मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

एनआरएनए ओसेनिया क्षेत्रीय सम्मेलन सिडनीमा शनिबारदेखि हुँदै, सम्मेलनको सम्पूर्ण तयारी पूरा

मंगलबार, बैशाख २४ २०७६

सिड्नी (जस)–गैरआवासीय नेपाली संघ (एनआरएन) तेस्रो ओसेनिया क्षेत्रीय सम्मेलन यही शनिवारदेखि अष्ट्रेलियाको सिडनीमा आयोजना हुने भएको छ । ‘इन्भेष्मेन्ट, इन्नोभेसन र टुरिजम’ मूल नारा राखिएको सम्मेलन यही आउँदो मे ११ र १२ मा हायात रेजेन्सी, डार्लिङ हार्बर सिडनी, अष्ट्रेलियामा हुने गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्का ओसेनिया संयोजक धर्मराज अधिकारीले बताए । ‘म एनआरएनए अष्टे«लिया महादेश संयोजकको हैसियतले यस्तो महत्वपूर्ण भेलाको खबर दिन पाउँदा अत्यन्तै खुसी छु । ओसिनिया क्षेत्रीय सम्मेलन भन्नाले नै यो ओसिनिया क्षेत्रको सम्मेलन हो र यो सम्मेलनमा यो क्षेत्रको बारेमा चर्चा र विशेष छलफल हुनेछ,’ अधिकारीले भने ।
सम्मेलनमा एनआरएनएका विशिष्ट पदाधिकारी तथा नेपाल सरकारका कानून मन्त्री भानुभक्त ढकाल, अस्ट्रेलियाका अध्यागमन मन्त्री डेबिड कोल्म्यान तथा व्यवसायीहरुको सहभागिता हुने संयोजक धर्मराज अधिकारीले बताए । एनआरएनका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त र कुल आचार्य, महासचिव बद्री केसीलगायत सम्मेलनमा आउने निश्चित भइसकेको पनि अधिकारीले बताए । सम्मेलनमा विभिन्न बुद्धिजीबीहरुले कार्यपत्रहरु पेश गर्ने र त्यसमाथि ब्यापक बौद्धिक तथा व्यवहारिक बहस हुने आयोजकले बताए । सम्मेलनमा क्यानाडाबाट डा प्रमोद ढकाल, अमेरिकाबाट डा अम्बिका अधिकारी, अस्ट्रेलियामा क्रियाशील डा राजु अधिकारी, डा कुश श्रेष्ठ, डा कृष्ण हमाललगायतले विभिन्न बिषयमा कार्यपत्र पेश गर्ने र सम्मेलनका निष्कर्षहरू नेपालका लागि निकै उपयोगी हुने संयोजक अधिकारीले बताए ।

नेपालमा अहिले स्थिर सरकार भएकाले विकासका निम्ति उपयुक्त बाताबरण बनेको र अब प्रवासी नेपालीहरुले योगदान गर्न सक्नेबारे सम्मेलनमा ब्यापक छलफल हुने उनले बताए । ‘सम्मेलनमा गैरआवासीय नेपालीहरुका इस्युबारे पनि छलफल हुनेछ जसमा संस्थागत शुद्धीकरण र नेपालमा भएको लगानी सुरक्षण मुख्य बिषय छन्’ संयोजक अधिकारीले भने । सम्मेलनमा न्युजिल्याण्ड, भानुवाटुलगायतका देशबाट पनि प्रतिनिधि आउने छन् । अस्ट्रेलियालगायत न्युजिल्याण्ड, पपुवान्युगिनी, भानुवाटु लगायत देशमा एनआरएनका संगठन बनेका छन्, जसको नेतृत्व ओसेनिया क्षेत्रीय समितिले गर्छ ।


सम्मेलनबाट एनआरएन अन्तर्राष्ट्रिय समितिको चुनावी चहलपहल बढ्ने तथा नेपालले अस्ट्रेलियामा एकपटक फेरि नेपालमा प्रबासीहरुलाई लगानी गर्न आकर्षित गर्न सक्ने बताइएको छ । सम्मेलन नेपाल सरकार र यहाँ स्थित निकायहरुले नेपाल प्रबर्धन गर्ने यो अर्को अवसर हुनेछ ओसिनिया क्षेत्रीय सम्मेलनमा यो क्षेत्रका उपलब्धि, अवसर, समस्या र आगामी दिनकालागि योजना कार्ययोजनाबारे विशेष चर्चा र छलफल गर्ने अधिकारीले बताए । ‘ओसिनिया क्षेत्रीय सम्मेलनको मुख्य उद्देश्य भनेको नेपाललाई समृद्ध बनाउन कसरी एनआरएनएले बढीभन्दा बढी लगानी, आविष्कार र पर्यटक भित्र्याउन सकिन्छ भनेर विशेष छलफल गर्ने हो । अर्थात, काम गर्ने सिलसिलामा विदेशिएका नेपालीहरूले विदेशमा सिकेको ज्ञान, सिप, क्षमता, अनुभव, शिक्षा र कमाई लाई कसरी नेपालमा बृहत्तरुपमा लैजाने भन्नेबारे वृहत् बहस र विमर्श सम्मेलनमा हुनेछ । समग्रमा, नेपालको समृद्धिमा कसरी हातेमालो गर्ने भन्ने बारे नै बृहत् छलफल हुने हो । त्यसर्थ, हाम्रो भेलाको मूल नारा नै ‘सधैँ सबैको लागि र समृद्ध नेपालकालागि गैरआवासीय नेपाली’ भन्ने छ । साथै, सम्मेलनमा नयाँ कार्यसमिति चयनलगायतका विषयहरु पनि छन्’ अधिकारीले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार