काठमाडौं, ११ बैशाख । गोरखाको शहीद लखन गाउँपालिका -७ का वडाध्यक्ष शरण श्रेष्ठले जनप्रतिनिधिबापत आफूले पाएको तलब र भत्ताले सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई किताब किनेर दिएका छन्।
वडाभित्रका पाँच वटा सरकारी विद्यालयका विद्यार्थीलाई २ लाख ८८ हजार रुपैयाँले अंग्रेजी विषयका किताब किनेर वडाध्यक्ष श्रेष्ठले वितरण गरेका हुन्।
सरकारले अन्य विषयका किताब नि:शुल्क उपलब्ध गराए पनि अंग्रेजी विषयका किताब भने विद्यार्थीले नै खरिद गर्नुपर्छ।
विद्यार्थी र अभिभावकलाई आर्थिक भार नपरोस् भनेर आफूले पाएको पारिश्रमिक र भत्ताले शहीद स्मृति माविमा ७० थान, चण्डिका आधारभूत विद्यालयमा ६७ थान, लखनथापा आधारभूत विद्यालयमा ५३ थान र खाब्दी र मकैपुर प्राविका विद्यार्थीलाई किताब उपलब्ध गराएको श्रेष्ठले जानकारी दिए।
वडाध्यक्ष निर्वाचित भएपछिका २१ महिनाको तलब, भत्ता श्रेष्ठले वडाभित्र शिक्षा, स्वास्थ्य र मन्दिर निर्माणमा खर्च गरेका हुन्। बालकक्षादेखि पाँच कक्षासम्मका विद्यार्थीलाई अंग्रेजी विषयको किताब खरिद गरी हस्तान्तरण गरेको उनले बताए।
राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेता, नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले विद्यार्थीलाई किताब हस्तान्तरण गरेका हुन्।
श्रेष्ठ नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए। वडाध्यक्ष भएपछि २१ महिनामा मासिक १८ हजारका दरले आएको तलब र ८० हजार भत्ता सामाजिक काममा खर्च गरेको श्रेष्ठले बताए।
वडाभित्रका सरकारी विद्यालय यसै शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा पढाइ हुने उनले बताए। तलबबाटै वडाभित्रका बासिन्दालाई उपचार खर्च पनि उपलब्ध गराएको श्रेष्ठको भनाइ छ। मृगौला रोगबाट पीडित नरबहादुर अधिकारीलाई ५ हजार, दलबहादुर आलेलाई ५ हजार उपलब्ध गराएको उनले बताए।