काठमाडौं (जस)– साउदी अरबमा ज्यान गुमाएका कामदारका परिवारलाई क्षतिपूर्ति लिन साउदीस्थित नेपाली दूतावासले सूचना जारी गरेको छ । दूतावासले साउदीमा मृत्यु भएकाहरूको तलबभत्ता र ब्लड मनि लिन आउन सूचना जारी गरेको हो । वैदेशिक रोजगारीका क्रम विभिन्न कारणले ज्यान गुमाएका मृतक नेपाली नागरिकको परिवारले क्षतिपूर्ति बापत बिमा रकम, कामदारको बाँकी तलब, सेवा पश्चात् पाउने रकम र सम्बन्धित कम्पनीबाट प्राप्त सहयोग रकम पाउँछन्। यस्तो रकम विदेश स्थित नेपाली राजदूतावासले नेपाल स्थित परराष्ट्र मन्त्रालयमा पठाउदै आएको छ।
यसैक्रममा रोजगारीको सिलसिलामा साउदी अरबमा हुँदा विभिन्न कारणले ज्यान गुमाएका नेपालीका आफन्तलाई सरकारले क्षतिपूर्ति तथा कम्पनीबाट प्राप्त रकम दिन लागेको हो । साउदी अरब स्थित नेपाली दूतावासले मंगलबार एक सूचना जारी गर्दै कामदारहरूले साउदी अरबमा रहँदा काम गरेको अवधिको तलबभत्ता, ब्लड मनिसमेत गरेर कुल ३३२,१०७ साउदी रियाल परराष्ट्र मन्त्रालयको खातामा पठाइसकेको जानकारी गराएको छ। दूतावासको उक्त जानकारीमा २७ जना मृत कामदारको नाम, जिल्ला, राहदानी नम्बर र पाउने रकम(साउदी रियालमा) समेत खुलाइएको छ।
