zestkhabar

आइतबार, जेष्ठ २१ २०८०

  • आइतबार, जेष्ठ २१ २०८०
Janasawal - बाल अस्पतालका लागि सहयोग जुटाउन डा .भगवान कोइराला बेलायत जांदै

बाल अस्पतालका लागि सहयोग जुटाउन डा .भगवान कोइराला बेलायत जांदै

बाल अस्पतालका लागि सहयोग जुटाउन डा .भगवान कोइराला बेलायत जांदै


  • जनसवाल
  • बुधबार, जेष्ठ ३ २०८०
836
SHARES

लन्डन ( जस )- काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले सातै प्रदेशमा बनाउने लक्ष लिएको विशिष्टीकृत बाल अस्पतालहरु निर्माण गर्नका लागि सहयोग जुटाउन चर्चित मुटुरोग शल्य चिकित्सक डा. भगवान कोइराला बेलायत जांदै छन्।
शनिबार एक भर्चुएल अन्तरक्रियालाई सम्बोधन गर्दै उनले त्यस्तो जानकारी दिएका हुन्। उनी जुलाई महिनाको दोश्रो साता बेलायत जाने कार्यक्रम रहेको बताइएको छ।
डा. कोइरालाले गएको नेपालमा १५-२० वर्षमा बाल स्वास्थ्य सेवा प्रवाहमा सुधार भएता पनि त्यस्तो सेवा राजधानीमा मात्रै सीमित रहेको र बालबालिकाको ज्यान जोगाउन देशभरि नै गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक भएकाले साथीहरुसंग मिलेर आफुले यो अभियान शुरु गरेको बताए। ‘कोशी प्रदेशको जनसंख्या झन्डै ५० लाख छ, त्यसमध्ये बालबालिकाको संख्या झन्डै २० लाख छ। सिङ्गै प्रदेशमा एउटा पनि बाल अस्पताल नभएकाले हाम्रो संस्थाको पहलमा दमकमा बाल अस्पताल निर्माण गरी सेवा पनि शुरु भै सकेको छ,’ डा कोइरालाले भने। ‘उक्त अस्पतालका लागि झन्डै २० करोड रुपियाँ सहयोग जुटीसकेको छ र सहयोग आउने क्रम जारी छ। सबै सहयोगी मनहरुलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौं।‘
डा कोइरालाले काठमाडौँको हेपाली हाइटमा पनि सबै नेपालीको पहुँच हुन सक्ने एउटा सुविधासम्पन्न बाल अस्पताल निर्माण गर्ने काम अगाडी बढीरहेको र अन्य प्रदेशहरुमा पनि बाल अस्पताल निर्माणका लागि कुराकानी भै रहेको बताए। ‘सरकारले मात्रै यो काम सम्पन्न गर्न सक्दैन। उसका अरु प्राथमिकताहरु पनि छन्। त्यसैले नेपालभित्र र संसारभरि रहनु भएका नेपालीहरुलाई मन खोलेर सहयोग गर्न म आग्रह गर्दछु,’ उनले भने। सहयोगको रकम दुरुपयोग नहुने र एक-एक पैसाको हिसाब किताब सार्वजनिक गरिने पनि डा कोइरालाले बताए।
नेप्लिज डक्टर्स एसोसियसन युकेका पूर्व अध्यक्ष तथा डा कोइरालाका सहपाठी डा रमेश कोजुले डा कोइरालासंगै प्रसिद्ध नेत्र चिकित्सक डा सन्दुक रुइतलाई पनि बेलायत निम्त्याउने तयारी भै रहेको बताए। उनले बेलायतमा कार्यरत नेपाली चिकित्सक तथा नर्सहरु आफुले सिकेको सीप नेपाल र नेपालीको हितमा उपयोग गर्न इच्छुक रहेको पनि जनाए।


उक्त भर्चुयएल बैठकको संयोजन गरेका बेलायतस्थित समाजसेवी शिवजी श्रेष्ठले नेपालमा विपन्न बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी अमूल्य जीवन जोगाउने यो अभियानमा जोडिन पाएकोमा खुसी व्यक्त गरे। उनले बेलायतस्थित सबै नेपाली संघसंस्था तथा नेपाली समुदायलाई यो अभियानलाई सक्दो सहयोग गर्न आग्रह पनि गरे।
बेलायतमा दर्ता भएको कल्याणकारी संस्था, हेल्थ एक्सचेन्ज नेपाल, का संस्थापक प्रा सत्येन राजभण्डारीले नेपालमा सबैको पहुँचमा स्वास्थ्य सेवा पुराउन हातेमालो गर्नुपर्ने बेला आएको बताए। उनले डा कोइराला र साथीहरुले शुरु गरेको बाल अस्पताल निर्माण अभियानलाई यो लिंकमा गएर सक्दो सहयोग गर्न अपिल पनि गरे।
https://www.justgiving.com/campaign/kioch
उक्त अन्तरक्रियामा बेलायतस्थित नेपाली दूतावासकी उप नियोग प्रमुख रोशन खनाल लगायत बेलायतका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा समाजसेवीहरुको उपस्थिति थियो। डा कोइरालाको बेलायत भ्रमण सम्बन्धी थप जानकारी छिट्टै सर्वजनिक गरिने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट