सिन्धुपाल्चोक, २६ वैशाख । कांग्रेसको जागरण अभियान उद्घाटनका क्रममा सिन्धुपाल्चोकमा झडप भएको छ । पार्टी सभापति शेरबहादुर पक्षधर र वरिष्ठ नेता पौडेल पक्षधरबीच उद्घाटनमा कुरा नमिल्दा झडप भएको हो । झडप हुँदा तरुण दलका १ कार्यकर्ता घाइते भएका छन् ।
कार्यक्रमस्थलमै कुटाकुट हुँदा कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतनिकट तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भएका हुन् । कांग्रेस २ नम्बर क्षेत्रीय समापति नवराज भट्टराईका अनुसार, उनको टाउकोमा चोट लागेको छ ।
जागरण अभियान उद्घाटन सत्रको सुरुमै मन्तव्य राखेका देउवमा पक्षधर हरिशरण श्रेष्ठ र जिल्ला सचिव झलक नेपालले पार्टी जिल्ला सभापति विकास लामाले सामूहिक नेतृत्वमा अघि बढ्नुपर्नेमा एकलौटी पार्टी चलाएको आरोप लगाएका थिए ।
श्रेष्ठ र नेपालपछि मञ्च पाएका जिल्ला सभापति लामाले आफूमाथि लागेका आरोपबारे प्रष्टीकरण दिएपछि दुई पक्षबीच भनाभन सुरु भएको र त्यसले झडपको रुप लिएको कांग्रेस सिन्धुपाल्चोक जिल्ला सचिव बिलबहादुर तामाङले जानकारी दिए ।
झडपपछि कार्यक्रमका सहभागीबीच भागभाग मच्चिएको थियो । कार्यकर्ताबीच विवाद भएपछि कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले सम्झाउने प्रयास गरे पनि कार्यकर्ता थप उत्तेजित बन्दै कुटपिटमा उत्रिएका थिए ।