काठमाडौँ(जस)–अहिले प्रदर्शनमा रहेको फिल्म ’ए मेरो हजुर ३’ को सफलतापछि अभिनेत्री, निर्देशक झरना थापाले अर्को फिल्मको घोषणा गरेकी छन् । यसअघि निर्माण हुने भनेर रोकिएको फिल्म ‘भागवत गीता’ बनाउने घोषणा गरेकी हुन् । झरना यो फिल्म ’ए मेरो हजुर २’ रिलिजपछि निर्माण गर्ने तयारीमा रहेपनि विभिन्न कारणले केही पछाडि धकलिएको थियो । झरनाले आधिकारिक फेसबुक पेजमा अनमोल र सुहानासँगको एक तश्बिर साझेदार गर्दै अंग्रेजीमा लेखेकी छन्, ’विथ माई भागवत गीता । यो सँगै फिल्मका लागि लिड कलाकार पनि फाइनल भएको बुझ्न सकिन्छ । झरनाको तेस्रो निर्देशनमा बन्ने यस फिल्ममा ’ए मेरो हजुर ३’ को सुपरहिट जोडी अनमोल केसी र सुहाना थापा दोहोरिने तय भएको हो ।
फिल्मलाई सुनिल कुमार थापाले निर्माण गर्नेछन् । केही दिनमा अभिनेत्री सुहानाको जन्मदिनमा फिल्मको औपचारिक निर्माण घोषणा गरिने भएको छ । ’ए मेरो हजुर ३’ पछि धेरै दर्शकले अनमोल र सुहानाको जोडी फेरि हेर्ने इच्छा व्यक्त गरेका थिए । अन्ततः ‘भागवत गीता’ मा दुईको जोडी बाँधिएको छ । यसमा अनमोल ’भागवत’ र सुहाना ’गीता’ को भूमिकामा प्रस्तुत हुने बताइएको छ ।