शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

ओशिनिया सम्मेलन अब आउने एनआरएनको अभियानमा कोशेढुंगा बन्न सक्नुपर्छ

शनिबार, बैशाख २८ २०७६

गणेश केसी
पूर्वअध्यक्ष, गैरआवासीय नेपाली संघ (एनआरएनए)
अष्ट्रेलिया

गैरआवासीय नेपाली संघ (एनआरएन) को तेस्रो ओसेनिया क्षेत्रीय सम्मेलन यही शनिवारदेखि अष्ट्रेलियाको सिडनीमा आयोजना हुँदैछ । ‘इन्भेष्मेन्ट, इन्नोभेसन र टुरिजम’ मूल नारा राखिएको सम्मेलन यही आउँदो मे ११ र १२ मा हायात रेजेन्सी, डार्लिङ हार्बर सिडनी, अष्टे«लियामा हुनेछ । यसै सन्दर्भमा अष्ट्रेलियामा एनआरएनको विगत वर्तमान र भविष्य तथा सम्मेलनका सम्बन्धमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका पूर्वअध्यक्ष गणेश केसीसँग जनसवाल दैनिकले गरेको कुराकानीको सारसंक्षेप :

एनआरएनए अभियान कसरी अगाडि बढिरहेको छ जस्तो लाग्छ अहिले ?
एनआरएन अभियान अहिले एकदमै राम्रो ढंगले अगाडि बढिरहेको छ । हामी प्रवासमा बसेका नेपालीहरुलाई एकत्रित गर्दै प्रवासमा रहेका नेपालीहरुको सीप, दक्षता, क्षमता र ज्ञानलाई कसरी नेपालको समृद्धिकालागि उपयोग गर्न सकिन्छ भनेर लागिपरेका छौं । अर्कोतर्फ बिदेशमा रहेका नेपालीहरुबीच भाइचार विकास, समस्यामा सहयोग र नेपाली संस्कृतिको प्रवद्र्धनजस्ता काममा सक्रिय छौं । एनआरएनए सबै बिदेशमा रहेका नेपालीका लागि चौतारीको रुपमा विकास भइरहेको छ ।
यहाँ एनआरएनए अस्ट्रेलियाको पूर्व अध्यक्ष हुनुहुन्छ । यहाँले आफ्नो कार्यकालमा एनआरएनए अस्ट्रेलियामा के कस्ता कामहरु गर्नुभयो ?
म एनआरएनए अष्ट्रेलियाको सन २०११ देखि २०१३ को अध्यक्ष हुँदाखेरि विभिन्न उल्लेखनीय कामहरु गरेका थियौं । हामीले गरेका सबैभन्दा राम्रो काम भनेको हामीले एनआरएनए सोसियल वेलफेयर फण्ड स्थापना गर्यौं । त्यतिबेला हामीले त्यो फण्डमा ३ दिनमा १ लाख ६३ हजार डलर (करीब १ करोड ५० लाख रुपैयाँ) जम्मा भएको थियो । यसअघि अष्ट्रेलियामा नेपालीलाई समस्यामा पर्दा सहयोग गर्ने कुनै त्यस्तो फण्ड नहुँदा कोही बिरामी वा मरणासन्न अवस्थामा पुग्दा पनि सहयोग गर्न सकिएको थिएन । यो फण्ड बनेपछि धेरै सहयोगको काम भएको छ । यो फण्डमा अहिले पनि करोडौं रुपैयाँ रकम रहेको छ । यो फण्ड एनआरएनए अष्ट्रेलियाको इतिहासमै गौरवपूर्ण काम हो । अहिले अष्ट्रेलियामा नेपाली समुदाय, नेपाली विधार्थी तथा सबैले एनआरएनए अष्ट्रेलियाले बनाएको यो फण्डलाई निकै प्रशंसा गर्नुहुन्छ । अहिले अष्ट्रेलियामा जोसुकै समस्यामा पर्दा पनि एनआरएनए अष्ट्रेलियाको फण्डबाट सहयोग हुने गरेको छ । जुन फण्डमा अहिले पनि एक लाख डलर बढी रकम होला ।
त्यस्तै मेरै कार्यकालमा हामीले सन् २०१३ सातौ क्षेत्रीय सम्मेलन सफलतापूर्वक र भव्यताका साथ सम्पन्न गरेका थियौं । अर्कोतर्फ यही समयमा हामीले ३० करोड रुपैयाँ लगानी जुटाउन नेपाल हाइड्रो इन्भेष्टमेन्ट कार्यक्रम गर्यौं भने मेरै कार्यकालमा सफलतापूर्वक नेपाल फेष्टिबल पनि आयोजना भयो । हामीले अष्ट्रेलियामा सबैसँग मिलेर एनआरएनलाई अघि बढाउन महत्वपूर्ण छलफल र कामहरु गर्यौं भने मेरै कार्यकालमा हामीले आदरणीय शेष घलेलाई एनआरएनए आइसीसी अध्यक्ष बनाउन, जिताउन अष्ट्रेलियामा नेपाली समुदायमाझ महत्वपूर्ण सहयोग गरेका थियौं । मेरो कार्यकाल कामका हिसाबले निकै महत्वपूर्ण र विशिष्ट रह्यो भन्न सकिन्छ ।
एनआरएनए अस्ट्रेलियाको पूर्व अध्यक्षको हैसियतले एनआरएनको अहिलेको गतिविधिको बारेमा केही बताईदिनुस् न ?
एनआरएनको अनवरत अभियानमा अघिल्लो आइसिसीले गरेका कामलाई अहिले भवन भट्ट अध्यक्ष रहेको जुन आइसिसी टीम हुनुहन्छ उहाँहरुले जसरी अघि बढाउनुभएको छ, काम गर्नुभएको छ । त्यो निकै प्रशंसा योग्य छ । पहिले म यो टीमप्रति पोजेटिभ थिइन । तर, जसरी अहिले वर्तमान अध्यक्षले मेहनत गरेर सबै साथीहरुलाई समेटेर, उत्साहित बनाउँदै, सबैसँग मिलेर अघि बढ्नुभयो । त्यसले एनआरएन अभियानलाई निकै सहज र उपयुक्त ढंगले अघि बढाएको छ । अहिले वर्तमान अध्यक्षले जसरी सक्रिय भएर काम गर्नुभयो र सबैलाई साथ लिएर र साथ दिएर काम गर्नुभएको छ । यसले एनआरएन अभियानको वास्तविक उद्देश्यप्राप्तिमा निकै ठूलो योगदान पुगेको छ । एनआरएनको ड्रिम प्रोजेक्ट लाप्राक प्रोजेक्ट अहिले करीब–करीब सम्पन्न भएर हस्तान्तरणको चरणमा पुगेको अवस्था छ । एकदमै अफ्ठयारो स्थितिमा पनि अहिलेको वर्तमान एनआरएननले जसरी यो बस्ती निर्माण सकेर हस्तान्तरणको चरणमा पुगेको छ त्यो प्रशंसायोग्य छ ।
एनआरएनए केन्द्रले तेस्रो ओसेनिया सम्मेलनलाई कतिको महत्वका साथ कसरी हेरेको छ जस्तो लाग्छ यहाँलाई ?
एनआरएनएको तेस्रो ओसेनिया क्षेत्रीय सम्मेलनमा अष्ट्रेलियामा हुन गइरहेको छ । पक्कै पनि यो खुशीको कुरा हो । हुन त ओसेनिया क्षेत्रमा धेरै देशहरु छैनन् । मुख्यत एनआरएनए अष्ट्रेलिया र न्यूजिल्याण्डमात्रको उपस्थित देखिने भएकाले यसको यसलाई अष्ट्रेलियाकै बेस र अष्ट्रेलियाकै चार्मिङको रुपमा मैले हेरेको छु । अष्ट्रेलिया र न्यूजिल्याण्डमात्रको उपस्थिती हुने भएकाले अन्तराष्ट्रिय समन्वय परिषदमा त्यति प्रभाव त नपार्ला । तर, यो सम्मेलनले अब आउने एनआरएनको अभियानमा कोशेढुंगा बन्न सक्नुपर्छ । अहिलेसम्म हेर्ने हो भने ओसेनियाका एनआरएनए साथीहरुले पूराना साथीहरु र सबैलाई समेटने काम भएको छैन । अहिलेको नेत्तृत्वले सबै साथीहरुलाई, अग्रजहरुलाई समेटेर यो सम्मेलनमार्फत एउटा दरिलो प्रभाव पार्न सकोस । सबै मिलेर सम्मेलनलाई भव्य र सफल बनौं भन्ने सन्देस दिन चाहन्छु
एनआरएनएले ओसेनिया क्षेत्रमा रहेका नेपालीलाई कत्तिको प्राथमिकता दिएको छ जस्तो लाग्छ ?
अहिलेसम्म हेर्ने हो भने खासै ओसेनिया क्षेत्रमा रहेका नेपालीहरुको ज्ञान, सीप र क्षमताको एनआरएनले उपयोग गरेको जस्तो लाग्दैन । हामीले पनि यो क्षेत्रमा रहेका नेपालीहरुको विज्ञता र ज्ञानलाई समेटने त्यस्तो उल्लेखनीय काम गर्न सकेनौं । यो सम्मेलनले अब आगामी दिनमा ओसेनिया क्षेत्रमा रहेका नेपालीहरुका लागि एउटा नयाँ सन्देस दिओस भन्ने कामना गर्दछु ।
अझै पनि एनआरएनएलाई धनीको मात्रै संस्था भन्ने गरिन्छ । यहाँको कार्यकालमा यहाँले एनआरएनए अस्ट्रेलियाको अध्यक्षको नाताले ओसेनिया क्षेत्रमा रहेका नेपाली र नेपाली बिधार्थीको लागि के–के गर्नुभएको थियो ?
एनआरएनएलाई धनीको मात्रै संस्था भन्ने जुन आरोप छ त्यो एकदमै गलत छ । यो संसारभर रहेका रहेका ८० लाख बढी नेपालीको साझा संस्था हो । यो नेटवर्क जोडने संस्था पनि हो । यहाँबाट एउटा साथीले अर्को साथीलाई चिन्ने, व्यवसायबारे परामर्श, एक अर्कामा सहयोगजस्ता काम एनआरएनको नेटवर्कबाट भएको छ । अर्कोतर्फ बिदेशमा रहेर पनि एनआरएनले कसरी नेपालको हितमा बिदेशमा सिकेको ज्ञान, सीप र विज्ञतालाई उपयोग गर्ने, नेपालमा लगानी गर्ने भनेर लागिरहनुभएको छ, गरिरहनुभएको छ । मेरै कुरा गर्ने हो भने पनि मैले पनि आफुले जानेको सीप नेपालमा ल्याएर नेपालीलाई सिकाउने, दक्ष बनाउने काम शुरु गरेको छु । हामी सबै नेपाललाई कसरी राम्रो बनाउने भन्नेमा केन्द्रित छौं । जहाँ सबै अटाएको देखेको छु मैले । त्यसैले यो धनीको मात्र नभएर साझा संस्था हो ।
प्रवासमा बस्ने नेपालीलाई केन्द्रित गरेर एनआरएनले के कस्ता काम गरिरहेको छ । अहिलेका कामबाट सन्तुष्ट हुनुहुन्छ ?
मुख्य कुरा त एनआरएनए एउटा अभियान हो । यसले प्रवासमा रहेका नेपालीलाई विभिन्न ढंगले सहयोग गरिरहेको छ भने देशमा सीप र पूँजी भित्र्याएर निकै ठूलो काम गरिरहेको छ । एनआरएनए भनेकै प्रवासमा रहेका नेपालीहरुको हित र विकासमा काम गरिरहेको संस्था भएकाले यसका गतिविधी प्रवासका नेपालीहरुको सुखदुख तथा समृद्धि र हितमा केन्द्रित छ भन्न सकिन्छ ।
एनआरएनका अहिलेका मुख्य मुद्दाहरु के–के हुनुपर्ने जस्तो लाग्छ यहाँलाई ?
एनआरएनएको मुख्य एजेण्डा भनेकै अहिले हामी जुन देशमा बसिरहेका छौं । हाम्रो दोश्रो पुस्तालाई कसरी जन्मभूमिकोे बारेमा कनेक्सन गर्न सकिन्छ भन्नेमा जुटेर, बसेर छलफल गर्नु जरुरी छ । त्यस्तै अहिले एनआरएनएलाई नागरिकताको जुन विषय छ त्यसलाई हामीले स्पष्ट पार्न जरुरी छ । नागरिकता र त्यसपछिका अधिकारका बारेमा स्पष्ट हुनुर्छ र यसकालागि बृहत छलफल हुनुपर्छ । यसैगरी एनआरएनए साथीहरुबाट नेपालमा कसरी कलेक्टिभ इन्भेष्टमेन्टमा काम गर्न सक्छौं, खाका यस्तो बनाउन सकिन्छ, सरकारसँग कसरी साझेदार गर्न सकिन्छ । नेपालमा गाउँठाउँसम्म हजारौ नेपाली युवाहरलाई कसरी सीपमूलक शिक्षा दिन सकिन्छ भन्नेमा छलफल हुनुपर्छ । त्यस्तै विज्ञमात्र नभएर तल्लो तहसम्म उपलब्धि पुर्याउने गर कसरी काम गर्न सकिन्छ भन्ने एजेण्डा अहिले बनाउनु पर्छ ।
एनआरएनले लगानीसँगै सीप, प्रविधि भित्र्याउने भनिएको छ नि, त्यो नारामा मात्रै सिमित भएको त छैन ?
एनआरएनले लगानीसँगै सीप, प्रविधि भित्र्याउने भनिएको जुन विषय छ । त्यो नारामा मात्रै सिमित भएको छैन । म आफैले अहिले सीपसँगै सम्बन्धित व्यवसााय पनि सञ्चालन गरिरहेको छु र मैले जानेको सीप नेपालीहरुलाई बाँडिरहेको छु । म जस्तै धेरै साथीले विभिन्न क्षेत्रमा काम गरिरहनु भएको छ । जसले नेपालमा विभिन्न नयाँ–नयाँ प्रविधि, सीप र दक्षता भित्रिरहेको छ । यति हुँदाहुँदै पनि हामीले सोचेजस्तो ढंगले उपलब्धि हासिल गर्न भने सकेका छैनौं । एनआरएनले हजारौं युवाहरुलाई केही समयमै सीप र रोजगार दिन सकछ । अब त्यस्तो बृहत काम गर्न जरुरी छ । एनआरएनमा भएको विज्ञता , बिदेशी संघसंस्था, नेपालमा भएका संघसंस्था तथा सरकारको साझोदारीमा काम गर्न सकियो भने एनआरएनको नारा निकै सार्थक हुने देखिन्छ ।
एनआरएनले नेपालमा गत अक्टोवरमा विज्ञ सम्मेलन सम्पन्न गर्यो । यसले प्रवासमा बस्ने नेपालीलाई के फाईदा पुर्यायो जस्तो लाग्छ ?
जुन विज्ञ सम्मेलन भयो । यसले संसारभर छरिएका नेपालीहरु को केमा विज्ञ हुनुहुन्छ भन्ने एउटा डाटा बेस तयार भएको छ । जसबाट हामीले निकै महत्वपूर्ण कामहरु गर्न सक्नेछौं । यसले अहिले नै तत्काल फाइदा नदेखिएपनि यसको फाइदा अनन्तकालसम्म हुनेछ ।
अस्ट्रेलियामा नेपालीहरुकालागि के कस्ता सम्भाबना र चुनौतीहरु छन् जस्तो लाग्छ यहाँको अनुभबमा ?
पक्कै पनि अष्ट्रेलियामा धेरै अवसरहरु छन् । सम्भावनाहरु निकै छन् । धेरै नेपालीहरु केन्द्रीय स्तरसम्म पुग्न सफल बन्दै गएका छन् । पछिल्लो समय नयाँ पुस्ताहरुले आफुलाई अब्बल रुपमा प्रस्तुत गरिरहेका छन् । भर्खरै मात्र भएको निर्वाचनबाट एकजना भाइले राज्यको टिकट पाउनुभएको छ । यहाँ विभिन्न क्षेत्रमा अवसरै–अवसर छन् भने भर्खरै आउने विधार्र्थी भाइबहिनिहरुको हकमा भने निकै चुनौतीहरु छन् । त्यसैले अष्ट्रेलिया आउनुअघि विस्तृत अध्ययन गरेर, सीप सिकेर आउन अनुरोध गर्दछु ।
ओसेनिया क्षेत्रमा एनआरएनले के काम गर्नुपर्छ जस्तो लाग्छ र यहाँहरुका केही योजना छन कि ?
मुख्यत यहाँ सबैलाई समेटेर अघि बढने र आइसिसीसम्म ओसेनिया क्षेत्रलाई प्रतिनिधित्व गराउने काम हुनुपर्छ । एनआरएनले यो क्षेत्रमा रहेका सबै नेपालीका लागि उपयुक्त कामहरु गरोस भन्ने चाहना हाम्रो हो । त्यस्तै हामीले पनि ओसेनिया क्षेत्रमा रहेका सबै नेपालीहरुलाई एकताबद्ध बनाउने, नेपालीका छोरोछारीका लागि नेपाली भाषा, नेपाली समुदाय भवन बनाउनेलगायत हाम्रा योजनाहरु छन् । यी योजनाहरुलाई अब अघि बढाउनु जरुरुी छ ।
यहाँ एनआरएनए अस्ट्रेलियाको पूर्व अध्यक्ष हुनुहुन्छ । अब यहाँको गन्तब्य कहाँ हुन्छ एनआरएनएमा ?
सामाजिक क्षेत्र भनेको मेरो इन्ट्रेस्टको अवसर हो । एनआरएनए जस्तो एउटा बृहत संस्थामा जोडिएर काम गर्न पाउनु पक्कै पनि खुशीको कुरा हो । म पदमा रहेर या नरहेर पनि अगाढिका जुनसुकै चुनौतीपुर्ण यात्रामा पनि एनआरएनमा अभियानमा सक्रियताका साथ क्रियाशील रहनेछु ।
अन्तमा ओसेनिया सम्मेलनको बारेमा केहि बताईदिनोस न ?
ओसेनिया सम्मेलनले यो क्षेत्रका सम्पूर्ण नेपालीका एउटा महत्वपूर्ण अवसर सिर्जना गर्न सकोस भन्ने मेरो कामना छ । सबैको सहयोग र समन्वयमा सम्मेलन भव्यतापूर्वक सफल हुनेछ र यो सम्मेलनले समग्र आसेनिया क्षेत्रका नेपालीको आवाजलाई मुखरित गर्नेछ भन्ने अपेक्षा गरेको छु । सम्मेलन सफलताको शुभकामना !

 

प्रतिक्रिया
सम्बन्धित समाचार