आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

अमेरिकामा पनि सञ्चार क्षेत्रमै निरन्तर काम गरिरहेकी छु

मंगलबार, बैशाख १० २०७६


अनिता सिलवाल
मिडियाकर्मी, नर्थ क्यारोलाइना अमेरिका

अनिता सिलवाल नेपाली मिडिया क्षेत्रमा नौलो होइन । चार वर्षको उमेरमा कलाकारिता क्षेत्र हुदैं न्यूज २४ टेलिभिजनबाट पत्रकारिता थालेकी सिलवाल समाचारवाचिका र कार्यक्रम प्रस्तोताका रुपमा चिनिन्छिन् । समाचारवाचन र उनको कार्यक्रम प्रस्तुतीकरण शैलीलाई धेरैले मनपराए । गत डिसेम्बर २०१८मा अमेरिकाको नर्थ क्यारोलाइनामा आयोजित ग्लोबल फिल्म, म्यूजिक, र मिडिया अवार्डमा सिलवालले उत्कृष्ठ उद्घोषिकाको अवार्डसमेत जितेकी थिइन् ।
सानो उमेरबाट टेलिभिजनको पर्दामा कलाकारिता, ग्लामरको दुनियाँ हुदैं समाचारवाचिका, कार्यक्रम प्रस्तोता र निर्माताका रुपमा स्थापित नाम हो अनिता सिलवाल । करिब एक दशक भन्दा लामो समय चलचित्र र टेलिभिजनको पर्दामा बिताएकी सिलवाल अहिले अमेरिकालाई आफ्नोे कर्मथलो बनाउदैं आइरहेकी छिन् । डाटा एनालेक्टिस्मा स्नातकोत्तरको पढाई सक्नै लागेकि सिलवाल डाटा जर्नालिजमको भविष्य राम्रो भएको बताउँछिन् । अमेरिकामा रहेर अध्ययन सँगसँगै उनले कार्यक्रम प्रस्तोताका रुपमा पनि कार्य गरिरहेकी छिन् । लगनशीलता र समय व्यवस्थापनलाई पहिचान बनाएर कार्य गरिरहेकी सिलवालले अमेरिकामा पनि कार्यक्रम प्रस्तोताको कार्यलाई निरन्तरता दिइरहेकी छिन् । हाल अमेरिकामा रहेर पनि उनले आफ्नो पत्रकारिता र उद्घोषणको यात्रालाई जारी राखेकी छिन् । यसै विषयमा सिलवालसँग गरिएको कुराकानी :
:

अमेरिकामा रहेर पनि आफ्नो कार्यलाई कसरी जारी राख्नुभएको छ ?
अहिले म यहाँ एक पत्रिकाका निम्ति कार्यक्रम सञ्चालकका रुपमा आबद्ध छु । केही समय अगाडि मात्रै चर्चित अमेरिकी मूर्तिकार फ्रोस्टी माएरस्, प्रसिद्ध रेस कार ड्राइभर हर्लि हेवुड, निर्मात्री डेब्बी माएरस्सँग अन्र्तवार्ता गरें । विभिन्न कार्यक्रमहरु सञ्चालनका साथै म ‘होमटाउन सिरोज’ भन्ने कार्यक्रम निर्माणमा लागिरहेकी छु ।

कस्तो कार्यक्रम हो यो र कहाँ प्रशारण हुन्छ ?
यो कार्यक्रम महिला वर्गलाई लक्षित गरेर निर्माण गरिएको छ । धेरै जसो बालबालिकाले प्रायजसो समाजमा नाम चलेको पात्रलाई आफ्नो रोल मोडल बनाउँछन् र त्यो व्यक्तिलाई भेट्न पाए कत्ति कुरा सिक्थें भन्ने सोचिरहेका हुन्छन् । यर्थाथता हेर्ने हो भने हाम्रै समाजमा कैयौं प्रेरणादायी जीवनहरु छन्, जसको भोगाई नयाँ पिढीका लागी हौसला बन्न सक्छ । यो कार्यक्रम हाल मूलतः अंग्रेजी भाषाको भएपनि केही भागहरु नेपाली महिलाहरुको कथा पनि समेटिएको छ । प्रशारण यही अवस्थित एक च्यानलसँग र नेपालमा केही संस्थाहरुसँग कुरा भइरहेको छ ।

विषेशगरि समाचार र राजनीतिक विषयवस्तुमा तपाईका कार्यक्रम केन्द्रित हुन्थे, के त्यस क्षेत्रमा रुचि घटेको हो?
म राजनीतिमा सानैदेखि चाख लिने मान्छे । नौ वर्षको उमेरमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगको केही भेटपछि ममा राजनीति प्रति चासो बढेको हो । अहिले पनि म विश्व घटना लगायत देशमा भइरहेका हरेक गतिविधिका बारे सचेत छु । न्यूज २४ मा पनि महिलाका विषयहरु जस्तै शारिरिक अधिकार, कन्या भू्रण हत्या, महिला माथिका हिसाँ आदि विषयमा कैंयन पटक प्रस्तुत गरेकी छु । विश्वमा महिलाहरुलाई प्रेरित गराउने उद्धेश्यले मात्र महिलाका विषयका कार्यक्रम ल्याएकी हुँ ।

महिलाका विषय मात्र उठाउदा समाजको अर्को वर्गमा नकारात्मक छाप पर्दैन ?
त्यसो भन्न मिल्दैन । महिलाका विषय उठाउदा पुरुषहरुले हाम्रो विषयमा पनि कुरा उठ्नुपर्छ भनिरहेका हुन्छन् । विषेशगरि इतिहास हेर्दा हाम्रो समाज धेरै लामो समय पुरुषप्रधान रह्यो । अहिले समानताका लागी महिलाहरु मेहेनत गर्दैछन्, त्यत्ति नै हो, यसमा नकारात्मक त केही छैन नि । मेरो विचारमा एक महिला सफल हुदाँ पुरुष र पुरुष सफल हुदाँ महिला पनि सफल हुन्छन् । हामी मिडियाकर्मीहरुले पनि सकारात्मक रुपले महिला पुरुषका समानताका विषयलाई जोड दिनुपर्छ ।

अमेरिकामा पनि यसै क्षेत्रमा लागेर काम गर्न कत्तिको सहज वा कठिन छ?
कुनै पनि काम सहज र कठिन त हुदैंन । निरन्तरको प्रयासले नै सिकिने हो । यहाँ चाहीँ मिडियामा धेरै कम्पिटिसन छ, चुनौती नि छन् र बलियो भविष्य पनि छ । नेटवर्किगंको पनि ठूलो महत्व छ । तपाईको संगतले पनि तपाईले गर्ने काममा असर गर्छ । मैले कठिनाई खासै भोगेको छैन, तर पनि मेहेनतन नगरे त सफल हुन सकिदैन नि । कामप्रति पूर्ण जिम्मेवारी लिने बानीले पनि मलाई हरेक काम सहज प्राय नै लाग्छ ।

नेपालमा तपाईको वाचन र प्रस्तुतिलाई लिएर हौसला र प्रेरणा लिनेलाई केही सन्देश?
सबैभन्दा पहिले जस्तोसुकै परिस्थितीमा पनि आत्मसम्मान र आत्मविश्वासलाई सदैब दृढ राख्नुस् । आफ्नो कामप्रति जिम्मेवार रहन सक्नुभयो भने स्वतन्त्रताको महसुस हुन्छ । गलत विषय छ भने आवाज उठाउनुस्, तपाईको आवाजले कसैको जीवन बदलन सक्छ । निरन्तरको प्रयास र सिक्ने प्रवृत्तिले तपाईमा निखारता ल्याउछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार