काठमाडा(जस)–प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलपश्चात् सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले गैरसंसदीय भाषा बोलेको आरोप लगाउँदै विरोध जनाएको छ । काङ्ग्रेस संसदीय दलले संसद्को गरिमामा आँच आउने खालका अभिलेख संसद्को रेकर्डबाट यथाशीघ्र हटाउन र गरिमामय ढङ्गले संसद् सञ्चालन गर्न आग्रह गरेको छ । काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सभामुखले संसद्को गरिमाको रक्षाका लागि निर्णायक भूमिका निर्वाह गनुपर्नेतर्फ ध्यानाकर्षण गराएका छन् ।
संसदीय इतिहासमै नभएको घटना : गगन थापा
नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महराले संसदीय मर्यादा कायम राख्न नसकेको आरोप लगाएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले असंसदीय भाषा प्रयोग गर्दा पनि सभामुख भूमिकाविहिन अवस्थामा रहेको उनले बताए । प्रधानमन्त्रीले आक्रोश, कुण्ठा र निम्छरो अभिव्यक्तिलाई छोडेर अन्यको जवाफ दिन्छु भनेपछि आफूहरुले नियमापत्ति गर्दै असंसदीय भाषा प्रयोग भएकाले रेकर्डबाट हटाउन रुलिङ गर्न माग गर्दा उल्टै प्रधानमन्त्रीकै जवाफलाई निरन्तरता दिएर सभामुखले आफ्नो निरिहता देखाएको टिप्पणी उनले गरे ।
बैठकपछि संघीय संसदभवनमा संचारकर्मीसँग संंक्षिप्त प्रतिक्रिया दिँदै नेता थापाले सभामुख सभामुखको भूमिकामा नभई प्रधानमन्त्रीको आदेश पालक बनेको दाबी गरे । उनले भने, ‘फेरि एक पटक संसदको सभामुख सभामुखको जिम्मेवारी निर्वाह गर्न सक्नुभएको छैन । व्यवस्थापिकाको प्रमुख भएर होइन कार्यपालिकाको छाँया प्रधानमन्त्रीको आदेशपालकको रुपमा उनको भूमिकामा रहनुभएको छ भन्ने पुनः पुष्टि गर्नुभएको छ ।’
उनले प्रधानमन्त्रीको भुमिका प्रतिपनि असन्तुष्टि जनाए । ‘तिमीले प्रयोग गर्यौ । त्यसकारणले गर्दा मैले पनि प्रयोग गर्छु । म सँग कुस्ती खेल्ने हो ?’ भन्ने ढंगबाट प्रधानमन्त्री प्रस्तुत भएको टिप्पणी उनले गरे ।
नेपालको संसदीय इतिहासममै नभएको घटना मंगलबार संसदमा देखिएको भन्दै उनले त्यसबारे पार्टीले गम्भीर छलफल गर्ने बताए । उनले भने, ‘सरकारले कुनै पनि निकायको मान राख्दैन भन्ने थप पुष्टि भएको छ । यसबारे हामी छलफल गर्छौं । तर यो समान्य घटना होइन । आज जुन घटना भयो । प्रधानमन्त्रीले जस्तो व्यवहार गर्नुभयो । सभामुख जसरी निरिह हुनुभयो । यो नेपालको संसदीय इतिहासको सानो घटना होइन ।’