काठमाडौँ(जस)–आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस प्रतियोगिताको दोस्रो संस्करण शुरु भएको छ । आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आइएमई फाउन्डेसनको आयोजनामा गतवर्षदेखि हुँदै आएको प्रतियोगितामा यसपटक पोखरा बुटवल लगायत देशका अन्य स्थानबाट १ सय ११ जना प्रतिष्पर्धीहरू सहभागी हुनेछन् ।
तीन लाख छब्बिस हजार पुरस्कार राशीको उक्त एकल प्रतियोगिताको उदघाटन आइएमई फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, काठमाडौं टेनिस संघका उपाध्यक्ष गोपाल दास मानन्धर, गृह मन्त्रालयका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई र टेनिस संघका पूर्व अध्यक्ष हेम लामाले संयुक्त रुपमा सोमबार दशरथ रङ्गशालामा गरे । ८ वर्षदेखि १४ वर्षसम्मका वालबालिकाहरुले भाग लिने उक्त प्रतियोगिता शनिबारसम्म दशरथ रङ्गशालामा संचालन हुनेछ । आइएमई फाउन्डेसन आइएमई गु्रपद्वारा संचालित एक मुनाफा रहित परोपकारी संस्था हो । आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतका कार्यहरू यहि फाउन्डेसन मार्फत गर्दै आइरहेको छ ।