zestkhabar

सोमबार, मंसिर १२ २०७९

  • सोमबार, मंसिर १२ २०७९

खुवालुङ, मास्न खोजिएको एक ईतिहास, किराँती सभ्यताको प्रमुख आधार

खुवालुङ, मास्न खोजिएको एक ईतिहास, किराँती सभ्यताको प्रमुख आधार


  • जनसवाल
  • सोमबार, असोज १० २०७९
2.8K
SHARES

निश्चल दाहाल

ईतिहास जित्नेको लेखिन्छ, ईतिहास अनुकुलताको आधारमा लेखिन्छ जसमा सत्यताको गुञ्जायस कम हुन्छ भन्ने एकथरी मान्यता छ तर सदियौ देखि कुनै मान्यता स्थापित भएको छ र त्यो मानिदै आइएको छ भने पक्कै पनि कहि कतै सत्यताको गुञ्जायस हुन्छ नै। इतिहासले भावना मात्र हैन संस्कार सभ्यता पनि बोकेको हुन्छ।
यस्तै झण्डै हराएको , मासिएको संस्कार हो खुवालुङ, एउटा सामन्य ढुङ्गा भनी कसैले माने होला तर कैयन समुदायको अकाट्य, अमेट्य र पुर्ण पहिचान हो खुवालुङ। हामी त्यही खुवालुङको बारेमा केही चर्चा गरौ।

सर्वप्रथम के हो खुवालुङ?

माथी भनेझै सामान्य मानिसले एक बडेमानको ढुङ्गा सोच्ने खुवालुङ नेपालको ठूलो मध्येको एक सप्तकोषी नदिको दरिलो पानी सग संघर्ष गर्दै तैरिएर रहे झै देखिने आश्चर्यको ढुङ्गा हो। तमर, अरुण र सुनकोशी मिसिएर बन्ने त्रीवेणिको ठिक छेउ मा रहेको यो खुवालुङ्ग नदिहरु मात्र हैन तीन जिल्लाहरु सुनशरी, धनकुटा र उदयपुर जिल्लाहरुको पनि त्रीवेणी हो।
पुरानो सभ्यता रहेको किरातहरु , (राई, लिम्बू, सुनुवार याक्खा) आदिहरुको सांसकृतिक परम्पराहरुमा बारम्बार खुवालुङ उच्चारण गरिन्छ। अत: खुवालुङ किरातहरुको पुर्वी नेपालमा उदय हुनुको एक आधार हो भने किरात सभ्यताको धरोहरको रुपमा यस्लाइ मानिन्छ। किरात समुदायको संस्कृतिक ग्रन्थ मुन्दुममा खुवालुङको महत्त्व उच्चताको साथ वर्णन गरिएको छ।खुवालुङ, खुवा भनेको पानी त लुङ भनेको ढुङ्गा मानिन्छ, खुवालुङलाई खुक्वालुङ वालुङ, सायालुङ,माङ्लुङ पनि भनिने गरेको छ।

खुवालुङ को राष्ट्रिय चर्चाको शुरूवात 

किरात समुदाय भित्र मात्र केन्द्रित रहेको खुवालुङ एकाएक राष्ट्रिय मुद्दामा परिणत हुन थाल्यो। तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओलिले बिराटनगरमा आयोजित बृहत सभालाइ सम्बोधन गर्ने क्रममा सप्तकोसी नदिमा जलमार्ग स्तरोन्नति गर्दै, भोजपुर देखि चतारा सम्म साना जहाज आदिको सहायताले जम्मा ११ मिनेटमा यात्रा गर्न सकिने ब्यवस्था गर्ने कुरा गर्दै नदिमा रहेको, एक समस्या ल्याइरहेको ठूलो ढुङ्गालाइ बिस्थापित गर्ने कुरा बताए। उनले खुवालुङ त उच्चारण गरेनन तर किरात समुदायले सो कुरा खुवालुङ कै बिषयमा रहेको ठम्याए। २०२१-२०२२ को बजेट भाषणमा तत्कालीन अर्थमन्त्री बिष्णु पौडेलले भोजपुर देखि चतराको जल यात्रा सहज गराउदै कुनै पनि रुकावट हटाउदै बढ्ने उल्लेख गरे , ओलिले पनि सप्तकोसीको ठुलो ढुङ्गा फुटाउने भनी उद्घोष गरे।
यो उद्घोष पछि किरात समुदायले सो ढुङ्गा अन्य कुनै नभएर खुवालुङ रहेको भन्दै सामाजिक संजाल, र मैदान दुबैमा खुवालुङ जोगाउने अभियान सुरु गरे। यो उद्घोषले किरात समुदायमा बिद्रोह को सुरुवात गर्यो र आफ्नो इतिहास, धरोहर खुवालुङ जोगाउन किरातहरु लागि परे जुन राष्ट्रिय मुद्दा बन्यो।

खुवालुङको ईतिहास र महत्त्व 

किरात समुदायमा खुवालुङ ढुङ्गा मात्र हैन, मौखिक किम्वदन्ती अनुरुप सदियौ अघि किरात समुदाय शिकार गरि जिविकोपार्जन गर्ने गर्दथियो। शिकारको अभाव हुदै जादा बसाइ सर्दै प्रकृतीमा रहदै किरात समुदाय गुजारा गर्ने गर्दथियो। एक थरिका अनुसार आफ्नो स्थानमा खाद्यान्न अभाव हुन थाले पछि र महामारी फैलदै जादा बसाइ सर्ने क्रममा विभिन्न स्थानबाट किरातहरु आजको उदयपुर जिल्लाको बेलका नगरपालिकाको सप्तकोषिको तिरमा आइ पुगे। बडेमानको सप्तकोसी तर्न सहज थिएन , नदि तर्न पहिलो समुहले भगवानलाइ बुलबुल चराको बलिदान दिए जस्कारण एक ठूलो चट्टान नदिको बिचमा उत्पती भयो जस्ले उनिहरुलाइ नदि तर्न बाटो बन्यो। दोश्रो समुहबाट एक महिलाले आफ्नो औलाबाट रगत चढाइन, यसरी नै धेरै समुहहरु जो त्यो ढुङ्गाको सहयताबाट नदि पार गरे, ती पुर्वी नेपालका पहाडिमा बसोबास गर्न थाले।
खुवालुङ्ले ईतिहास सग जोड्ने र किरातहरुको उदगमको पनि जिकिर गर्ने बिज्ञहरु बताउछन। खुवालुङको सहायताले नदि तर्ने हरु एकै तिर रहेनन। नदि तर्ने क्रममा कोहि छुटे, कोहि पारी नै रहे , कोहि अर्कै तिर लागे , सो क्षेत्रको आधारमा जात बनेको पनि मानिन्छ। सप्तकोसी नदि तरि पुर्व लाग्दा किरातहरुले नदिको फरक फरक तिर हुँदै बढेको मानिन्छ।
बिज्ञहरुले भन्छन जुन समुहले तमर नदि पछ्याउँदै हिड्यो आज ती लिम्बू जाती भनी चिनिन्छन,जस्ले अरुण नदि पछ्याए उनिहरु याम्फु, लोहोरुङ्ग र मेवाहाङ्ग राई भनी चिनिए । जुन समुहले दुधकोशी नदिको यात्रा गरे जो आज तिलुङ्ग, वाम्बुले, दुमि, कुलुङ्ग, बाहिङ, बान्तवा, साम्पाङ्ग र खालिङ्ग राई भए भने सुनकोसी पछ्याउने हरु सुनुवार, जारेद, सुरेल, हायु र थामी भएको मानिन्छ। तसर्थ खुवालुङले किरात सभ्यताको मुख्य जग, पुर्ण आधारको नै प्रतिनिधित्व गर्छ।

खुवालुङ बचाउन के गरियो र के गरिन्दै छ त?

तत्कालिन समयमा जलमार्गको स्थापना र स्तरोन्नतिको कुरा जोडेर खुवालुङ बिनास हुने भनेर गरिएको बिद्रोहले मुर्त रुप लियो। संस्कृतिबिध, इतिहासबिध, धार्मिक गुरुहरु, स्थानिय पत्रकार, किरात समुदाय आदिको चर्को बिरोध र सामाजिक संजालमा चलाएका क्याम्पेन लगायतका कारण खुवालुङ फुटाइएन। तात्कालिन प्रदेश १ प्रमुख शेरधन राई स्वयं आएर खुवालुङको स्थलगत अनुगमन गरि, किरातहरुको भावनामा खेली , ईतिहास बोकेको खुवालुङ बिनास नगर्ने प्रतिबद्धता जनाए। यो एउटा समस्या त तत्काललाइ टरेर गयो तर आज के गरिदै छ त?
समयक्रममा ईतिहास अलिक धमिलो हुँदै जान सक्छ, आधुनिकीकरण र संस्कार पुस्तान्तरण नहुदा खुवालुङको महिमा र इतिहास नया पुस्तालाई प्रमुखताको साथ बुझाउन सकिएको छैन। अहिले आएर खुवालुङलाई एक बडेमानको ढुङ्गाको रुपमा मात्र पनि बुझ्न थालिएको छ। अभियान सेलाउदै गए पछि खुवालुङको बारेमा त्यति चर्चा भएको छैन।

यहि बिचमा थैली इन्टरटेन्मेन्टले “खुवालुङ ढुङ्गाको बाटो” नामक नाटक निकालेको छ, जस्ले खुवालुङको महिमा र इतिहासको बारे नेपाली जनतालाई बुझाउने लक्ष लिएको छ। राजन मुकारुङ द्वारा लिखित नाटक किरण चाम्लिङ द्वारा निर्देशित छ जुन काठमाडौको मण्डला थिएटरमा ४२ पटक मञ्चन गरि सकिएको छ।

अहिले धरानमा समेत, (जहाँ किराँती समुदायको प्रमुख उपस्तिथि छ ) नाटक मञ्चन हुँदै छ। समग्रमा ६० भन्दा बढी पटक मञ्चन भइ सकेको नाटकले हजारौ किरात, गैर किरातहरुलाइ खुवालुङको महिमाबारे प्रस्ट्याउन सकेको छ। किरातहरुको प्रारम्भिक अवस्था देखि झण्डै आज सम्मको अवस्थालाइ प्रस्ट देखाएको नाटकले खुवालुङ नै किरात समुदायको जग भएको र यस्लाइ जोगाउनु पर्ने, यसको नाश भएमा समुदायको अस्तित्व नरहने सन्देश सहित नाटक मञ्चन गरि प्रदर्शन गरिरहेको छ।

राज्यको दायित्व

होला बिनाश बिना बिकासको सम्भावना नरहला तर आधुनिकताको यो अवस्थामा आइ पुग्दा पक्कै पनि अनेकन बिकल्पहरु छन नै। खुवालुङ्लाइ नष्ट गरेर हैन जगेर्ना गर्दै बैकल्पिक जलमार्गको आवश्यकता छ। ईतिहास मार्नु भनेको देशको अस्मिता गुम्नु हो, आखिर पहिचान त संस्कार, संस्कृती र धर्मले नै त प्रारम्भिक रुपमा बोकेको हुन्छ। देशको धर्म , संस्कार हुन्न भनिरहदा सभ्यताको सुरुवात नै संस्कृती र धर्मबाट भएको देखिन्छ तसर्थ कुनै पनि देश, अझ हाम्रो जस्तो सयौ फरक, आश्चर्यजनक र मोहक संस्कृती बोकेको देशले यसरी ईतिहास र महत्व बोकेको सम्पदाको जगेर्ना गर्दै बिकासलाइ सामुदायिक इज्जत र मान सम्मान गर्दै पारस्परिक रुपमा बढाउनको बिकल्प छैन।
अन्त्यमा, किरात होस या गैर किरात खुवालुङ राष्ट्रको पहिचान हो, भोलि पर्यटनको प्रमुख आधार पनि बन्न सक्छ यदि यस्लाइ अन्तर्राष्ट्रिय जगतमा बुझाउन सकेमा। तसर्थ खुवालुङको जगेर्ना गर्दै यसको महिमा अनि ईतिहास बुझाउन सबै लागि परे पुर्वी नेपाललाइ चिनाउने अर्को एउटा आधार बन्ने छ।
खुवालुङ, किरातहरुको सभ्यताको आधार र समग्र नेपालको पहिचान भनी जगेर्ना गर्न कम्मर कसौ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट