काठमाडौं(एजेन्सी)– ऋषि कपुर पछिल्लो सात महिनादेखि न्यूयोर्कमा आफ्नो उपचार गराइरहेका छन् । ऋषिले आफूलाई के रोग लागेको छ भनेर खासै जानकारी दिएका थिएनन् । तर हालै उनका साथी र फिल्म निर्माता राहुल रवैलले आफ्नो फेसबुक पोष्टमार्फत् उनी क्यान्सरमुक्त भएको घोषणा गरेका छन् । रवैलले मंगलबार अफ्नो पोष्टमा ऋषिसँगको फोटो सेयर गर्दै लेखे, ‘ऋषि कपुर (चिन्टु) ले क्यान्सरबाट मुक्ति पाएका छन् । ’
रणबीर र नितूको पोष्टले यसअघि नै क्यान्सरको संकेत दिएको थियो ः यसअघि ऋषिकी श्रीमती नीतू सिंहले आफ्नो पोष्टमार्फत् उनलाई क्यान्सर भएको संकेत दिएको थियो । उनले नयाँ वर्षको मौकामा आफ्नो इन्स्टाग्राम अकाउन्टमा पारिवारिक फोटो सेयर गर्दै लेखेकी थिइन्, ‘ह्याप्पी २०१९, यो वर्ष कुनै संकल्प छैन आशा मात्र गर्छु । संसारमा कम ट्राफिक प्रदुषण होस् । आशा गर्छु कि भविष्यमा क्यान्सर एउटा रोग नभई एउटा राशीको मात्र नाम होस् ।’
यस्तै, उनका छोरा रणबीर कपुरको एउटा फोटो हेरेर ऋषि कपुर क्यान्सरसँग जुधिरहेको अनुमान लगाइएको थियो । केही समयअघि रणबीरले न्यूयोर्कमा आफ्ना एक प्रशंसकसँग फोटो सेयर गरेका थिए । रणबीर जहाँ उभिएका थिए त्यसको ठिक पछाडि क्यान्सर सेन्टर थियो । उनी आफ्नो पितासँग भेट्न गएको धेरैले अनुमान गरेका थिए ।