काठमाडौं , नेपाल बैदेशिक रोजगार व्यवसायी संघले बैदेशिक रोजगार बिभागका नव नियुक्त महानिर्देश मदन दहाल र निर्देशक गुरुदत्त सुवेदिसँग भेट गरेको छ ।
संघ कार्यसमितिका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा भएको भेटमा नव नियुक्त महानिर्देशक दहाल र निर्देशक सुवेदिलाई संघको तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको थियो । सो कार्यक्रम बैदेशिक रोजगार बिभागको सभाहलमा आयोजना गरिएको थियो ।
उक्त भेटघाटमा महानिर्देशक दहालले आफू पनि निजामती सेवामा प्रवेश गर्नुभन्दा अगाडी तत्कालीन एपोलो मेनपावर कम्पनीको म्यानेजर भएर बंगलादेशमा साउदी अरबको भिसा लगाउन जाँदाका अनुभव सुनाउँदै मेनपावर व्यवसायका सबै विषयमा आफू जानकार रहेको बताएका थिए । उनले मन्त्रालयमा रहँदा पनि व्यवसायी र नेपाल वैदेशिक रोजगार व्यवसायीले उठाएको सेवा शुल्क परिमार्जनको विषयमा अध्ययन गरेको भन्दै एकमुष्टभन्दा देशगतरूपमा लाग्ने लागत, जहाज टिकटको भाडा वर्गीकरण गरेर अघि बढे समस्याको छिटो समाधान आउनसक्ने बताए ।
भेटमा महानिर्देशक दहालले आफू सुधार गर्ने आत्मविश्वास र एजेण्डासहित नयाँ जिम्मेवारीमा आएको बताए । उनले सबैभन्दा पहिले व्यवसायी र व्यवसायको इमेज परिवर्तन गर्नुपर्ने जनाउदै त्यसका लागि विभाग र व्यवसायी नङ र मासु जस्तै मिलेर काम गर्नुपर्ने बताए ।
महानिर्देशक दहालले व्यवसायीले एजेन्टको जिम्मा व्यवसायीले लिनुपर्ने र उसले लिएको रकमको टीडीएस सरकारलाई बुझाउनुपर्ने ब्यावसायि संघलाई बताए । तर वैदेशिक रोजगार ऐनमा यसअघि भएको संशोधनले एजेन्टको प्रावधान खारेजी गरिसकेको छ ।
महानिर्देशक दहालले सेवा शुल्क पुनरावलोकन गर्दा भिसा कमिसन बैंकिङ च्यानलबाट पठाउन पाउनुपर्छ भनेर माग राख्नुपर्ने सुझाव पनि दिएका छन । उनले अव हुण्डीबाट कमिसन पठाएर हुँदैन सबै पारदर्शी हुनुपर्छ ।
महानिर्देशक दहालले आफू व्यवसायीको कार्यालयमा अनुगमनमा नजाने, तर विभागबाट पठाएको चेकलिष्टसहितको फारम भरेर विभागमा पठाउनुपर्ने र त्यसमा कैफियत फेला परे अनुगमन गरि कारवाही गरिने बताए ।
वैदेशिक रोजगारको सबै अवस्था व्यवसायीको हातमा नहुने भएकाले कानूनसम्मत काममा व्यवसायीलाई विभागको संरक्षण रहने भन्दै महानिर्देशक दहालले परिस्थितिजन्य कारणले गलत भएका बिषयका बारेमा छलफल गरेर अगाडी बढ्ने बताए । उनले विभागले संघसंग सहकार्य गरेर काम गर्ने बताए ।
विभागका निर्देशक गुरूदत्त सुवेदीले रेमिटेन्स भित्याऊनमा मेनपावर व्यवसायीको ठूलो योगदान भएपनि समाजमा सदभाव नभएको र यो क्षेत्रको बदनामी अझै रहेको बताए । उनले यसलाई ध्यानमा राखेर आफुहरुले काम गर्ने बताए । सुवेदीले वैदेशिक रोजगाको नाममा रकम उठाउन सजिलो भएकाले उजुरी बढेको भन्दै छानबिन पछिमात्रै उजुरी लिइने र संघ तथा सञ्चारकर्मी सवैको समन्वयमा अनुगमन गरिने भएकोले आफूहरुले सुधारका कार्य थालनी गर्ने बताए ।
उक्त भेटमा बैरो संघका अध्यक्ष राजेन्द्र भण्डारीले कामदारको हित हुने र सकेसम्म छिटो उजुरीको समाधान मेलमिलापको माध्यमबाट गर्न संघले पहल गरेकोे बताए । अध्यक्ष भण्डारीले वैदेशिक रोजगारलाई गुणस्तरीय बनाउन उच्चस्तरको प्रयास भइरहेको जनाउदै वैदेशिक रोजगारको लागत धेरै हुँदै गएको तर शून्य लागत भनेर कार्यान्वयन हुन नसक्ने विषयमा अडिरहन नहुने मान्यतामा सेवा शुल्कमा समयसापेक्ष परिमार्जन हुनुपर्ने संघको र आफ्नो धारणा रहेको बताए । सेवा शुल्कमा परिमार्जन गर्ने विषयमा सरकार, विभाग, गैरसरकारी संस्था, सञ्चार क्षेत्रको एक रूपको दृष्टिकोण बन्नु आवश्यक रहेको पनि भन्डारीले बताए । उक्त कार्यक्रमको संचालन गर्दै महासचिव मेघनाथ भुर्तेलले संख्या सय समाधान, सेवा शुल्क परिमार्जन र मागपत्र प्रमाणीकरण जस्ता विषय तत्काल समाधान गर्न नवनियुक्त महानिर्देशक दहाललाई आग्रह गरे ।
विभागमा प्राय श्रममन्त्री नयाँ आएपछि महानिर्देशक पनि नयाँ पठाईने प्रचलन रहेको छ । विभागमा नयाँ महानिर्देशक आएपछि बैरो संघ र विभिन्न यो क्षेत्रमा रहेका संघ/सँस्थाहरुले भेटघाट गरि स्वागत गर्ने गर्दछन ।