गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को महासचिवमा दुई जनाको उम्मेदवारी परेको छ । अमेरिकाबाटै प्रतिनिधित्व गर्ने बुद्धि सुवेदी र गौरीराज जोशीको उम्मेदवारी परेसँगै यो पदमा को विजयी बन्ला बन्ने चासो सर्वत्र छ । महासचिवका प्रत्याशी बुद्धि सुवेदीसँग जनसवालले गरेको कुराकानीको सम्पादित सार–
एनआरएनए अमेरिकाको अध्यक्षपछि एकै पटक जम्प गरेर आइसिसी महासचिवको उम्मेदवारी दिनु भएको छ । के छ तपाईँको चुनावी एजेन्डा ?
तपाईँले जे सोध्नुभयो त्यो सबैको कौतुहलताको विषय हो । मलाई के लाग्छ भने हामी नामको लागि मात्रै जाने होइन, काम गर्नका लागि जाने हो । मेरो सिद्धान्त भनेको नै संस्थामा रहेर काम गर्नुपर्छ भन्ने हो । सोही अनुसार महासचिव पदमा उम्मेदवारी दर्ता गराएको हुँ ।
एनसीसी प्रेसिडेन्ट हुँदामैले धेरै नै राम्रो काम गरेको छु भन्ने सबैलाई थाहा छ । अब महासचिवमा गएर पनि संस्थालाई रूपान्तरण गरेर एक स्टेप अगाडि बढाउ मसँग भिजनहरू छन् । यही भिजनको आधारमा नै मैले महासचिवको उम्मेदवारी दर्ता गरेको हुँ ।
तपाईँले भनेजस्तै अरू विभिन्न पदहरू पनि छन्, ती पदमा बसेर पनि काम गर्न सकिन्छ । तर मलाई के लाग्छ भने जसलाई जुन पदमा बसेर काम गर्ने इन्ट्रेस्ट छ त्यो अनुसारको पद छान्दा व्यक्तिले आफ्नो कार्यमा सफलता हासिल गर्न सक्छ । महासचिव भनेको मेरो च्वाइस भएको पद हो ।
मैले महासचिव हुँदै गर्दा यो संस्थामा रहेका केही विकृति, विसङ्गतिहरू छन्, यसलाई न्यूनीकरण गर्दै संस्थालाई सबैको एकताको साझा भण्डार बनाउन लागिपर्छु । म त्यही अनुसार काम गर्नेछु ।
महासचिवमा अलि हतारो भएको होइन र?
होइन । हतारो त कसरी भन्नू र ? कुन ठाउँमा गए हतारो भन्ने र कुन ठाउँमा नगए हतारो नभन्ने विषय हो । मलाई सधैँ एक्टिभ पदमा बसेर काम गर्न मन पर्छ । यो पदमा बसेर संस्थालाई सुधार्न सक्छु भन्ने छ ।
चुनावपछिका भिजन र योजना केके छन् तपाईँका?
योजनाहरू छन्, धेरै कुरा त महासचिव भनेको अध्यक्ष जो बन्नुहुन्छ उहाँले ल्याउनु भएको कार्य योजनालाई इमानदारीपूर्वक पूरा गर्नु हो । त्यो भन्दै गर्दा महासचिवले पनि केही महत्त्वपूर्ण भूमिका त अवश्य हुन्छ । संस्थालाई कसरी लाने भन्ने विषयमा एउटा सोच पनि हुनुपर्छ । हामी अहिले एनसीसीहरुमुखी भएका छैनौँ । एनआरएनएहरूलाई साँच्चै नै सबैले स्वीकार गर्न सक्ने बनाउने हो भने सम्पूर्ण एनसीसीहरुलाई अधिकार सम्पन्न बनाउनु पर्छ । एनसीसीहरुलाई आफ्नो स्वायत्त अधिकार राख्न नखोजी हामीले समन्वय भूमिका बनाउनुपर्छ ।
एनसीसीमा धेरै कामहरू भइरहेका हुन्छन्, त्यो कामको मूल्याङ्कन हुनुपर्छ । एनसीसीका प्रेसिडेन्टहरू र हामीसँग रहेका ८५÷८६ एनसिसिहरुले कहाँकहाँ केके काम गरिराछ त्यसको हामीले समन्वय गर्ने काम गर्ने गरी योजना बनाउन लाग्नेछु । यसको साथसाथै अहिले एउटा ग्याप पनि छ एनसीसी र आइसिसीको बिचमा । यो दुईले एक अर्कासँग कुराकानी नगर्दा पनि अप्ठ्यारो भएको छ । भोलि म महासचिव हुँदै गर्दा सम्पूर्ण एनसीसीका जो प्रेसिडेन्ट हुनुहुन्छ, उहाँहरूलाई आइसिसीको मिनिङमा पनि मेरो कार्यकालले आमन्त्रित आइसिसी सदस्य बनाएर प्रत्येक ठाउँमा के समस्या छन् भनेर आवश्यक समन्वय गर्ने गरी काम गर्ने मेरो योजना छ । साथै अहिले हामी एनआरएनए चुनावमुखी भएका छौँ । छ महिना भन्दा बढी समय चुनावमा खर्च गरेका छौ । हामीले कामहरू धेरै गरेका छौ तर यो छ महिनाको प्रचारले गरेका काम पनि ओझेलमा परेको छ ।
पहिला एनसीसीको चुनाव हुन्छ सामाजिक सञ्जालमा हार्ने र जित्नेको कुरा आउँछन् । त्यसपछि डेलिगेड्सको कुरा आउँछन् फेरि त्यसमा पनि हार्ने र जित्नेको कुरा आउँछ । अनि फेरि आइसिसीको चुनाव हुन्छ यसमा पनि हार जितका विभिन्न कुराहरू आउँछन् । यसले गर्दा खर्च हुने समय र पैसा सबै बचत गर्नु पर्छ । यसमा मेरो प्रस्ट भिजन के छ भने एनसीसी र आइसिसीको चुनाव एकै चोटि गरिनुपर्छ एउटै ब्यालेटबाट गरिनु पर्छ । सम्पूर्ण पञ्जीकृत सदस्यहरूबाट आइसिसी र एनसीसीको चुनाव एकै चोटि गरियो भने यो सम्पूर्ण एकै चोटि हुन्छ र यसमा धेरै समय खर्च हुँदैन।
अरूलाई देख्दा पनि एनआरएनए भनेको त राजनीति गर्ने संस्था पो हो कि क्या हो, राजनीति मात्रै हुने रहेछ भन्ने एक किसिमको भ्रम पनि सिर्जना भएको छ । यो हामीले निरुत्साहित गर्नुपर्छ । यसै गरी म महासचिव हुँदै गर्दा मैले धेरै समय सचिवालयमा दिनुपर्छ, मैले त्यो समय दिन सक्छु । नेपाल मै रहेर म सचिवालयमा सचिव, उपमहासचिव लगायतलाई कामहरू दिएर म पनि काम गर्ने छु । अहिले सचिवालयमा कर्मचारीहरू धेरै हुनुहुन्छ त्यो सङ्ख्या घटाएर खर्च कटौती गरेर अन्य काम गर्नेछु ।
मध्यपूर्वका समस्या छन्, सामाजिक सुरक्षा व्यवस्थाको समस्या छन्, गैर आवासीय नेपाली नागरिकता बल्ल पास भएको छ , नागरिकता निरन्तरताको विषयमा कुरा गर्नु पर्ने छ । महिला र युवाको विषयमा धेरै काम गर्नु पर्ने छ । विभिन्न देशमा गएर बस्नुभएका र काम गर्नु भएका नेपालीहरूपछि नेपाल आएर विदेशमा आर्जन गर्नु भएको ज्ञान र सिपलाई नेपाल सरकारसँग लविङ गरेर नेपालमै काम गर्न सक्ने वातावरण बनाउनुपर्छ भन्ने मेरो मान्यता छ । यस्तै हामीले गर्नु पर्ने धेरै काम छन्, जुनसुकै कामको लागि हामी एनसीसीसँग सहकार्य गरेर गर्नेछौ ।
तपाई अमेरिकाको निवर्तमान अध्यक्ष हुनुहुन्छ, जहाँसुकै कार्यक्रममा एनसीसीलाई फोकस गरिराख्नु भएको छ । मतको लागि मात्रै फोकस हो कि चुनाव जितेपछि पनि योजना बनाएर काम गर्नु हुन्छ ?
मेरो इतिहास हेर्नुस् न मैले के भनेँ र के गरेँ भन्ने प्रस्ट हुन्छ । एनसीसीको अध्यक्ष हुनु अघि मैले ल्याएको एजेन्डा मैले कति पास गरेँ कति सकिनँ, मैले बोले जति लगभग सबै एजेन्डाहरू पुरा गरेको छु । मैले सबैलाई आमन्त्रित आइसिसी सदस्य दिनेछु । एनसीसी अध्यक्षमै मैले च्याप्टरका सदस्यलाई आमन्त्रित सदस्य बनाएको थिएँ । अहिले त मैले विधान नै परिवर्तन गराएर च्याप्टरका सभापतिबाट डाइरेक्टर बनाएको छु यो बनाउनै पर्छ ।
तपाईँले जितेर आउनु भयो भने १२ औँ अधिवेशनमा सबै सदस्यले एकै चोटि मतदान हाल्न पाउँछन् ?
पक्का पाउँछन् । एनसीसी र आइसिसीको निर्वाचन एकैदिन हुन्छ ।
चुनाव जित्छु भन्नेमा कति विश्वस्त हुनुहुन्छ ?
सचिवालयबाट हामीले केही गन्ध पाएका छौँ । षड्यन्त्र रचेर सचिवालयलाई कन्ट्रोल गरेर जिताए भने त के भन्न सकिन्छ र ? यस्ता गतिविधि भएनन् भने मै सय प्रतिशत जित्छु । एनसीसी अमेरिकाको विषयमा तपाईँले यो देखिसक्नु भएको छ । त्यो वेलामा कार्यकारी अध्यक्षले भोटर्सहरुले गरेका गल्तीलाई स्वीकार गर्दै विज्ञप्ति पनि निकाल्नु भएको थियो । त्यो विषयमा म प्रवेश गरिनँ । त्यस्ता गल्तीहरू फेरि दोहोरिए भने त्यो चाहिँ यो संस्थाको लागि सबैभन्दा ठुलो घाटा हुन्छ । सचिवालयमामा बसेर आफूले कन्ट्रोल गरेर चुनाव जित्ने होइन, भोटरहरूको मन जित्नुपर्छ । भोटरको मन नजिती चुनाव जितेर संस्थालाई फेरि कुन अवस्थामा पुर्याउने ? यो कुरामा हामी सबै सतर्क हुनुपर्छ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
सम्पूर्ण गैर आवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीले मेरो लागि भोट दिनुहोला । चुनावी अभियानका क्रममा म सबै ठाउँमा सकिन । सबैको सम्पर्कमा रहँदारहँदै कसैसँग भोट मागेको छैन भने पनि यहाँहरूले मलाई र मेरो एजेन्डालाई विश्वास गरेर भोट दिनु होला । म तपाईँको विश्वासलाई डगमगाउन दिनेछैन । मलाई मत दिएर अत्यधिक बहुमतका साथ जिताउनु हुन आग्रह गर्दछु ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2023 All right reserved | Site By : SobizTrend