२ सय ७० जना यात्रुसहित टोकियोका लागि आज राति चार्टर्ड उडान, मार्गिक र रिसेन्ट एण्ड रिदमले टोकियो र फुकुओका उडानको व्यवस्थापन गर्दै

टोकियो, ११ जेठ । । लकडाउनका कारण नेपालमै रहन पुगेका जापान आउन चाहने नेपालीहरुलाई लक्षित गरि मार्गिक ट्राभल्स एण्ड टुर्स र रेसेन्ट एण्ड रिदम ट्राभल्स एण्ड टुर्सले टोकियो तथा फुकुओकामा चार्टर्ड फ्लाईटको व्यवस्थापन गरेको छ ।

मार्गिक ट्राभल्स एण्ड टुर्सका प्रबन्ध निर्देशक पर्शु बस्नेतका अनुसार, पहिलो उडान आज २४ तारिख राती ९ बजे टोकियोका लागि हुनेछ भने दोस्रो उडान २६ तारिख क्युसुको फुकुओकाको लागि तय भएको छ ।

टोकियोमा भने यस अघि पनि अन्य कम्पनीले ३ उडान गरिसकेका छन् भने २६ तारिख फुकुओकामा हुने उडान क्युसु क्षेत्रकै लागि पहिलो चार्टड फ्लाईट हो ।

समस्यामा परेका यात्रुहरुलाई गन्तव्यमा पुराउनु मुख्य उदेश्य भएकाले, अन्य कम्पनीको भन्दा कम शुल्लकमा उडान भरेको बताउने ट्राभलले,ईकोनोमी क्लासको लागि ११ सय डलर तथा बिजनेस क्लासका लागि १५ सय डलर कायम गरेको छ । दुवै फ्लाईटाका लागि बुकिंङ पुरा भईसकेको छ ।

बस्नेतले लकडाउनका कारण जापानमा अध्ययनरत धेरै विधार्थीहरु यता रोकिनु परेकाले समस्यामा परेको बताए । यता रोकिनुपर्दा धेरै विधार्थीको पढाई तथा काम छुटेको अवस्था छ भने कतिको भिसा अवधिसमेत सकिएको अवस्था थिए । यस्तोमा आफुहरुले व्यापारिक उद्देश्यमात्र नहेरेर सेवाको उद्देश्यले चार्टड उडानको व्यवस्थापन गरेको बताए ।

प्रबन्ध निर्देशक बस्नेतका अनुसार, २४ तारिखको टोकियो उडानमा २ सय ७० जना यात्रुहरु आउनेछन् । यसमा १/२ जना बाहेक सबै नेपाली यात्रुहरु रहेका छन् ।