक्न सक्यो भने सानो सुन्दर मुलुक नेपाललाई सजिलै समृद्धितर्फ लैजान सकिन्छ । आखिर विकासको लहर भनेको सिको प्रक्रिया नै हो । सिकाइले नै विकास निम्त्याउँछ ।

युरोपको व्यापक विकासको आधार अर्थात् गुप्त रहस्य के होला ?
यहाँको विकासको प्रमुख आधार भनेकै इमानदारीता, मिहेनत र सिस्टम वा विधि हो । यहाँ विधि को शासन छ । यसैको परिधिमा यहाँ प्रविधि, श्रम, उचित स्रोत परिचालन, अनुसन्धान जस्ता प्रकार्यभई विकासको भएको हो । यहाँ मानिसले भन्दा पनि सिस्टमले कार्य गर्छ । विकास नहोस् भनेर सोचे पनि सिस्टमले नै विकास गराई रहन्छ ।

युरोपियन मुलुकबाट नेपालकोलागि के कस्ता सहयोग सम्भावनाहरू देखिन्छ ?
युरोपियन मुलुकहरूको साझा संस्था युरोपियन युनियनले हाम्रो नेपाल जस्तै अविकसित मुलुकहरूमा उच्च सहयोग र लगानीहरू गरिरहेका छन् । नेपालमा पनि इयुले धेरै कामहरू गरिरहेका छन् । साथै, इयु मुलुकहरूले नेपाललाई राम्रो काम मात्र गर्छन् भन्ने हुँदैन । नराम्रो काम पनि गर्न सक्छन् । त्यसमा हामी सतर्क रहेर इयु मुलुकहरूबाट साथ र सहयोग लिएर कुटनितिकरुपमा हामीले धेरै विकासका कार्यहरू गर्ने सम्भावनाहरू रहेका छन् । त्यस्ता सम्भावनालाई हामीले कसरी ग्रहण गर्ने वा कसरी टेकओभर गर्ने भन्ने महत्वपूर्ण कुरा हो ।

युरोपबाट नेपालमा पर्यटक भित्राउन के कस्ता पहलहरू गर्नुभएको छ तपाइहरूले ?
म बेल्जियमको नेपाल टुरिजम बोर्डको प्रतिनिधि भईसकेपछि धेरै कार्यक्रमहरु गरिसक्यौ । नेपालको पर्यटन प्रवद्र्धन र सम्भावनाहरूको उत्खनन गर्न विभिन्न कार्यक्रमहरू र अभियानहरू समेत सञ्चालन गर्यौ । राजदूतावाससँग र नेपाल टुरिजम बोर्डसँग सहकार्य गरेर विभिन्न भिडियोहरू, सांस्कृतिक कार्यक्रमहरू, स्टिकरहरू, प्रचारप्रसाहरु एवं सामाजिकीकरण गरिरहेका छौँ । जसले गर्दा तथ्यांकगतरुपमै नेपालको पर्यटन प्रवर्द्धन भइरहेको हामीले पाएका छौँ ।

अन्तमा के भन्न चाहनुहुनन्छ ?
हाम्रो सुन्दर हराभरा देश नेपाललाई छाडेर सारा उर्जावान नेपालीहरू विदेशमा गुलामी गर्न बाध्य छौँ । अनेकन शासन व्यवस्था परिवर्तन भई सक्दा पनि नेपाल जस्ताको जस्तै रहिरहेको देख्न सुन्न पर्दा बहुत दुःख लाग्छ । त्यसर्थ, नेपाललाई जतिसक्दो छिटो समृद्ध नेपाल बनाउन हामी सबैले सक्दो पहल गरौँ । नेपालमा लगानी गरौँ । गफभन्दा धेरै इमान्दारीपूर्वक काम गरौँ । किन पनि भने, समृद्धिको एउटै प्रमुख आधार भनेकै इमान्दारीपूर्वक गरिने कार्य नै हो । त्यसर्थ, नेपाल सरकारले पनि यस पक्षलाई गम्भीरताकासाथ सोचोस भन्ने चाहन्छु ।

प्रतिक्रिया
सम्बन्धित समाचार