काठमाडौं(जस)– नेपाल पत्रकार महासंघले राजधानी काठमाडौँमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताका लागि ऐक्यवद्धता र्याली गरेको छ । २६ औ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासघंले बुधबार बिहान बबरमहल देखि नयाँवानेश्वरसम्म प्रभात फेरी निकालेको हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि अघि बढाएको महासंघको अभियानमा पत्रकार, पेशाकर्मी नारिक अधिकारकर्मी, बुद्धिजीवी, युवा, विद्यार्थी तथा श्रमजीवीहरु सहभागी भई ऐक्यवद्धता जनाएका थिए । प्रभातफेरीमा महासंघका उपत्यकाका तीनवटै जिल्ला शाखा, उपत्यका प्रदेश कमिटी लगायतमा आवद्ध पत्रकारहरु ब्यानरसहित सहभागी भएका थिए ।
र्यालीपछि नयाँबानेश्वरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रता, लोकतन्त्र र नागरिक अधिकारको अभियानमा महासंघ अझै खरो ढंगले उत्रनुपर्ने आवश्यकता औल्याए । उनले सञ्चार क्षेत्रलाई संघीय ढाँचामा लैजान सिंगो संचार क्षेत्रको पुनसंरचना आवश्यक रहेको बताए । त्यसैगरी ३ वटै तहले बनाउने नीति तथा कानूनहरुलाई प्रेस स्वतन्त्रता मैत्री बनाउनका लागि महासंघले पहल गर्नुपर्ने आवश्यकता औल्याए ।
अहिले पनि सञ्चार क्षेत्रमा संघीयता नआएको भन्दै उनले संचार सम्बन्धी कानूनलाई प्रेस स्वतन्त्रतामुखी बनाउन सबै तहका सरकारको ध्यानाकर्षण गराए । ‘जब जब देशमा लोकतन्त्र माथि संकट पर्छ । पत्रकार महासंघ लोकतन्त्रविना प्रेस स्वतन्त्रता संभव छैन भन्ने मान्यता राख्छ र लोकतान्त्रिक आन्दोलनमा संगसंगै लोकतान्त्रिक दलहरुसंग सडकमा पनि उत्रन्छ । यो पत्रकार महासंघको इतिहास हो’ अध्यक्ष आचार्यको भनाई छ । स्वतन्त्रतापूर्वक लेख्न र बाँच्न देउ भन्दै महासंघ पटक पटक सडकमा आएको स्मरण गराउदै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको हक हितका लागि महासंघ अहिले पनि सडकमा आउन तयार रहेको बताए । राजधानी काठमाडौं बाहिर ७ वटै प्रदेशका राजधानी रहेका शहरमा पनि प्रेस तथा अभिव्यक्ति स्वन्त्रताका लागि ऐक्यवद्धता र्याली निकालिएको माहासंघले जनाएको छ ।