काठमाडौं(जस)–नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरुको शुक्रबारबाट न्यायाधीशसमक्ष बयान सुरु हुने भएको छ । बुधबार जिल्ला अदालत काठमाडौं ३० जनाविरुद्ध मुद्दा दायर भएकाले शुक्रबारबाट न्यायाधीशसमक्ष प्रतिवादीहरुको बयान हुने भएको हो । १४ जना फरार रहेका छन् भने न्यायिक हिरासतमा रहेका १६ जनाको बयान हुनेछ । बयान सकिएपछि हुने थुनछेक बहसपछि मात्र प्रतिवादीहरुलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने टुंगो लाग्नेछ ।
यो प्रकरणमा पक्राउ पर्नेमा नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी छन् ।
यसैगरी केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पनि प्रहरी हिरासतमा छन् । फरार रहेका बचन झा, रमा थापा र गोकुल थापालाई पनि प्रहरीले संलग्न देखिएको बताए पनि अहिलेको मुद्दामा भने प्रतिवादी रहने छैनन् । फरार रहनेमा पूर्व गृहमन्त्री बादलका छोरा प्रतिक र सुरक्षा सल्लाहकार इन्द्रजितका छोरा निरजसहित छन् । यस्तै केशव तुलाधार, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता लिम्बू, निरञ्जन कुमार खरेल, राजेश अर्याल, हरिभक्त महर्जन र आशीष बुढाथोकी रहेका छन् ।
यसैबीच उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाइ नेपालीलाई विदेश पठाउने अपराधमा संलग्न जो कोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रक्रिया खुल्ला रहेको बताएका छन् । नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले उक्त प्रकरणले नेपालीलाई लज्जित बनाएको बताए ।
उनले समृद्धिको पूर्वशर्तका रुपमा रहेको सुशासन कायमका सन्दर्भमा चुनौती खडा गरेकाले राजनीतिक दबाब र अवाञ्छित प्रभावबाट मुक्त भई अनुसन्धान गर्नन नेपाल प्रहरीलाई निर्देशन दिइएको स्पष्ट गरे । नेपाल प्रहरीले सो प्रकरणमा पूर्वगृहमन्त्रीसहित ३० जनालाई बुधबार राज्यविरुद्धको अपराध, ठगी र कीर्ते लगायतका मुद्दा दायर गरिसकेको छ ।
“भ्रष्टाचार र कमिसनको जालोलाई नतोड्दासम्म समृद्धिको यात्राले तीव्रता पाउन सक्दैन । यस मामिलामा नेपाल सरकार र प्रहरीको संयन्त्र स्पष्ट छ । यही आधारमा स्वतन्त्र भई अनुसन्धान गरी कुनै पनि दोषी नउम्किउन् र निर्देश नपरुन् भन्ने सिद्धान्तका साथ हामीले काम गरिरहेका छौँ”, उनले भने । कुनै पनि पार्टी वा नातागोताका आधारमा अपराधलाई संरक्षण नगरिने भन्दै उहाँले बाहिर चर्चामा आएका व्यक्तिका सम्बन्धमा तथ्य र प्रमाण पुगेका जुनसुकै बेला प्रहरीले अनुसन्धानको दायरामा ल्याउनसक्ने बताए ।
ज्ञापनपत्र बुझाउँदै सङ्का कार्यबाहक अध्यक्ष अमित लामाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शरणार्थी समस्याबारे कार्यदल गठन भएको तर कुनै अवाञ्छित क्रियाकलाप नभएको दाबी गर्दै अनुसन्धानलाई तोडमोड गर्ने र गराउने कार्य नगर्न आग्रह गरे । सङ्घले अनुसन्धानका क्रममा भएका गोप्य बयान र प्रमाणलाई नियतबश बाहिर प्रयास भएकोमा ध्यानाकर्षण गराएको थियो ।
एकीकृत समाजवादीले प्रदर्शन गर्ने
नेकपा (एकीकृत समाजवादी) ले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप सङ्घर्षका कार्यक्रम गर्ने भएको छ । सो पार्टीको मोर्चा सङ्गठन विभागको नवौँ बैठकले नक्कली भूटानी शरणार्थी प्रकरणविरुद्ध थप आन्दोलनको घोषणा गरेको हो ।
यही जेठ १६ गते दिउँसो ४ बजे भ्रष्टाचार विरुद्ध काठमाडौँको माइतीघर मण्डलामा जुलुससहित नयाँ बानेश्वरमा पुगी सभा गर्ने निर्णय भएको विभागका प्रमुख डा. विजय पौडेलले जानकारी दिए । उनका अनुसार सोही दिन देशका ७७ वटै जिल्लामा पनि एकैसाथ विरोध प्रदर्शन, ¥याली र कोणसभा गरिने छ ।
सङ्घर्षका लागि मोर्चा सङ्गठनको तर्फबाट पार्टी केन्द्रीय कमिटी, भूगोलका सबै प्रदेश कमिटी, विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटीलाई सहयोगका लागि पार्टीले अनुरोध गर्ने जनाएको छ । यसअघि पनि सो पार्टीको मोर्चा सङ्गठन विभागले काठमाडौँसहित देशभर नक्कली भूटानी शरणार्थी प्रकरणमा दोषीमाथि हदैसम्मको सजाय माग गर्दै प्रदर्शन गरेको थियो ।