काठमाडौं(जस)–नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । शनिबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । शीर्ष नेताहरुबीच कार्यसम्पादन समितिमा भागबन्डा नमिलेपछि सभापति शेरबहादुर देउवाले बैठक स्थगित गरेका हुन् ।
सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति गठनका विषयमा सहमति जुटेको बताइएपनि सो सहमतिमा नेता कृष्णप्रसाद सिटौलाले असहमति जनाएका छन् । दुवै पक्षले आ–आफ्ना तर्फबाट सदस्यको नाम पनि टुंग्याउन सकेका छैनन् । सभापति देउवा क्षेत्रीय भेलाको उद्घाटन गर्न पोखरा पुगेका छन् । दलका केन्द्रीय कार्यसम्पादन समिति गठनका लागि थप छलफल गर्न आवश्यक रहेको हुँदा आजको बैठक स्थगन गर्नुपरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । काँग्रेसे बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र समसामयिक विषयमा निर्णय गर्ने अपेक्षा गरिएको थियो । नेपाली काङ्ग्रेसका २८ केन्द्रीय विभाग रहेकामा तेह्रौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि केन्द्रीय विभाग हालसम्म गठन हुन सकेका छैनन् । केन्द्रीय सभापतिको अध्यक्षतामा पदाधिकारी स्वतःपदेन सदस्य हुने र केन्द्रीय कार्यसम्पादन समिति पदाधिकारी बाहेक २२ सदस्य रहनेछ ।
बैठक स्थगित भएपछि सन्चारकर्मीहरुसित कुरा गर्दै सभापति देउवापक्षीय केन्द्रीय सदस्य महेन्द्र यादवले कार्यसम्पादन समिति गठनमा शीर्ष नेताहरुबीच अझै कुरा मिल्न नसकेको बताए । सभापति देउवाले सहमतिमै समिति गठनका लागि प्रयास गरिरहेको उनको भनाइ छ । कांग्रेसको नयाँ विधानमा २८ ओटा विभाग गठन गर्ने व्यवस्था गरिएको छ । तर, सभापति देउवाले ती विभाग गठन गर्न नसकेको वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्षको आरोप छ । विभाग गठनका लागि देउवामाथि दबाब परेपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अनुशासन समिति, निर्वाचन समिति यसअघि नै गठन गरिसकेको छ ।
सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार केन्द्रिय कार्य सम्पादन समिति गठनका विषयमा सहमति जुटेको बताए पनि सो सहमतिमा नेता कृष्णप्रसाद सिटौलाले असहमति जनाएका थिए । कांग्रेसमा अहिले सभापति, दुई उपसभापति, दुई महामन्त्री, एक सहमहामन्त्री, एक कोषाध्यक्ष र प्रवक्ता पदाधिकारी छन् । कांग्रेसले यसअघि पनि कार्यसम्पादन समिति गठन गरेको थियो ।
तर, पार्टीभित्रै विधानविपरित धेरै संख्या रहेको भनी आलोचना भएपछि विघटन भएको थियो । यसैगरी बैठकले पार्टी विधानअन्र्तगतको नियमावली बनाउन ढिलाइ हुने देखिएपछि पार्टीको क्रियाशील सदस्यता वितरणका लागि आवेदन फारमको ढाँचा पनि स्वीकृत गर्ने, विभिन्न भ्रातृ संस्थाको विधानसमेत पारित गर्ने तयारी गरेको छ । चैत ५ गतेको केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा नियमावली संशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिमा मीन विश्वकर्मा, जीवन परियार, ईश्वरी न्यौपाने र प्रदीप पौडेल सदस्य छन् ।
गुट–उपगुट अन्त्य हुनुपर्छ : डा कोइराला
भादगाउँ(जस)–नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेसभित्रको गुट उपगुट अन्त्य हुनुपर्ने बताउका छन् । नेपाली काङ्ग्रेस मध्यपुरथिमि नगरसमितिले नयाँ वर्ष २०७६ तथा प्रसिद्ध बिस्काःजात्राको अवसरमा छ्वासटोलमा शनिबार आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले भने, “काङ्ग्रेस एकताबद्ध भएर अघि बढेमा आगामी निर्वाचनमा मुलुकको ठूलो दल बन्न कसैले रोक्न सक्दैन् ।” “बिपीले देखाएको बाटो काङ्ग्रेसले विर्सन हुन्न”, महामन्त्री डा कोइरालाले भने, “राष्ट्रिय मेलमिलापको नीति अङ्गालेको काङ्ग्रेसभित्र नै मेलमिलाप नहुन दुःखद हो ।”
उनले सरकारको गतिविधि सङ्घीयता विरोधी भएको आरोप लगाउँदै “मुलुक अप्ठ्यारो अवस्थामा पुगेको बेला दुई तिहाईको सरकार सबै अधिकार आफैं राख्ने प्रयत्न गर्देछ, जुन सङ्घीयता विरोधी छ, यसले सरकार सङ्घीयतामा विश्वास गर्दैन भन्ने देखाएको छ”, भने । सरकारको एकवर्षे कामको मूल्याङ्कन गर्दै महामन्त्री डा कोइरालाले भने, “सरकारको एकवर्षे कार्यकालमा धन्यवाद दिने खालको एउटा पनि काम भएको छैन । सरकारले काम गर्ने ठोस् योजना पनि प्रस्तुत गर्न सकेको छैन । मुलुकमा शान्ति सु–व्यवस्था हुनुको सट्टा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारका घटना वृद्धि भएका छन् ”
काङ्ग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय अनुशासन समितिका संयोजक भिष्मराज आङ्दम्बेले दुई तिहाइ बहुमतको सरकारले पनि आदिवासी जनजाति, मधेशी, थारु, महिलालगायतको असन्तुष्टिलाई सम्बोधन गर्न नसकेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य मान्यताको प्रवद्र्धनमा सररकार गम्भीर नभएको आरोप लगाउनुभयो । नगर समितिका सभापति सुरेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सभापति दुर्लभ थापाले निर्वाचनपछि निराश बनेका कार्यकर्तालाई पुनजाग्रित गराउन ‘जन जनमा काङ्ग्रेस, मन मनमा काङ्ग्रेस’ भन्ने मूलनाराका साथ काङ्ग्रेसले शुरु गरेको पुर्नजागरण अभियानले पार्टीलाई एकतावद्ध हुनमा अभिप्रेरित गर्ने बताए ।