जनसवाल संवाददाता
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन नजिकिँदै गर्दा अध्यक्षका प्रत्यासी आरके शर्माले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । विदेशमा गरिने प्रचारप्रसारलाई अन्तिम रुप दिने क्रममा शर्मा युरोप भ्रमणमा निस्किएका छन् । कतारमा बिहीबार उम्मेदवारी घोषणा गरेपछि साउदी अरब हुँदै बहराइन पुगेका शर्मा त्यहाँबाट फेरि युरोप प्रचारमा पुगेका हुन् । शर्माले युरोपका देशहरुमा अक्टोबर पहिलो सातासम्म निर्णायक चुनावी प्रचार प्रसार गरेर काठमाडौँ आउने बताइएको छ ।
मध्यपूर्वबाट पहिलो पटक नेतृत्वको अवसर आएको भन्दै विश्वभरका एनआरएनएबीच चासोको विषय बनेको छ भने आरकेको पक्षमा राम्रो माहोल देखिन्छ । शर्माका सचिवालयका अनुसार युरोप भ्रमणअघि शर्माले साउदी र बहराइनको विभिन्न कार्यक्रममा भाग लिँदै त्यहाँका गैरआवासीय नेपाली, राजनीतिक तथा सामाजिक संस्थाका प्रतिनिधिसँग गैरआवासीय नेपाली अभियानलाई अगाडि बढाउन सल्लाह र सुझाव लिएका छन् । बहराइनबाट शर्माको युरोपको चेक रिपब्लिक पुग्ने तालिका रहेको छ । चेकमा हुँदा शर्माले त्यहाँ बस्ने गैरआवासीय नेपाली तथा अभियन्तासँग छलफल गर्ने छन् । यस्तै बेल्जियम, युकेलगायतका देशमा थुप्रै देशमा उनी पुग्ने कार्यक्रम छ ।
यसैबीच अध्यक्षका उम्मेदवार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा भोट बैंक मात्र नभएको बताएका छन् । नेपाली जनसम्पर्क समिति बहराइनले आयोजना गरेको कार्यक्रममा शर्माले गैरआवासीय अभियानमा मध्यपूर्व भन्दा बाहिर बस्ने अभियन्तालाई मध्यपूर्वले सधैँ अरूलाई दिएको यो पटक अरू क्षेत्रमा बस्ने अभियन्ताले दिने समय आएको स्मरण गराए । ‘मध्यपूर्वलाई सबै चुनाव नभएको बेला पनि सम्झन म सम्मानित सबै एनआरएनका साथीहरूलाई अनुरोध गर्दछु,’ शर्माले भने, ‘मध्यपूर्वले सबै अरूलाई सहयोग गरेको छ,यो पटक अरुले मध्यपूर्वलाई सहयोग गरेर गुन तिर्ने बेला आएको छ ।’
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भिष्मराज आङ्दम्बे सहभागी भएको कार्यक्रममा अध्यक्षका प्रत्यासी शर्माले आफू स्पष्ट योजना मध्यपूर्व सहित विश्वमा श्रम गर्नेलाई उकास्ने योजना सहित अध्यक्ष प्रत्यासी बनेर आएको भन्दै आफ्ना योजना सुनाए । ‘अर्थतन्त्र श्रमिकले पठाउने रेमिट्यान्सले चले पनि सधैँ रेमिट्यान्स आउने छैन,’ शर्माले भने,‘श्रमिकको आर्थिक हित उकास्ने गरेर उत्पादन मूलक क्षेत्रमा रेमिट्यान्स रकम लगाउन प्राधिकरण गठन गर्ने योजना सहित म आएको छु ।’ उनले नेपालका राजनीतिक दल र एनआरएनएबीच रगत र मुटुको जस्तो सम्बन्ध रहेको यो स्वच्स्छ हुनुपर्ने बताए । एनआरएनएका मुद्दालाई कार्यान्वयन गर्नको लागि राजनीतिक दलको सहयोग जरुरी रहेको भन्दै शर्माले राजनीतिक दलको हस्तक्षेप एनआरएनएमा हुनु नहुने बताए । ‘आइसीसीको चुनावमा आफ्नो भातृ संगठनमा काम गरेको आधारमा चुनाव जिताउन राजनीतिक दल लाग्नु हुँदैन,’ शर्माले भने, ‘म सबै राजनीतिक दललाई सम्मान गर्छ,एनआरएनका मुद्दा कार्यान्वयन गर्न सबै दलको सहयोग चाहिन्छ,हामीलाई हस्तक्षेप चाहिदैन ।’ आफू एनआरएनए सबैको साझा चौतारी बनोस् बनेर अभियानमा हिँडेको शर्माले सुनाए । बिहीबार शर्माले २४ महिनामा गर्ने २४ बाचासहितको आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेका थिए । आफ्नो कर्मभूमि कतारमा उनले उम्मेदवारी घोषणा गर्दा उपाध्यक्षका उम्मेदवार खगेन्द्र न्यौपाने, सचिवका उम्मेदवार लोक दाहाल, उपमहासचिवका उम्मेदवार प्रवीन गुरुङलगायतले पनि उम्मेदवारी घोषणा गरेका छन् । हालसम्म एनआरएनएको अध्यक्षमा महेश श्रेष्ठ र रविना श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएमा अन्य पदमा पनि उम्मेदवारी घोषणा गर्नेको लहर नै चलेको छ ।