काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले नयाँ बर्ष २०७६ को शुभकामना दिदै राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि आफु सधै नेपाली जनताको साथमा रहेको बताएका छन् । नयाँ बर्षको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले एक विज्ञप्ति मार्फत शुभकाना व्यक्त गरेका हुन् ।
शुभकामना बक्तव्यमा पूर्वराजा शाहले भनेका छन्, विगतमा हामी सबैबाट जे जस्ता कमी कमजोरी भए, तिनको आत्म समिक्षा गरि मूलूकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठावान हूनू र एक्यबद्ध भएर अघि बढ्नुको विकल्प छैन ।’
उनले भनेका छन्, ‘ गतिशिल समयक्रमको प्रवाहसँगै अहिले हामी विक्रम सम्वत् २०७ मा आइपूगेका छौं । नयाँ बर्षको आरम्भ प्रहरमा हामी नेपाल भित्र र विश्वका विभिन्न भुभागमा रहे बसेका समस्त नेपालीहरुमा सूख, शान्ति तथा समून्नतिको लागि हार्दिक शूभकामना व्यक्त गर्दछौं ।’
विज्ञप्तिमा उनले यतिखेर हामीले वितेको निकट अतितका वर्षहरुको सूष्म समीक्षा गर्दै नवागत वर्षको स्वागत गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘हामीले अब केवल हिजो अस्तिको जस्तो समय बियाल्ने परिस्थितिलाई मात्र अंगालेर पूग्दैन ।’
उनले भनेका छन्, ‘जनताको घर दैलोमा हामी पुग्दा जनताका अनगिन्ती समस्या र दूर्दान्त पिडा रहेको पाएका छौं । लाखौ नेपाली काम, माम र दामका निम्ति विदेशी भुमिमा भौतारिनू पर्ने, देशमै शिक्षा, स्वास्थ्य एवं मानवोचित सूख र शान्ति प्राप्त हुन नसक्ने ? यस्तो नाजूक अवस्था अझै कति रही रहने ? स्वतन्त्र, सार्वभौम, स्वाधीन एवं मौलिक गौरवको विशेषता राख्ने हाम्रो यो देशलाई सदा स्वाभिमानी र गौरवशाली राख्न हामीले हाम्रा आफ्ना शास्वत आदर्शको ख्याल राख्नै पर्दछ ।’
उनले मूलूक प्रतिको आफ्नो आस्था र निष्ठा अडिग छ भन्दै देश सूहाउदो प्रजातान्त्रिक मुल्य मान्यतामा आधारित राजनिती, शक्ति पृथकीकरणको सिद्धान्त अनूरुप कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सञ्चालन हुनुपर्ने बताएका छन् ।
उनले नयाँ वर्ष साच्चिकै नयाँ रहोस भन्दै नयाँ वर्षले वास्तवमै हामीहरुका शोच र व्यवहारमा नौलो उज्यालो ल्याओस् भन्ने कामना गरेका छन् ।