zestkhabar

बिहिबार, असोज १३ २०७९

  • बिहिबार, असोज १३ २०७९

इन्फिनिटि ग्लोबल, सोलम्याक्स र हाईपर फण्डको नाममा अबैध नेटवर्किङको धन्दा

इन्फिनिटि ग्लोबल, सोलम्याक्स र हाईपर फण्डको नाममा अबैध नेटवर्किङको धन्दा

युएई, नेपाल, कतार, युरोप लगायतका देशमा खुलेआम ठगी, नेपालीले नेपाली ठग्दै, लगानीको २५६% सम्म फाईदा भन्दै ठगी


  • जनसवाल
  • शनिबार, माघ ८ २०७८
13.4K
SHARES

काठमाडौं (जस)–युएई लगायतका देशमा रहेका केही नेपालीले अबैध रुपमा नेटवर्किङ व्यवसाय चलाई ठुलो ठगी गरेको प्रमाण भेटिएको छ । नेपालीलाई नेटवर्किङ व्यवसायमा प्रोत्साहन गरि ठगी कार्यमा क्रियाशील रहेका छन युएईमा रहेका केही नेपालीहरु । उनिहरुले नेपाललगायतका देशमा बिभिन्न एजेन्ट राखेर ठगी कार्य जारी राखेका छन । युएईमा अबैध रुपमा नेटवर्किङ धन्दा चलाउदै आएका नेपालीले खुलेआम रुपमा नेपाली ठग्दै आएका छन । युएईका नेपालीहरुले नै बिभिन्न देशमा मुख्य कार्यालय रहेको भन्दै वेभसाईट बनाई ईन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाईपर फण्ड संचालन गरि करोडौ रकम असुलेका छन । उनीहरुको लगानीको एक बर्षमा २५६ प्रतिशत फाईदा भन्दै ठगी धन्दा चलाईरहेका छन ।
केहि बर्षपहिले गोल्डक्वेस्ट, हर्बो, युनिटीलगायतका दर्जनौ नेटवर्किङ कम्पनीबाट लाखौ सर्बसाधारण ठगिए । नेटवर्किङ व्यवसायकै कारण सयौको त घरबास नै उठ्यो । लाखौं सर्वसाधारण ठगीमा परेपछि मात्रै सरकारले सञ्चालकलाई कारबाही गरी ती कम्पनी बन्द गरेर नेटवर्किङ व्यवसाय नै बन्द गरायो । तर, अझै पनि सर्वसाधारणको लगानी भने उठ्न सकेको छैन । बरु नेटवर्किङ व्यवसायको नाममा सधै सर्बसाधारण ठगिईरहे । अहिले ईन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्डको नाममा ठगी कार्य देखा परेको छ ।
नेपालीलाई नेटवर्किङ व्यवसायमा प्रोत्साहन गरि ठगी गरेको आरोपमा प्रहरीले बेला बेलामा बिभिन्न ब्यक्तिलाई पक्राऊ गर्ने गरे पनि यो धन्दा अबैधानिक रुपमा चल्दै आईरहेको छ । प्रहरीले धेरैपटक यस्ता ठगी धन्दामा संलग्नलाई पक्राऊ गर्दै आए पनि अबैध रुपमा नेटवर्किङ व्यवसाय चलाउनेको संख्या बढदो छ । नेपाल या बिदेश जता पनि दिवासपना बाडेर रातारात लखपति बनिन्छ भन्दै यो समुहले निर्बाध रुपमा ठगीधन्दा चलाउँदै आईरहेको छ । हाइपर फन्ड डिसेम्बरदेखि ‘हाइपर भर्स’को रूपमा रूपान्तरण गर्दै नाम परिवर्तन गरि संचालन गर्दै आएको छ। अन्य कम्पनिले पनि नाम परिवर्तन गरिरहन्छन । कुरै नबुझी सर्वसाधारणहरु ईन्फिनिटि ग्लोबल, सोलम्याक्स र हाईपर फण्डमा लगानी गरिरहेका छन । यि कम्पनिमा भएको अन्धाधुन्ध लगानीले मुलुकमा आर्थिक संकट निम्तिएको छ भने हजारौ सर्वसाधारणहरुको करोडौ लगानी डुबने निस्चीत रहेको अर्थविदहरु बताउछन ।
ईन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर भर्स अनलाइन नेटवर्किङ ब्यापार हो । यसले वस्तु तथा सेवाको बिक्री नगरी पैसाको कारोवार गर्ने गर्दछन । तेब्बर फाईदा हुने आश्वासन देखाएर एजेन्टमार्फत सर्वसाधारणबाट पैसा लगानी गराइन्छ । इन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्ड क्रिप्टो करेन्सीजस्तै अनलाइन बिजनेस हो भनेर एजेन्टहरुले सर्वसाधारणको लगानी संकलन गरे पनि यो दिवासपना मात्रै हो । यस्लाई परिवर्तनीय (कन्भर्टिकल) बन्ड बिक्री गरेर कुनै पनि व्यक्तिलाई सदस्य बनाउने गरिएको छ । यिनिहरुको एप डाउनलोड गरेर एकाउन्ट खोल्ने गरिन्छ । एकाउन्ट बनाएपछि ३ सय अमेरिकी डलर बराबर ३९ हजार नेपाली रुपैयाँ लगानी गर्नुपर्छ ।
ईन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्ड सबै गैरकानुनी ब्यापार हो । नेपाललगायत अन्य कुनै पनि देशले यसलाई अनुमति दिएका छैनन । तर नेपालका कुना काप्चादेखि विश्वासका धेरैजसो देशमा इन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्डको चर्चा चुलिएको छ । ईन्फिनीटि ग्लोबलमा दुबईमा बसेर राकेश पन्तले र नेपालबाट इन्दिरा शाहलगायतले नेतृत्व गरेका छन । यिनिहरुले अबैध रुपमा संकलन गरेको रकम दुबई र नेपालको बिभिन्न क्षेत्रमा ब्यक्तिगत रुपमा लगानी गरिरहेका छन् ।
यसैगरि सोलम्याक्समा पनि दुबईमा बसेका नेपालीहरु अमर खत्री, प्रकाश महतलगायतले नेतृत्व गरि अबैधानिक रुपमा रकम संकलन गरिरहेका छन । उनीहरुले यसरी संकलन गरेको रकमले दुबईमा एभरेस्ट हंड्रेड रेस्टुरेंट, नेपालमा सहकारी र घर जग्गामा लगानी गरेका छन् । हाइपर भर्समा पोर्चुगलमा बस्ने मनोज तामाङ, अभि श्रेष्ठ, प्रति राई, डिजोज न्यौपाने, कवि तामाङ, नवराज न्यौपाने, राजकुमार थापा, वीरबहादुर तामाङलगायत अग्रस्थानमा रहेर आफ्नो धन्दा चलाईरहेका छन ।
इन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्ड जस्ता कम्पनिका कारण गत साउनदेखि रेमिट्यान्स निरन्तर ओरालो लागिरहेको छ । वैदेशिक रोजगारीमा जान युवाको लर्को लागे पनि रेमिट्यान्स घट्नुले विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाउनुको सट्टा इन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्डमा लगानी गरेको हुन सक्ने आंशका बढेको छ । हाल यि कम्पनिमा लगानी गरेका एजेन्टहरुले महिनामा २ सयदेखि ३ सय डलरसम्म दैनिक कमाएको बताऊदै नया सदस्य बनाउने गरेका छन । वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुक युएई, कतार, युरोप, कोरिया, मलेसियालगायतका देशमा रहेका नेपाली र नेपालमा रहेका अन्य नेपालिले ईन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्डमा जोडिएका छन् ।
इन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्डको सदस्यता बनेबापत कुनै पनि व्यक्तिले १ सय ८० प्रतिशत देखि २५६% प्रतिफलसहित फिर्ता गर्ने प्रतिबद्धता गरिन्छ । सुरुसुरुमा लगानी गर्नेले केही प्रतिफल चाखेजस्तो भए पनि इन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्डबाट ठगिने निश्चित देखिन्छ । यसले कुन क्षेत्रमा लगानी गर्छ र लगानीकर्तालाई प्रतिफल दिन्छ भन्ने केहि खुलाइएको हँुदैन । नयाँ व्यक्ति सदस्य बनाएर पुरानालाई प्रतिफल दिएजस्तो गर्ने र धेरै सहभागी भएपछि सर्वसाधारण ठग्ने नियत स्पस्ट देखिन्छ । यसमा जति बढी सदस्यता हुन्छन तिनिहरुको लगानी डुब्ने देखिन्छ ।
इन्फिनिटि ग्लोबल, सोलम्याक्स र हाईपर फण्ड कसैको नियमनको दायरामा पनि छैनन । नाम मात्रको अनलाईन कम्पनी रहेको यसका सदस्यहरु नै बताउँछन् । सञ्जाल विस्तार गर्न हाइपर फन्डवालाहरू जुम बैठकमा सक्रिय देखिन्छन् । सम्भावित व्यक्तिहरूलाई होटलमा दारु पार्टी गरेर भए पनि सदस्यता विस्तार गरी ठगी गरिरहेको पाइन्छ । ‘कामै नगरे पनि मेम्बरसिप प्याकेजबाट कमाइने र सदस्य बनाएर जति पनि कमाउन सकिने’ आश्वासन बाँडछन यसका लिडरहरु । कामबाट बचेको समय सदुपयोग गरी धेरै आम्दानी गर्न सकिने लिडरहरु बताउँछन । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले इन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्डमा गरिएको लगानी अत्यन्त जोखिमपूर्ण भएकोले लगानी नगर्न अनुरोध गरे । यो गैरकानुनी धन्धा हो उनले भने, हामीले अनुमति दिएका छैनौ । कसैले लगानी गरे फस्ने जोखिम छ । प्रलोभनमा परी नेटवर्किङ व्यवसायमा संलग्न हुँदा भोलि धोका हुने भन्दै प्रवक्ता भट्टले बेलैमा सचेत बन्न आग्रह गरे । (जनसवाल राष्ट्रिय दैनिकबाट साभार)

जनसवाल राष्ट्रिय दैनिकको २०७८ माघ ९ गते आइतबारको इपेपर

जनसवाल राष्ट्रिय दैनिकको २०७८ माघ ९ गते आइतबारको इपेपर

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट