zestkhabar

बुधबार, मंसिर १३ २०८०

  • बुधबार, मंसिर १३ २०८०
Janasawal - सबै साथीहरूले माया गर्नुभएको छ, चुनाव जितिन्छ : डा केशव पौडेल (एनआरएनए उपाध्यक्ष पदका उम्मेदवार)

सबै साथीहरूले माया गर्नुभएको छ, चुनाव जितिन्छ : डा केशव पौडेल (एनआरएनए उपाध्यक्ष पदका उम्मेदवार)

सबै साथीहरूले माया गर्नुभएको छ, चुनाव जितिन्छ : डा केशव पौडेल (एनआरएनए उपाध्यक्ष पदका उम्मेदवार)


  • जनसवाल
  • मंगलबार, असोज २३ २०८०
2K
SHARES

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोबर १७ देखि २० सम्म तय भएको ११ औँ महाधिवेशन तथा आगामी कार्यकाल (२०२३÷०२५) का लागि वर्तमान महासचिव डा केशव पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणासँगै निर्वाचन माहौलमा होमिएका पौडेल एनआरएनएको हितकै लागि आफू एक स्टेप पछाडि हटेर उपाध्यक्षको उम्मेदवार बनेको बताउँछन् । १० औँ महाधिवेशन पछाडि एनआरएनएमा केही विभाजनको अवस्था देखिएको भन्दै पौडेल त्यसलाई अन्य गर्नका लागि सहमति, सहकार्य र सहअस्तित्वको भावनासहित एकताबद्ध भएर जानुको विकल्प नरहेको बताउँछन् । उनै पौडेलसँग चुनावी विषयमा केन्द्रित रहेर जनसवालले गरेको कुराकानीको सम्पादित अंशः

एनआरएनएको वर्तमान महासचिव तपाईँले नयाँ कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिँदै हुनुहुन्छ, समग्र महाधिवेशन र चुनावी तयारी कस्तो भइरहेको छ ?
महाधिवेशनको तयारी राम्रो छ । निर्वाचनको तयारी पनि भइरहेको छ, महाधिवेशनलाई नै भनेर संसारभरका साथीहरू काठमाडौँमा आउँदै हुनुहुन्छ । साथीहरू ४२ सय जति डेलिगेट्स हुनुहुन्छ । जसमध्ये न्यूनतम पनि हजारदेखि दुई हजार जना जति डेलिगेट्सले काठमाडौँबाट नै भोट हाल्नु हुन्छ भन्ने हामीलाई लागेको छ । त्यो भएको हुनाले सम्पूर्ण तयारीहरू लगभग पूरा भैसकेको र निर्वाचनको माहौल पनि राम्रो बनेको छ । हामी अन्तिम अवस्थामा छौँ ।

सुरुमा यहाँ आफै अध्यक्षको प्रतिस्पर्धीको रूपमा हुनुहुन्थ्यो, अहिले ब्याक भएर फेरि उपाध्यक्षमै उम्मेदवारी दिन लाग्नुको कारण के हो ?
तपाईँले भनेको कुरा सत्य हो, मैले दुई तीन महिना अघि अध्यक्षमा उठ्छु भनेर नै आफ्नो तयारी पनि व्यापक गरेको थिएँ । तर मलाई लाग्यो दसौँ महाधिवेशनबाट जुन किसिमको नेतृत्व चयन भयो त्यसबाट पाठ सिक्नुपर्छ । १० औँ महाधिवेशनमा सहमति, सहकार्य र सहअस्तित्वको लागि तीन जना अध्यक्षका साथै दुई जना महासचिव र एउटै पदमा विभिन्न व्यक्तिहरू राखेर बहुपदीय व्यवस्था हामीले गरेका थियौँ । त्यति बेलै हामीले के सोचेका थियौँ भने अब हाम्रो सफलता भनेको आउने कार्यसमितिलाई निर्विवाद रूपमा निर्वाचनमा लैजान सक्ने÷नसक्नेमा निर्भर गर्छ । सहजरुपमा नयाँ कार्यसमिति चयन गर्न सकियो भने हाम्रो कार्यसमितिको सफलता हुन्छ । एकता, सहकार्य र सहमति गर्ने क्रममा कहिलेकाहीँ व्यक्तिले सुरुवात गर्नुपर्ने हुन्छ । चार÷पाँच जना अध्यक्षका प्रत्याशी साथीहरू देखिनु भएको थियो । मैले चाहिँ पदकै लागि एनआरएनएहरू झगडा गर्छन् भन्ने सन्देश दिनुभन्दा पनि सहमति र सहकार्यका लागि पनि एनआरएनएले भूमिका खेल्न सक्छन् भन्ने सन्देश दिनका लागि एक स्टेप पछाडि हट्ने निर्णय लिएँ । म एक स्टेप पछाडि हटेर उपाध्यक्षमा बस्छु र एनआरएनएको आउने दिन सुखद् होस भनेर यो निर्णय लिएको हुँ ।

उपाध्यक्षका रूपमा यहाँका प्रतिबद्धता र एजेन्डाहरू के–के छन् ?
एकदमै राम्रो प्रश्न गर्नुभयो । म संस्थागत रूपमा संस्था चल्नुपर्छ, संस्था पारदर्शी हुनुपर्छ भन्ने मूल नारा उठाएर अघिल्लो कार्यकालमा पनि लागेको थिएँ । महासचिवको रूपमा मैले त्यसलाई केही हदसम्म कार्यान्वयन गर्न पनि सफल भएँ । तर अझै पनि संस्था पूर्ण संस्थागतरुपले अघि बढ्न सकेको छैन । संस्था जति एउटा पद्धतिमा हिँड्नु पर्थ्यो त्यसरी हिँडिसकेको छैन । जति ट्रान्सपरेन्ट गराउनु पर्थ्यो त्यो पनि गराउन सकेको छैन । तर विगत वर्षहरूमा भन्दा धेरै नै हामीले कोसिस ग¥यौँ र यति सुधार भएको छ । तर अझै यसलाई म उपाध्यक्षको रूपमा हुँदा अध्यक्ष र महासचिव जो साथीहरूले जित्नुहुन्छ उहाँहरूलाई सचेत गराउँदै र सहयोग गर्दै सिस्टममा लानु आवश्यक छ । त्यो चाहिँ मेरो एउटा प्रमुख मुद्दाको रूपमा अगाडि बढ्छ ।
दोस्रो कुरा, दसौँ महाधिवेशन पछाडि एनआरएनएमा जुन किसिमको अलिकति विभाजनजस्तो देखियो त्यसलाई न्यूनीकरण गर्नका लागि सहमति सहकार्य र सहअस्तित्वको भावना बनाएर एकताबद्ध बनाउनुपर्ने आवश्यकता छ । हामीले कमिटीमा एकता बनाउने आशा ग¥यौँ । तर अन्तिम अवस्थामा आएर एक दुई वटा कुराले एकता रोकिएको छ । अहिलेकै महाधिवेशनमा पनि हाम्रो प्रयास अन्तिम दिनसम्म पनि सहमति बनाएर बाहिर बसेका साथीहरूलाई एकतामा ल्याउने रहने छ । कदाचित यसमा सफल भइएन भने पनि अब आउने कार्यकालमा म उपाध्यक्ष भएको कमिटी बन्ने बित्तिकै साथीहरूलाई आह्वान गरेर एकताबद्ध बनाउनेतर्फ मेरो भूमिका हुनेछ ।

त्यसै गरी हामीले प्राप्त गरेका गैरआवासीय नागरिकताले अहिले तत्कालका लागि काम गर्छ । तर हाम्रो माग भनेको वंशजको आधारमा पाउने नेपाली नागरिकता निरन्तर हुनुपर्छ भन्ने हो । त्यसका लागि एनआरएनएहरूले पहल गर्नु पर्छ । नेपाल सरकार, नागरिक समाजसँग सहकार्य गरेर अगाडि बढाउनुपर्छ भन्ने लागेको छ, त्यो पनि मेरो एउटा मुद्दाको रूपमा रहने छ । अब सामाजिक सुरक्षा कोषका सम्बन्धमा पनि हाम्रो कार्यकालमा सफल कार्यान्वयन गर्न बाँकी छ । सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम नेपालको समृद्धि र विकासमा खर्च गर्नुपर्छ । त्यसको राम्रो कार्यान्वयन गर्न एनआरएनए हातेमालो गर्नुपर्छ । मैले उपाध्यक्षको रूपमा आफ्नो सम्पूर्ण समय खर्च गरेर यसका लागि काम गर्नेछु र अरू पनि एजेन्डाको रूपमा अगाडि बढाउने छु । त्यसै गरी विदेशमा बस्ने नेपाली नागरिकलाई निर्वाचनका बेल अनलाइनबाट मतदान गर्ने व्यवस्थाका लागि पहल गरेका छौँ । नेपाल सरकार र निर्वाचन आयोगले यो कुरा सुनेको छ । यसलाई कार्यान्वयन गर्नका लागि २०८४ को चुनावमा विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्था गर्न नेपाल सरकारसँग पहल गर्छौँ । यसलाई कार्यान्वयन गराउन प्रयास गर्ने पनि मेरो एजेन्डा रहेको छ ।
लगभग ८० लाख नेपालीहरू विदेशमा छन् र विदेशमा बस्ने नेपालीहरूको लागि अहिले एनआरएनएलाई परराष्ट्र मन्त्रालयले एउटा युनिटमा जम्मा सहसचिव अन्तर्गत दुई तीन जना स्टाफहरू राखेर शाखा उपशाखा खोलिदिएको छ । त्यतिले मात्रै एनआरएनएहरूको समस्या समाधान गर्न सकिँदैन । यसका लागि हामीले अबका दिनमा एनआरएनएका सम्पूर्ण समस्या समाधान गर्नका लागि मन्त्रालय नै खोल्न पर्छ भनेर भनेका छौँ । यसका लागि काम गर्ने मेरो अर्को एजेन्डा हो । थुप्रै डलर खाता खोल्ने, सामूहिक लगानीका कुराहरू, विदेशबाट पैसा आइसकेपछि यदि एफडीआई गरेर ल्याएको हो भने फिर्ता गर्ने वातावरण पनि सुलभ रूपमा गर्नुपर्छ । ट्याक्स नेपालमा पनि विदेशमा पनि तिर्ने वातावरण हटाउन नेपाल सरकार र अरू देशका सरकारहरूसँग समन्वय गरेर काम गर्न आवश्यक छ । विदेशमा बस्नुभएका नेपालीहरूको ज्ञान सिपलाई स्वदेश भित्र्याउनु आवश्यकता छ । यसका लागि थुप्रै कुराहरू हामीले अघि पनि बढाएका छौँ । जुन कुराहरूलाई हामीले यो कार्यकालमा सफल बनाउन कोसिस पनि ग¥यौँ र आंशिक रूपमा सफल पनि भयौँ । आउने दिनमा बाँकी काम गर्न मैले प्राथमिकता दिनेछु ।
यी विषय यहाँका एजेन्डा मात्रै हुन् कि निर्वाचनपछि चुनाव जितेर पदमा पुगेमा काम पनि गर्नु हुन्छ ? महासचिव हुँदाका एजेन्डा कत्तिको पूरा गर्नुभयो ?
मैले भनेँ नि, म महासचिव हुँदा संस्थालाई संस्थागत बनाउने, ट्रान्सपरेन्ट बनाउने कुराहरू मुख्य मुद्दाका रूपमा अगाडि बढाएका थिएँ । आंशिक रूपमा सफल पनि भइयो । अझै धेरै कामहरू गर्न बाँकी छ । अहिले मैले जुन एजेन्डाहरू उठाएको छु, ती एजेन्डाहरू पनि हामीले सकेसम्म सय प्रतिशत नै लागू गर्न र कार्यान्वयन गर्न कोसिस गर्छौँ । यी एजेन्डाहरू प्रस्तुत गर्नका लागि होइनन्, कार्यान्वयन गर्नका लागि ल्याइएका हुन् ।

चुनाव जित्छु भन्ने लागेको छ ?
सबै साथीहरूले माया गर्नुभएको छ, आत्मीयता देखाउनु भएको छ । यसरी हेर्दा हेर्दा चुनाव जितिन्छ भन्नेमा ढुक्क छु ।

चुनाव जित्ने आधारहरू के–के हुन् ?
पहिलो कुरा त मैले अहिलेसम्म गरेका कामका कारण सबै एनआरएनएहरूले मूल्याङ्कन गर्नुहुन्छ भन्ने लागेको छ । एनसीसी अमेरिकाको दुई कार्यकाल अध्यक्ष हुँदा, आइसीसीको महासचिव हुँदा मैले जे कुरा बोलेको छु, ती कुराहरू अत्यन्त राम्रोसँग कार्यान्वयनको कोसिस गरेको छु । यसमा हाम्रा एनआरएनएहरूले मूल्याकंन गर्नुहुनेछ र त्यो गर्दाखेरी मत दिन नपर्ने केही कारण छ जस्तो मलाई लाग्दैन । मैले गरेका कामहरू, मैले गरेका कम्पिल्मेन्टहरु, एनआरएनएका क्षेत्रमा गरेका योगदानहरु गुगलनै गरेर हेर्नुभयो भने पनि भेट्नु हुनेछ । त्यसको आधारमा सकारात्मक मूल्याङ्कन गरेर भोट दिनु हुन्छ र मैले जित्छु भन्ने मलाई लाग्छ ।

निर्वाचन त हुन्छ नि यो यसपालि ?
अवश्य हुन्छ । मैले संस्थामा महासचिवको रूपमा कामको सुरुवात गरेदेखि नै एक मात्रै उद्देश्य आउने निर्वाचनबाट नयाँ नेतृत्व हस्तान्तरण गर्ने भन्ने थियो । त्यो पुरा गरिन्छ ।

अहिलेको महाधिवेशन र पहिलेको महाधिवेशनमा फरक के छ ?
अघिल्लो महाधिवेशनमा डेलिगेट्समा विवाद थियो । अहिले हाम्रो ४२ सय डेलिगेट्स छन् । अघिल्लो महाधिवेशनमा भन्दा अहिले ती डेलिगेट्स सहजरुपमा चयन गर्ने काम पुरा भएको छ । त्यसैले निर्वाचन हुने पक्का छ ।

निर्वाचनको अन्तिम माहौलमा हुनुहुन्छ, मतदातालाई के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम त जनसवाललाई धन्यवाद दिन चाहन्छु । दोस्रो कुरा, नेपाली दाजुभाइ दिदीबहिनी विभिन्न देशबाट नेपाल आउँदै हुनुहुन्छ र कोही कोही नेपालमै हुनु हुन्छ । यहाँहरू सबैलाई मलाई भोट दिएर जिताउनुस् यही अनुरोध गर्न चाहन्छु ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट