इटालीमा कोरोनाबाट ३७ डाक्टरको मृत्यु, ६ हजार २०५ स्वास्थ्यकर्मी कोरोनाको संक्रमणमा

काठमाडौँ । इटालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुने चिकित्सकको संख्या ३७ पुगेको छ । इटालीको चिकित्सक संघले दिएको जानकारीअनुसार बिहीबार बेलुकासम्म ३७ जना चिकित्सकको मृत्यु भइसकेको छ ।

संघले दिएको पछिल्लो अपडेट अनुसार इटालीमा ६ हजार २०५ स्वास्थ्यकर्मी कोरोनाको संक्रमणमा परेका छन् ।

संघले उत्तरी इटालीका अधिकांश अस्पतालको अवस्था चिन्ताजनक रहेको समेत बताएको छ । अहिलेसम्मको आँकडा अनुसार संक्रमित मध्ये ८.३ प्रतिशत स्वास्थ्यकर्मी कोरोनाको चपेटामा आएका छन् ।

संघले डाक्टरहरुको अचानक हुने मृत्यु झन् चिन्ताजनक बनेको उल्लेख गरेको छ । कोरोनाको टेस्ट नगर्दै मृत्यु हुन थालेको संघले उल्लेख गरेको छ ।

इटालीमा अहिलेसम्म कोरोनाबाट ८ हजार २१५ जनाको मृत्यु भएको छ भने ८० हजार ५८९ जना संक्रमित भएका छन् ।