काठमाडौँ । इजरायलको किबुज अलुमिममा प्यालेस्टाइनी हमास समूहको आक्रमणमा मारिएका सबै १० जना नेपालीको शव पहिचान भएको छ । इजरायलस्थित नेपाली दूतावासले पछिल्लो पटक राजेश कुमार स्वर्णकार र आनन्द साहको शव पहिचान भएसँगै सबैको शव पहिचान सकिएको जानकारी दिएहो हो ।
पहिचान भएका सबै शवहरु आवश्यक प्रक्रिया पुरा गरी नेपाल पठाइने दूतावासले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसअघि आइतबार पनि दूतावासले पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव पहिचान भएको जानकारी दिएको थियो ।
सो घटनामा परी बेपत्ता भएका बिपीन जोशीको खोजी जारी रहेको बताइएको छ भने घाइतेमध्ये दुई जना डिस्चार्ज र दुई जना अझै अस्पतालमा उपचाररत छन् ।
हालसम्म मृतकमध्ये ४ जनाको शव नेपाल ल्याइसकिएको छ । गत कात्तिक ५ गते नेपालीहरुको शव स्वदेश ल्याइएको थियो । ती शव मृतकका आफन्तले बुझेर दाहसंस्कार गरिसकेका छन् ।
असोज २० गते हमासको अकस्मात हमलामा इजरालयमा प्रशिक्षार्थी कामदारको रुपमा कार्यरत १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । मृत्यु हुनेमा धनुषाका आनन्द साह, कैलालीका नारायणप्रसाद न्यौपाने, दार्चुलाका लोकेन्द्र सिंह धामी, सुनसरीका राजेश कुमार स्वर्णकार, बझाङका गणेश कुमार नेपाली, दार्चुलाका दीपेश राज विष्ट, डोटीका राजन फुलारा र पदम थापा तथा सल्यानका प्रवेश भण्डारी र कैलालीका आशिष चौधरी थिए । उनीहरुको मृत्यु पुष्टि भएपनि शव पहिचान हुन बाँकी रहेकाले हालैमात्र इजरायल सरकारले दूतावासलाई हस्तान्तरण गरेको हो ।
‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत् घटनाको एक महिना महिनाअघि मात्रै उनीहरु इजरायल पुगेका थिए । मध्ये दक्षिणी इजरायलमा पर्ने किवुज अलुमिम फार्ममा प्रशिक्षणरत रहेकै बखत उनीहरु प्यालेस्टिनी हमास समूहको आक्रमणमा परेको दूतावासको भनाइ छ ।
घटनामा परेका १७ जनामध्ये विधान सेजुवाल, हिमांचल कट्टेल, प्रविण डाँगी र धन बहादुर चौधरी घाइते भएका थिए । यस्तै विरेन्द्र चौधरी र प्रमोद केसी सकुसल रहेका थिए । सो घटनापछि सरकारले केही नेपालीको उद्दार गरेर स्वदेश ल्याइसकेको छ भने कतिपयलाई सुरक्षित स्थानमा सारिएको छ ।