zestkhabar

बुधबार, मंसिर १३ २०८०

  • बुधबार, मंसिर १३ २०८०
Janasawal - माइतीघरबाट बानेश्वरसम्म ३० दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा

माइतीघरबाट बानेश्वरसम्म ३० दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा

माइतीघरबाट बानेश्वरसम्म ३० दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा

युवा संघले राजधानीको माइतीघरमा मंसिर ७ गतेका लागि तोकेको प्रदर्शन तीनकुनेमा हुने


  • जनसवाल
  • सोमबार, मंसिर ४ २०८०
627
SHARES

काठमाडौं(जस)–जिल्ला प्रशासन कार्यालय काठमाडौँले पद्य्मोदय मोडबाट सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलाबाट बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । कार्यालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै ४ गतेदेखि ३० दिनसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न प्रशासनले निषेधात्मक आदेश जारी गरेको छ ।
एमालेको भातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते माइतीघरमा प्रदर्शन गर्ने तयारी गरिरहेका बेला काठमाडौं जिल्ला प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो । नेकपा एमालेबाट निष्काशित प्रसाई पछिल्लो समय राजतन्त्र र हिन्दू राष्ट्रका पक्षमा वकालत गर्दै आइरहेका छन् । उनले पछिल्लो समय एमालेका नेताहरुको कडा आलोचना गर्दै आएका छन् । एमाले नेता महेश बस्ने र व्यावसायी दुर्गा प्रसाईबीच पछिल्लो समय आलोचना र आरोप–प्रत्यारोप समेत चल्दै आएको छ ।
एक वा सोभन्दा बढी समूहद्धारा एकै मिति, समय र स्थानमा भेला भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रम आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवम् भिडन्त भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने कारणले माइतीघर मण्डलाबाट बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताए । आन्दोलन वा विरोधका कार्यक्रम गर्दा सो क्षेत्रमा रहेका सार्वजनिक सेवा प्रदायक निकायको कामकारवाही, सार्वजनिक सम्पत्ति संरक्षण एवम् सुरक्षामा प्रत्यक्ष नकारात्मक असर पर्न सक्ने र एम्वुलेन्स, दमकल तथा सार्वजनिक यातायात अवरुद्ध हुने अवस्था समेत भएकोले प्रशासनले निषेधित क्षेत्र तोकेको प्रजिअ बस्नेतले जानकारी दिए ।
मंसिर ७ मा हुने भनिएको नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहको विरोध प्रदर्शन माइतीघर र नयाँबानेश्वर क्षेत्रमा गर्न नदिइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै समूहलाई माइतीघर मण्डला र बानेश्वर क्षेत्रमा कार्यक्रम गर्न निषेध गरिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक सिडिओ रविन्द्रप्रसाद आचार्यले कुनै पनि समूहलाई मंसिर ७ गते माइतीघर र नयाँबानेश्वर क्षेत्रमा कार्यक्रम गर्न नदिइने निर्णय भएको जानकारी दिए । उनले दुवै समूहलाई बोलाएर माइतीघर र नयाँबानेश्वरमा प्रदर्शन गर्न नदिने निर्णय जानकारी गराएको बताएका छन् । ‘हामीले दुवै पक्षसँग संबाद गरेका छौं । उहाँहरूलाई एकै ठाउँमा कार्यक्रम गर्न नदिने जानकारी गराइसकेका छौं,’ उनले सुनाए ।
युवा संघ र दुर्गा प्रसाईले मंसिर ७ गते माइतीघर मण्डलामा कार्यक्रम गर्ने प्रचार गर्दै आएका छन् । दुई समूह एकै स्थानमा विरोध प्रदर्शन गर्दा सुरक्षा खतरा हुनसक्ने भन्दै प्रशासनले दुवैलाई अन्यत्र ठाउँ रोज्न भनेको हो । सहायक सिडिओ आचार्यले दुवै समूहका लागि विरोध प्रदर्शन गर्ने उपयुक्त स्थान तोकिने र प्रशासनले तोकिएको स्थानमा मात्रै विरोध प्रदर्शन गर्नुपर्ने बताए । ‘प्रशासनले तोकेको ठाउँमा विरोध प्रदर्शन गरे मात्र राज्यले पनि सुरक्षाको प्रत्याभूति दिनसक्छ । सुरक्षा खतरा हुने गरी कुनै पनि कार्यक्रम आयोजना गर्न दिँदैनौं,’ उनले भने । दुई समूहले फरक–फरक माग राख्दै एकै ठाउँमा प्रदर्शनको तयारी गरेपछि आइतवार पनि गृह मन्त्रालयका अधिकारीहरूले काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसहित सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए ।
प्रशासनिक निकायहरूले एउटै स्थानमा कार्यक्रम गर्ने बताएका ‘परस्पर विरोधी देखिएका’ दुई समूहबीच सम्भावित झडप रोक्न आवश्यक जस्तोसुकै कदम चालिने बताएका छन् । ‘दुवै पक्षलाई एउटै ठाउँमा प्रदर्शन गर्न दिने कुरा सम्भव हुँदैन । दुवै पक्षले कार्यक्रमस्थल एउटै तोकेकाले अहिलेबाटै विशेष सतर्कता अपनाइएको छ । सम्बन्धित पक्षसँग पनि छलफल गरेर यसलाई सहजीकरण गर्ने प्रयास हुन्छ’, गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने ।
यसैबीच नेकपा एमाले निकट युवा संघले राजधानीको माइतीघरमा मंसिर ७ गतेका लागि तोकेको प्रदर्शन तीनकुनेमा हुने भएको छ । स्थानीय प्रशासनले माइतीघरसहितका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि युवासंघले तीनकुनेमा प्रदर्शन गर्ने जानकारी दिएको हो । ‘राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको आयोजनामा मिति २०८० मंसिर ७ गते माइतीघर मण्डलामा युवा विद्यार्थी विशेष कार्यकम आयोजना गरिएको विषय सर्वविदितै छ । तर, नेपाल सरकारले माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा (सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म) गर्ने निर्णय गरेकाले हाम्रो निर्धारित कार्यकम सोही मिति र समय (बिहान ११ः०० बजे) मा काठमाडौँस्थित तिनकुनेमा हुने व्यहोरा जानकारी गराउँदछौं’, युवा संघका अध्यक्ष क्षितिज थेबेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सोही दिन दुर्गा प्रसाईं नेतृत्वको समूहले पनि राजधानीमा प्रदर्शन गर्ने भएपनि सरकारले पद्मोदय मोडदेखि माइतीघर हुँदै बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट