काठमाडौं, २१ वैशाख । आज मातातीर्थ औंसी, आजका दिन जन्म दिने आमालाई सम्मान गर्दै आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ ।
जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभ आशीर्वाद थाप्ने दिनका रूपमा आजको दिनलाई लिइन्छ । वैशाख कृष्णपक्ष औंसीको दिनलाई नेपालीले मातातीर्थ औंसी अर्थात् मातृऔंसीका रुपमा समेत मनाउँछन् ।
छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाइदिने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।
आमा नहुनेहरूले वैशाख कृष्णपक्षको औंशीतिथीमा स्नान गरेर तर्पण दिने वा श्राद्ध गर्नाले दिवंगत आमाको आत्माले शान्ति पाउँछ भन्ने धार्मिक विश्वास रहेकोछ ।
नेपालका सनातनीहरुले पहिले पहिले आमाको मुख हेर्ने भनेर यसरी उत्सव जसरी नै मनाउने चलन थिएन । नेपालको सांस्कृतिक इतिहास हेर्न हो भने नेपाली समाजमा आमाको मुख हेर्ने भन्ने संस्कृति नेवारी परम्पराबाट सुरु भएको पाइन्छ ।
शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । उनका अनुसार पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान रहेको छ ।
काठमाडौंको पश्चिमी भेगमा रहेको चन्द्रागिरि नगरपालिकामा रहेको थानकोट नजीकैको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको शनिबार बिहानैदेखि घुईंचो लागेको छ ।