आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नेपाल एकिकरण र नेपाली सेनाको सम्बन्ध अन्योन्याश्रित : प्रधानमन्त्री ओली

बिहिबार, चैत्र २८ २०७५

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एकिकरण र नेपाली सेनासँगको सम्बन्ध अन्योन्याश्रित रहेको बताएका छन् । सैनिक अधिकृतहरुको दिक्षान्त समारोहलाई आज खरिपाटीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए ।

प्रधानमन्त्री ओलीले राजा पृथ्वीनारायण शाहको नेतृत्वमा थालिएको र अनेकौं नायकहरुको नेतृत्वमा अघि बढाएको राष्ट्रिय एकिकरण अभियानबाट नेपाली सेनाले खण्डित भूगोललाई एकिकृत गरी नेपाल निर्माण गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता र राष्ट्रिय हितहरुको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले विगत देखि नै उल्लेखनीय कार्य गरेको स्पष्ट पारेका छन् ।

“नेपाली सेना सदैव संवैधानिक सरकारको मातहत र निर्देशनमा आफूलाई व्यवसायीक र मर्यादित संगठनको रुपमा स्थापित गर्दै आएको छ ” प्रधानमन्त्री ओलीले भने,“आफ्नो विशिष्ट सांगठनिक क्षमताका आधारमा देशभित्र विपद् व्यवस्थापन,राष्ट्र निर्माणका कार्यहरु, नागरिक सैनिक सम्बनध बिस्तार र राष्ट्रिय संकटमा नेपाली जनताप्रति बफादार रही नेपाली सेनाले काम गर्दै आएको छ ।”

प्रधानमन्त्री ओलीले लामो अस्थिरतापछि देश अहिले स्थायीत्वको जगमा सुदृढ सुव्यवस्था र तीब्र विकासको बाटोबाट अघि बढेको बताए । “समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पारी राष्ट्र विकास गर्ने हाम्रो संकल्प रहेको छ ” प्रधानमन्त्री ओलीले भने, “विकासका लागि सुरक्षा र सुरक्षा सुदृढिकरणका लागि विकास अपरिहार्य छ ।”

प्रधानमन्त्री ओलीले देशमा विद्यमान सुरक्षा चुनौती तथा भविष्यमा समेत उत्पन्न हुन सक्ने विसवध सुरक्षा खतराहरुको सामना गर्न नेपाली सेना र आन्तरिक शान्ति सुरक्षासँग सम्बद्ध सुरक्षा निकाय समेत सदैव सजग र सतर्क रहनु पर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार