स्याङजा । सीमित व्यक्तिको स्वार्थ र हालीमुहालीका कारण स्वावलम्बन साना किसान सहकारी समस्यामा परेको छ । स्वार्थ केन्द्रित भएर २० वर्षदेखि सीमित व्यक्तिले सहकारी आलोपालो गरी संचालन गर्दा हाल सहकारी नै समस्यामा पर्न लागेको उक्त सहकारीका एक सदस्यले जानकारी दिए ।
स्याङजा जिल्लाको अर्जुन चौपारी गाउँपालिकाको सबै ठूलो सहकारी ग्रामिण स्वावलम्बन अहिले सीमित व्यक्तिको स्वार्थकै कारण समस्यामा परको एक बचतकर्ताले जानकारी दिए । ‘२०६० सालदेखि उक्त सहकारीमा एउटै व्यक्ति कहिले अध्यक्ष, कहिले सदस्य र कहिले कार्यकारी प्रमुख रहेर काम गर्दै आएका छन्,’ ती बचतकर्ताले भने, ‘अहिले उनीहरुले सहकारीमा ठूलो घोटला गरेका छन्, उक्त घटाना बाहिर आउँछ भनेर विरोध गर्नेलाई आर्थिक लाभ लिएर ढाकछोप गर्दै आएका छन् ।’

उक्त सहकारीमा २०६० सालमा बोधनारायण रेग्मी अध्यक्ष थिए । त्यसयता उनी ४ कार्यकाल सदस्य भएर पुनः अहिले अध्यक्ष बनेका छन् । उनी पछिल्लो पटक २०७९ सालदेखि अध्यक्षको रुमपा छन् । त्यसैगरी २०६० सालमा सदस्य रहेका दिर्घनारायण अर्याल २ पटक अध्यक्ष भएर पुनः सदस्य भएपछि सोही पालिकाको प्रमुखमा निर्वाचित भएपछि उक्त सहकारीबाट बाहिरिएका छन् । यसैगरी तत्कालिन समयमा सदस्य रहेका प्रेमबहादूर थापामगर ३ पटक सदस्य र ३ पटक उपाध्यक्ष भैसकेका छन् । यस्तै सुरुवातीदेखि नै सदस्य रहेका धनबहादुर गुरुङ भने २ पटक अध्यक्ष भएर हाल वडा अध्यक्ष भएपछि पदबाट बाहिरिएका हुन् ।
यसैगरी २०६० सालदेखि सदस्यमा रहँदै आएका सरकारी कर्मचारी हिरालाल काफ्ले पालिकाले स्पष्टीकरण सोधेपछि पदबाट राजिनामा दिएका छन् भने सो संस्थामा २०६० सालदेखि हालसम्म शालिग्राम काफ्ले सदस्य सचिवको भुमिकामा रहँदै आएका छन् । यसैगरी लेखासमिति संयोजकमा पनि २० वर्षदेखि एउटै व्यक्ति रहेका छन् भने सदस्यहरु पनि पटक पटक दोहोरिँदै आएका छन् । उक्त सहकारी संचालकमा निरन्तररुपमा अम्बिका रोका, ओपप्रकाश पौडल सदस्य रहँदै आएका छन् । हाल पौडेलले भने आफ्नो बुहारीलाई उक्त सहकारीको सदस्य बनाएका छन् ।
उक्त सहकारीका पदाधिकारीले सरकारसँग अनुदानमा रकम ल्याउने र आफ्नो निहित स्वार्थका लागि परिचालन गर्दै आएको समेत एक स्थानीयले जानकारी दिए । ‘सहकारीले किसानको नाममा ठूलो रकम ल्याउने गरेको छ तर त्यसरी ल्याएको रकम उनीहरुले मात्रै उपभोग गर्दै आएका छन्,’ ती स्थानीयले भने, ‘यदि कसैले विरोध गर्यो भने उसलाई केही रकम दिएर चुप लगाउँछन् ।’ हाल सहकारीमा करोडौ रुपैयाँ भ्रष्टाचार भएको र उक्त भ्रष्टार बाहिर आउने डरले जसरी पनि आफुनै सहकारीको बोर्डमा बसेर गलत क्रियाकलापलाई ढाकछोप गर्दै आएको समेत ती स्थानीयको आरोप छ ।

उक्त सहकारीले कृषि उपज संकलन र दुग्ध संकलन केन्द्रको नाममा रकम ल्याएर भवन बनाएपनि हालसम्म उक्त भवन संचालनमा आउन सकेको छैन भने दुग्ध संकलनको लागि खरिद गरेकोृ गाडि सहकारीको प्रबन्धकले निजी प्रयोजनका लागि प्रयोग गर्दै आएका छन् । सहकारीका संचालकले आफु र आफन्तका लागि कृषि प्रयोजनका लागि ठूलो रकम दिएर दुरुपयोग गरेको समेत सहकारीका एक सदस्यले जानकारी दिए । उदाहरणका लागि बाख्रा फर्कका लागि ४० लाखभन्दा बढी लगानी गरेका छन् तर उक्त फर्ममा २० वटा पनि बाख्रा छैनन ।
# समाचारका सम्बन्धमा ग्रामीण स्वावलम्बन सहकारीले पठाएको खण्डन