इराक,इराकको कुर्दिस्तान प्रान्तको सुलेमानी सहरमा एनआरएनए इराकले खुल्ला पुरुष फुटबल प्रतियोगिता आयोजना सम्पन्न गरेको छ । १७ नोभेम्बर शुक्रबारको दिन शुभ दिपावली र छठ पर्वको अवसर पारेर खेल आयोजना गर्ने एनआरएनए इराकले निर्णय गरेको थियो । सिटि एक्सप्रेस मनि ट्रान्सफर प्रायोजक,नेपाली रेस्टुरेन्ट एण्ड बार,एलेक्स होटल एण्ड बार सह-प्रायोजक रहेको प्रतियोगितामा कुर्दिस्तानका दुई ठुला सहर सुलेमानी र अर्बिलमा रहेको नेपालीहरुको फुटबल टिमहरुलाइ आमन्त्रणा गरिएको थियो । ६ टिमले सहभागीता जनाएको उक्त प्रतियोगितामा नेपाल युनिटी फुटबल क्लब अर्बिल, माउन्ट ८८४८ फुटबल क्लब दोकान,एकता फुटबल क्लब सुलेमानी ,योङ्ग स्टार फुटबल क्लब सुलेमानी,पुर्वेली भेट्रेन क्लब सुलेमानी र नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको सहभागिता रहेको थियो । प्रथम पुरस्कार ८,००,००० (आठ लाख दिनार) कप, मेडल प्रमाणपत्र ,द्वितीय पुरस्कार ४,००,००० (चार लाख दिनार) कप ,मेडल र प्रमाणपत्र सहित उत्कृष्ट तीन विधामा सर्वोत्कृष्ट गोल किपर, सर्वोत्कृष्ट खेलाडी र धेरै गोल गर्ने खेलाडीलाई सम्मान सहित विशेष कपहरुको ब्यबस्थापन गरिएको थियो । नकआउट विधीबाट खेलाइएको खेलमा नेपाल युनिटी फुटबल क्लब अर्बिल र माउण्ट ८८४८ फुटबल क्लबको फाइनलमा घमासन भिडन्त भएको थियो । ४-० को फराकिलो अन्तरमा अर्बिलका नेपाल युनिटी फुटबल क्लबले बिजय निकाल्दै प्रथम स्थान हासिल गर्न सफल रहेको थियो भने माउण्ट ८८४८ फुटबल क्लब द्वितीय स्थानमा चित्त बुझाउन परेको थियो र उत्कृष्ट तिनै विधामा नेपाल यूनिटी क्लब अर्बिलका खेलाडीहरुले कुशल खेल प्रदर्शन गरि हात पारेका थिए । गोल किपरमा अर्जुन राई ,बेस्ट प्लेयरमा सौरब मगर र खेल अवधीभर ५ गोल गरि उत्कृष्ट हाइ स्कोरर सुवास लिङ्खा जिमिले हात पारेका हुन ।
“स्वास्थ्यको लागि खेलकुद सहारा,आपसी दाजु भाइ भाइचारा” भन्ने नारा लिएर विदेशमा रहेको नेपालीहरु एक आपसमा समाजिक सद्भाव कायम होस, समाजिक सम्बन्ध स्थायित्व होस, भन्ने उदेश्यले संघले प्रतियोगिता आयोजना गरेको थियो। विशेष गरेर खेलकुदको माध्यमबाट इराकमा रहेका नेपालीहरुलाई समाजिक उत्तर दायित्व बहन गरि समाजिक कार्यहरुमा सहभागी गराउन कमिटीको मुख्य उदेश्य रहेको एनआरएन इराकको अध्यक्ष विनोद श्रेष्ठले बताए ।
गैर अवासीय नेपाली संघ रास्ट्रीय समन्वय परिषद इराकले प्रत्येक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्ने योजना बनाएको श्रेष्ठले बताए । यहि साल गठन भएको संघको बार्षिक कार्यतालिका अनुसार यो भने प्रथम प्रतियोगिता रहेको थियो ।