मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

रोमाञ्चक खेलमा सनराइजर्सलाई हराउँदै दिल्ली आईपीएलको दोस्रो क्वालिफायरमा

बिहिबार, बैशाख २६ २०७६

काठमाडौं, २६ वैशाख ।नेपाली बलर सन्दीप लामिछाने सम्मिलित टिम दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आईपीएलको दोस्रो क्वालिफायरमा पुगेको छ । बुधबार राति भएको एलिमिनेटर खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई २ विकेटले हरायो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ६२ रन बनायो । उसका लागि मार्टिन गप्टिलले ३६ तथा मनिश पाण्डेले ३० रन बनाए । यस्तै कप्तान केन विलियम्सनले २८ र विजय शंकरले २५ रन थपे । यस्तै मोहम्मद नावीले २० रन बनाए ।

नेपाली बलर सन्दीप लामिछानेबिना नै मैदानमा उत्रिएको दिल्लीका लागि बलिङमा कीमो पउलले तीन तथा इसान्त शर्माले दुई विकेट लिए ।

जवाफमा दिल्लीले १९ ओभर ५ बलमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

निकै बलियो सुरुवात गरेको दिल्लीले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेको थियो । तर शिखर धवन आउट हुँदा ६६ रन बनाएको दिल्लीले त्यसपछि अरु ४७ रन जोड्दा थप ४ विकेट खेर फाल्यो । त्यसमा पनि अफगानिस्तानी बलर रासिद खानले एकै ओभरमा दुई विकेट लिएपछि खेलमा हैदरावादले दबाब दिएको थियो ।

दिल्लीका लागि पृथ्वी शले ५६ रन बनाउँदा शिखर धवनले १७ तथा कोलिन मुर्नोले १४ रन बनाए । दिल्लीका लागि अक्षर पटेलले खाता खोल्न सकेनन् भने कप्तान श्रेयस अय्यरले ८ रनमात्र बनाए ।

एक समय दिल्लीका लागि २१ बलमा ४१ रन चाहिएकोमा ऋषभ पन्तले बसिल थप्मीको ओभरमा २१ रन प्रहार गर्दै टिमलाई खेलमा फर्काए । उनले थम्पीको ओभरमा दुई चौका र दुई छक्का प्रहार गरे । तर पन्त २१ बलमा ४९ रन बनाउँदै आउट भए । जसमा दुई चौका र ५ छक्का सामेल थियो ।

अन्तिम तीन बलमा दुई रन चाहिएको अवस्थामा दिल्लीले अर्को विकेट गुमायो । अमित मिश्रा क्रिकेटमा विरलै प्रयोग हुने अब्सट्रक्टिङको नियमका आधारमा आउट भए । तर अन्तिममा कीमो पउलले चौका प्रहार गरेर टिमलाई जित दिलाए ।

अब दिल्लीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा चेन्नईसँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार