नेपालगञ्ज(जस)–राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार यहाँ आठांैँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गरेका छन् । राष्ट्रपति भण्डारीले बिहिबार साँझ नेपालगञ्ज रङ्गशालामा प्रतियोगिता शुरु भएको घोषणा गर्दै उद्घाटन गरेकी छन । प्रतियोगिता उद्घाटनअघि सहभागी ११ टोलीले मार्चपास गरेका थिए । सो अवसरमा विभिन्न जातजातिको वेशभूषासहितको सांस्कृतिक झाँकी प्रदर्शनी गरिएको थियो । राष्ट्रिय खेलकूद प्रतियोगिताका सदस्य सचिव केशवकुमार विष्टले स्वागत मन्तव्य राखेका थिए ।

उद्घाटन समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले नेपालको राष्ट्रिय झण्डासहित मार्चपास गरेका थिए । युवा तथा खेलकूदमन्त्री एवं प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्माले झण्डोत्तोलन गरेका थिए । सो अवसरमा खेलाडीका तर्फबाट जुडोका सोनु भट्ट तथा निर्णायकका तर्फबाट भारोत्तोलनका पूर्वखेलाडी समसुद्दीन सिद्धिकीले शपथ लिएका थिए । प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको गैरआवासीय नेपाली संघ(एनआरएनए) को टोलीले समेत मार्चपास गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकूदको विकास र खेलाडीको आवश्यकतालाई पूरा गर्न स्थानीय तहदेखि नै विशेष पहल गरिनुपर्ने बताइन । उनले सुविधासम्पन्न खेलकूदका पूर्वाधार विकास र विस्तार गर्नुपर्नेमा जोड दिइन । “सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प साकार पार्न खेलकूद क्षेत्रले मद्दत पु¥याउँछ भन्ने महसुस गरेको छु”, राष्ट्रपति भण्डारीले भनिन्, “यसबाट नागरिकको स्वास्थ्य तथा खेल पर्यटन र आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको छु ।”

खेलकूद प्रतियोगिता निर्धारित मितिमै आयोजना भएकामा खुशी व्यक्त गर्दै उनले केही वर्षदेखि नेपाली खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा हासिल गरेका उपलब्धि उत्साहप्रद रहेको उल्लेख गरिन । “राज्यले आफ्नो सीमित स्रोतसाधनका बाबजुद खेलकूदको विकासमा गरेको लगानीका कारण नेपाली खेलाडीमा प्रेरणा प्राप्त हुँदै प्रतिस्पर्धात्मक क्षमता बढेको महसुस गरेको छु”, राष्ट्रपति भण्डारीले भनिन्, “खेलाडीको वृत्तिविकासमा यथोचित ध्यान पु¥याउँदै खेलाडीको साथमा सधैँ राज्य छ भन्ने भावना अझ जागृत गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।”

सधैँ राष्ट्रिय झण्डा फहराएर देशको गौरव उँचो पार्न सक्षम खेलाडीले शिक्षा आर्जनमा समेत ध्यान पु¥याउनुपर्ने उल्लेख गर्दै उनले खेलकूदको जगका रुपमा रहेको विद्यालय तहदेखि नै खेलकूदमा विद्यार्थीको सहभागिता बढाएर देशलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन लाग्नुपर्नेमा जोड दिइन । “खेल क्षेत्रका नीति निर्माता र व्यवस्थापक खेलकूदको विकासमा केन्द्रित बन्नुपर्दछ”, उनले भनिन । ठूलो लगानीसहित नेपालगञ्जले राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्ने दोस्रो पटक अवसर पाएकाले यस क्षेत्रमा खेलकूदको पूर्वाधार विकास गर्न मद्दत पुगेको राष्ट्रपति भण्डारीले बताइन ।

खेलकूद प्रवद्र्धन तथा खेलाडीको क्षमता विकासमा महत्वपूर्ण योगदान पु¥याउने प्रतियोगिताको आयोजक राष्ट्रिय खेलकूद परिषद्का पदाधिकारीलाई राष्ट्रपति भण्डारीले धन्यवाद र खेलाडीलाई शुभकामनासमेत व्यक्त गरिन । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन समारोहलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल र राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्रतियोगिता सफलताको कामना गरेका थिए ।





