काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दोषीमाथि कारबाही गर्न माग गरेको छ । ांग्रेसले बुधबार प्रेस नोट जारी गर्दै बालुवाटारको जग्गा लगायतका विषयमा ‘आवाज घनीभूत बनाइने’ उल्लेख गर्दै यस प्रकरणलाई राष्ट्रव्यापी रुपमा आवाज घनिभूत तुल्याउने जनाएको छ । कांग्रेसले वैशाख २५ गतेदेखि ‘राष्ट्रिय जागरण अभियान’ गर्दै छ ।’ बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको गम्भीर विषयप्रति कांग्रेसले सार्वजनिक रुपमा आपत्ति व्यक्त गर्दै आएको तथ्य सर्वविदितै छ’, प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘अभियानमा यस्ता सबै खाले विसंगतिका विरुद्ध राष्ट्रव्यापी रुपमा आवाज घनिभूत तुल्याइँदैछ ।’
गत वैशाख १६ गते प्रतिनिधिसभा बैठकमा सभापति शेरबहादुर देउवाले बालुवाटार प्रकरणबारे बोलेको स्मरण गराउँदै प्रेस नोटमा भनिएको छ( ’उहाँले पार्टीका तर्फबाट कडा अभिमत व्यक्त गरिसक्नु भएको छ । कांग्रेस सो प्रकरणमा गहिरो छानवीन गरेर दोषीलाई दण्डित गरिनुपर्नेमा एकमत र प्रष्ट छ ।’ काँग्रेसले भनेको छ, ’बालुवाटारको जग्गा को व्यक्तिका नाममा, कसरी पुग्यो, को संलग्न थिए र छन् भन्ने विवरण तथ्य प्रमाणका साथ सार्वजनिक भैसकेको छ ।’ विज्ञप्तिमा,’दोषीलाई जोगाउने, ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढंगले गरिने कर्म र प्रचारप्रति सजग हुन’ भनिएको छ । बालुवाटार जग्गा प्रकरणमा गहिरो र गम्भीर छानवीन गरी दोषीमाथि कारबाही गर्न कांग्रेसले माग गरेको छ ।
बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल लगायत मुछिएको सार्वजनिक भएपछि यसा छानबिनको माग उठेको छ । २०२१ सालमै सरकारले अधिग्रहण गरेको ललिता निवासको ११३ रोपनी जग्गा व्यक्तिको नाम फिर्ता भएको छ ।
काँग्रेसको विज्ञप्तिमा भनिएको छ, ’तथ्यको जगमा सत्यको खोजी र दोषीमाथि कार्वाहीका लागि आम नागरिकको सजगता, संचार माध्यमहरुको निष्पक्ष प्रखरता, अनुसन्धानकर्मिहरुको इमानदारीतासंगै प्रतिपक्षको दबाब र सरकारको ईमान्दार विवेक यतिबेला परिक्षाको कसिमा छ । नेपाली कांग्रेस बालुवाटार जग्गा प्रकरणमा गहिरो र गम्भीर छानबिनका साथ कुनैपनि मोलाहिजा वेगर दोषीमाथि कार्वाहीको माग पुन दोहोर्याउन चाहन्छ ।’