काठमाडौं(जस)–अधिकांश निर्माण युनिटले प्रदर्शन अगाडि फिल्मको प्रिमियर गर्ने गर्दछन् । तर शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘पसिना’ युनिटले भने ‘पसिना’ विषयमा अन्तरक्रिया तथा सत्कर्ममार्गी सम्मान कार्यक्रम २०७६’ आयोजना गरेको छ । कार्यक्रममा पूर्वमन्त्री तथा समाजसेवी भद्रकुमारी घलेले नेपाललाई सत्चरित्रवान व्यक्तिको खाँचो रहेको बताइन् । उनले नेपालमा पसिना बगाउने व्यक्तिको सधै खाचो रहेको धारणा राखिन् । कलाकार सरोज खनालले समाजमा नकारात्मक कुराले बढी स्थान पाएको बताउँदै अब सकारात्मक बिषयले पनि स्थान पाउनुपर्नेमा जोड दिए ।
फिल्मका निर्माता शान्ता ढकालले आफु पनि समाजसेवा र सामाजिक कार्यमा सक्रिय रहेको कारण सामाजिक विषयवस्तुले भरिएको फिल्म ‘पसिना’ बनाएको बताइन् । कार्यक्रममा कलाकार रवी गिरी, सरोज खनाल लगायत विभिन्न क्षेत्रका समाजसेवीलाई समेत सम्मान गरिएको थियो । ‘गरौँ सत्कर्म बगाउ पसिना’ भन्ने मूल नारा बोकेको फिल्म ‘पसिना’ मा अनु शाह, गौरव पहाडी, सरोज खनाल, रवि गिरी, सुरजनी केसी, लगायतको अभिनय रहेको छ । यसलाई आरबि के शरदले निर्देशक गरेका हुन् ।